logo
२०८१ मंसिर ८ शनिवार



अर्गानिक बन्दाले बजार पाएन

अर्थ |


अर्गानिक बन्दाले बजार पाएन


हुम्ला समाचारदाता

सिमकोट कात्तिक १९ गते । हुम्ला जिल्लामा उत्पादन भएको अर्गानिक बन्दाले बजार पाउन नसकेपछि कुहिने डरले किसानहरु चिन्तित भएका छन् । बन्दाको उत्पादन बढी हुनु र बजार सानो हुँदा बन्दा बिक्रीमा समस्या आएको हो ।

व्यवसायीक रुपमा तरकारी खेतीको सुरुवात गर्नु भएका सिमकोट गाउँपालिका वडा नम्बर ५ का धर्मराज रोकायाले लगाएको बन्दाले बजार पाउन नसकेपछि अब सो बन्दा कुहिने चिन्ता उहाँमा रहेको छ । दुई रोपनी जमिनमा बन्दा र अन्य तरकारी लगाएको भएपनि अरु तरकारी बिक्री भए पनि बन्दा बिक्री हुन नसकेको उहाँले बताउनुभयो ।

अहिले पनि उहाँको करेसाबारीमा १२ देखि १५ क्वीन्टल बन्दा त्यति कै बारीमा रहेको र चिसोले सुक्न थालेको छ । उहाँलाई अहिले उक्त बन्दालाई कसरी जोगाउने भन्ने पिरलो बढी छ । यता डेढ रोपनी जग्गामा बन्द लगाउनु भएका सिमकोट- ५ कै धना रोकायाको तरकारी बारीमा पनि बन्दा बिक्री हुन नसके पछि त्यतिकै चिसोले सुक्न थालेको छ । केही कमाई हुने आशामा लगाएको बन्दा बिक्री नभए पछि उहाँमा पिरालो सुरु भएको छ । भण्डारण गर्न नमिल्ने भएपछि अब थन्क्याएर पशुलाई दिनुको बिकल्प नभएको उहाँले बताउनु भयो ।

हाल उहाँको बारीमा आठ देखि दश क्वीन्टल बन्दा त्यति कै सुक्न थालेको छ । बन्दाको मुल्य चालिस रुपियाँ प्रतिकेजी रहेको छ । त्यो भन्दा पनि सस्तोमा बिक्री गर्न किसानहरु तयार रहेका छन्
दुुई जना किसान त नमूना मात्र हुन् ।

यस पाली सिमकोट गाउँपालिका वडा नम्बर १ देखि ८ सम्मका डेढ सय भन्दा बढी किसानहरुको बारीमा उत्पादन भएको बन्दा बिक्री हुन नपाए पछि त्यति कै खेर गएको छ । ती किसानहरुसं एकदेखि दश भन्दा बढी क्वीन्टल बन्दा त्यति कै रहेको छ । ढुवानी समस्या भएपछि जिल्ला बाहिर पनि लिन नसकिने भएको हुँदा यो बन्दा सबै खेर जाने भएको छ । हुम्लामा यस पाली बन्दाको उत्पादन राम्रो भएपनि बजार नपाउदा किसानहरुलाई यो खेती प्रति नैरास्यता आउने उनीहरु बताउनु थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?