logo
२०८१ मंसिर ८ शनिवार



धान काट्न भारतीय मजदुर

अर्थ |


धान काट्न भारतीय मजदुर


सर्लाही, कात्तिक १९ गते । धान काट्नका लागि भारतबाट ठूलो सङ्ख्यामा भारतीय मजदुर सर्लाही आएका छन् ।

जिल्लाको दक्षिण सीमावर्ती गाउँका किसानले अहिले भारतीय मजदुर लगाएर धमाधम धान काटिरहेका छन् । समूहमै आउने भारतीय मजदुरलाई ठेक्कामा धान काट्न दिने गरिएको किसानको भनाई छ । गाउँ–घरमा मजदुरको अभाव भइरहेको समयमा भारतबाट पर्याप्त मात्रामा मजदुर आउन थालेपछि धान भित्र्याउन सजिलो भएको विष्णु गाउँपालिकाका अकलेस बैठाले बताउनुभयो । फौजी किराको आतङ्कले गर्दा जिल्लाको उत्तरी भेगका धेरैजसो किसानले तीहार अघि नै धान भित्र्याइ सकेपनि दक्षिणी भेगका किसानले भने भर्खर–भर्खर धान काटिरहेका छन् ।
जिल्लाको उत्तरी भेगको तुलनामा दक्षिणी भेगमा फौजी किराको प्रकोप नदेखिएको कृषि ज्ञान केन्द्र मलङ्गवाले जनाएको छ । छठ सकिए लगत्तै यतिबेला दक्षिणी भेगका किसानलाई धान थन्काउने चटारो रहेको हरिपूर्वा नगरपालिकाका मुकेश झाले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस भेगका किसानले अहिले खेतबाटै धान र पराल बिक्री गरिरहेका छन् । वस्तुभाउलाई खुवाउन उत्तरी भेगका किसान पराल किन्नका लागि दक्षिणी भेगमा पुग्ने गरेका छन् ।

फौजी किराको प्रकोपले यस वर्ष सर्लाहीमा धान उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख देवानन्द राय यादवले फौजी किराले पु¥याएको क्षतिको विवरण सङ्कलनकै क्रममा रहेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?