logo
२०८१ मंसिर ९ आईतवार



डेपुटी गभर्नर श्रेष्ठ निलम्बित छानबिन समिति गठन

अर्थ |


डेपुटी गभर्नर श्रेष्ठ निलम्बित छानबिन समिति गठन



गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १९ गते । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा पर्नुभएको छ । डेपुटी गभर्नर श्रेष्ठमाथि लगाइएको अनियमितता आरोपमा छानबिन गर्न सोमबार छानबिन समिति गठन गरिएको छ । सोमबार बिहान गभर्नर
डा। चिरञ्जीवी नेपालको अध्यक्षतामा बसेको राष्ट्र बैङ्क सञ्चालक समिति बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको हो ।
राष्ट्र बैङ्क सञ्चालक समितिका सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा गठित तीन सदस्यीय समितिका सदस्यहरूमा राष्ट्र बैङ्ककै सञ्चालकहरू रामजी रेग्मी र सुवोधकुमार कर्ण सदस्य रहनुभएको छ । समितिले श्रेष्ठमाथि लगाइएका आरोपका बारेमा एक महिनाभित्रमा छानबिन गरी प्रतिवेदन तयार पार्ने भएको छ । समितिले तयार गर्ने प्रतिवेदनले श्रेष्ठलाई दोषी देखाएमा एक पटक स्पष्टीकरणको मौका दिइने छ । चित्तबुझ्दो स्पष्टीकरण नआएमा सरकारले श्रेष्ठलाई बर्खास्त गर्ने भएको छ ।
समितिको प्रतिवेदनका आधारमा दोषी भए÷नभएको पत्ता लाग्ने र सोहीअनुसार थप प्रक्रिया अघि बढ्ने भएको छ । अर्थमन्त्रीको पहलमा श्रेष्ठमाथि छानबिन गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट पारित भएको थियो । सोही पत्र अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्कलाई पठाएको थियो । त्यसकै आधारमा सोमबार बिहान बसेको केन्द्रीय बैङ्क सञ्चालक समिति बैठकले छानबिन समिति गठन गरेको हो ।
डेपुटी गभर्नर श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, बैङ्क तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सहयोग गरेको, एनसेलको लाभकर, व्यापारी अजेयराज सुमार्गीको पैसा फिर्ता लैजान सहयोग गरेकोलगायतका आरोप लगाइएका छन् ।
डेपुटी गभर्नर श्रेष्ठ बर्खास्त भएमा सरकारले गभर्नरको सिफारिसमा डेढ वर्षका लागि कार्यकारी निर्देशकमध्येबाट डेपुटी गभर्नर चयन गर्नेछ ।
गभर्नर डा। चिरञ्जीवी नेपालले आइतबार बोलाएको बैठकमा यस विषयमा छलफल हुने भनिए पनि हुन नसकेपछि सोमबारको बैठकले सो निर्णय गरेको हो । आइतबारको बैठकमा दुईवटा विकास बैङ्क र दुईवटा लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि अनुमति दिने निर्णय मात्रै भएको थियो । अन्य विषयमा छलफल हुन सकेको थिएन । अर्थ मन्त्रालयले श्रेष्ठलाई कारबाही गर्नुपर्ने भन्दै राष्ट्र बैङ्कमा पत्राचार गरेको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको आरोप लगाउँदै अर्थ मन्त्रालयले डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गरी कारबाही गर्न भन्दै राष्ट्र बैङ्कलाई पत्राचार गरेको थियो ।
राष्ट्र बैङ्क सञ्चालक समितिको अध्यक्ष गभर्नर स्वयं हुनुहुन्छ भने डेपुटी गभर्नरद्वय श्रेष्ठ र चिन्तामणि शिवाकोटी सञ्चालक समिति सदस्य हुनुहुन्छ । अर्थसचिव राष्ट्र बैङ्कको सञ्चालक हुने व्यवस्था अनुसार राजन खनाल सञ्चालक हुनुहुन्छ । सात सदस्यीय राष्ट्र बैङ्क सञ्चालक समितिमा डा। श्रीराम पौड्याल, रामजी रेग्मी र डा। सुवोधकुमार कर्ण सदस्य हुनुहुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?