logo
२०८१ मंसिर ९ आईतवार



गरिमा धान: किसानलाई निल्नु न ओकेल्नु

अर्थ |


गरिमा धान:  किसानलाई निल्नु न ओकेल्नु



अविनाश चौधरी

धनगढी, कात्तिक २० गते । कैलालीको कैलारी गाउँका बुझावन चौधरीको जम्मा एक बिघा सात कट्ठा जमिन छ । प्रशस्त धान उत्पादन गर्ने सोचका साथ उहाँले असारको महिना सकि नसकि गरिमा जातको धान रोप्नुभयो तर कात्तिक लाग्दा नलाग्दै उहाँ निराश हुनुपर्ने अवस्था सिर्जना भयो । बझावन मात्र होइन, कैलाली, कञ्चपुरका सयौँ किसानको अवस्था उस्तै छ । नक्कली गरिमा बीउ भारतको हैदरावादबाट नेपाल भित्रिएको बताइएको छ ।
बढी उत्पादन हुने भनेर लगाएको गरिमा नक्कली परेर फसल नै उत्पादन नभएपछि चौधरीको न दिउँसो चैन छ न राति निद्रा नै छ । ‘पूरै खेतमा गरिमा मात्रै लगाएँ’, उहाँले भन्नुभयो– ‘बाला त लाग्यो तर फसल उत्पादन भएन, बालबच्चालाई के खुवाउने ? रातदिन चिन्तामा छु ।’
राम्रो भनेर लगाएको नै धान नक्कली परेपछि धान खेतीमा उहाँको लगानी त डुब्यो नै । वर्ष दिनलाई खान पुग्ने खेत भए पनि यो वर्ष भोकमरी हुने अवस्था आएको चौधरीको भनाइ छ । ‘पाँच कट्ठाको धानले ११ जनालाई कसरी पाल्ने ? निकै चिन्ता लागेको छ’, उहाँले भन्नुभयो ।
किसानले अरू धान काटेर भिœयाइसकेका छन् । धान काटेको खेतमा तोरी फुल्दैछ, गहुँ खेती गर्ने तयारी हुँदैछ तर गरिमा धान लगाएका किसानले न धान काटेर फाल्न सकेका छन्, न त राख्न सकिने अवस्था नै छ । कैलारी गाउँमा झन्डै १७ बिघामा गरिमाको खेती गरेका ४५ जना किसान दोधारमा छन् । कैलालीको कैलारी गाउँपालिका मात्र होइन, जिल्लाका अधिकांश किसानलाई यही पीडाले सताएको छ । त्यो धान लगाएका सबै किसान अहिले काटेर फाल्ने कि राख्ने भनेर दोधारमा छन् । उन्नत भनेर लगाएको धान नक्कली परेपछि उनीहरूले क्षतिपूर्तिको माग गरेका छन् । तीन बिघामा गरिमाको खेती गर्नुभएका कैलारी गाउँकै नारायण चौधरीले सरकारले क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो । ‘मेरो जग्गा नै त्यति हो’, उहाँले दुखेसो गर्नुभयो–‘खेत पुगेपछि डाँको छोडेर रुनमात्रै मन लाग्छ ।’
स्थानीयले पवेराको सङ्गत एग्रोभेट र हसुलियाको पवित्रा एग्रोभेटबाट बीउ ल्याएर गरिमाको खेती गरेका थिए । उनीहरूले प्रतिकिलो चार सयदेखि पाँच सय रुपियाँमा बीउ किनेको बताएका छन् । नेपाल सरकारले स्वीकृत गरेको जातको रहेको गरिमा १३५ दिनमा बाली भिœयाउन सकिने भनेपछि लगाउँदा उल्टै फसेको बसौटी गाउँका किसान खुसीराम चौधरीले बताउनुभयो ।
गरिमालाई नेपाल सरकारले स्वीकृत गरेकाले सरकार र बीउ बिक्री गर्ने कम्पनीले क्षतिपूर्ति दिनुपर्ने किसानको माग छ । उनीहरूले क्षतिपूर्ति पनि नपाएमा भोकमरी समस्या झेल्नुपर्ने बताएका छन् । ‘मैले त अँधिया (बटैया) मा लगाएको थिएँ’, उजलीसेमर गाउँका कृषक छत्रबहादुर चौधरीले भन्नुभयो,
‘गरिमाले फसल नै नदिएपछि निकै पीडामा बसेको छु ।’ चौधरीका अनुसार उजलीसेमर गाउँका छ जना किसानले तीन बिघा जमिनमा गरिमा धान लगाएका छन् । यसैगरी, मन्झरा गाउँका यमराज खड्काले गाउँमा चार जना किसानले ४८ कट्ठामा लगाएको धान जस्ताको त्यस्तै रहेको बताउनुभयो ।
‘खेतमा लगाएको धानै नफलेपछि हामी गरिब किसान कसरी बाँच्ने ?’, उहाँले प्रश्न गर्नुभयो । क्षतिपूर्तिका लागि पहल गर्न आग्रह गर्दै दिनदिनै वडा कार्यालय धाउने गरेको खड्काले बताउनुभयो । भोकमरी समस्या हुँदै आएकाले गरिमा धान खेती गरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसमेत गरेको उहाँले जनाउनुभयो । ‘यहाँको किसानको गुजारा कृषि पेसालेमात्रै चलेको छ’, उहाँले भन्नुभयो– ‘क्षतिपूर्ति पाएनन् भने झनै समस्यामा पर्छन् ।’
कैलाली, कञ्चनपुरमा सात सय हेक्टर जमिनमा गरिमा धानको खेती भएको सुदूरपश्चिम प्रादेशिक कृषि कार्यालय दिपायलले जानकारी दिएको छ । उन्नत जातको गरिमा भनिएको बीउ नै नक्कली रहेकाले फसल उत्पादन हुन नसकेको सो कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । ‘किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि हाम्रो तर्फबाट सक्दो पहल गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?