भैरहवा समाचारदाता
भैरहवा, कात्तिक २० गते । नेपाल–भारत पारवहन सन्धिमा सुधार गर्नुपर्ने उद्योगी व्यवसायीहरुले बताउनुभएको छ । पारवहन सन्धिमा समसामयिक सुधार गरे मात्रै नेपाल भारत क्षेत्रीय व्यापार सहज हुने उहाँहरुको भनाइ छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल भारत क्षेत्रीय व्यापार पारवहन आयोजनाद्वारा बुधबार भैरहवामा भएको पारवहन सन्धीमा सुधार विषयक अन्तक्र्रियामा सहभागीहरुले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
बेलहिया नाकाबाट आयात र निर्यात गर्दा खासगरी ट्रान्जिटको सम्बन्धमा के सुधार गर्ने भन्ने विषयमा यस क्षेत्रका उद्योग व्यवसायीहरुको सुझाव लिन भैरहवामा कार्यक्रमको आयोजना गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव नवराज ढकालले बताउनुभयो । उहाँले अहिलेको सन्दर्भमा नेपाल र भारतबीच पारवहन सन्धि पुनरावलोकन गर्नुपर्छ भन्ने सन्दर्भमा काम भइरहेको बताउनुभयो । “व्यवसायीहरुको सुझाव अनुसार थप गर्नुपर्ने विषयहरु भारतमा भएका बैठकहरुमा राखेका छौं”–उहाँले भन्नुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले प्रक्रियागत समस्या भए त्यसलाई सच्याएर व्यवसायीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सरकारले निकासी व्यापार प्रवद्र्धन मार्फत व्यापार घाटा कम गर्ने कुरामा जोड दिएकोले त्यसलाई सहयोग गर्न सकिने बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले औद्योगिक क्षेत्र भएको स्थानमा मन्त्रालयले उद्योगी व्यवसायीसँग सुझाव लिएर व्यापार सहजीकरण गरिएको बताउनुभयो । उहाँले मधेश आन्दोलन लगायत विभिन्न असहज परिस्थितिमा पनि सबैको सहयोगले भैरहवा भन्सार सञ्चालन गरेर मुलुककै आपूर्ति सहज गरिएको बताउनुभयो । अध्यक्ष न्यौपानेले आईसिपी बनेको खण्डमा धेरै सुधार हुन सक्ने औंल्याउनुभयो ।
कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले निर्यात गर्दा विभिन्न समस्या झेल्नुपरेको बताउनुभयो । जगदम्बा सिमेन्टका महाप्रवन्धक विदुर ढुंगानाले उद्योगी व्यवसायीहरुका समस्या समाधानमा मन्त्रालय गम्भीर हुनुपर्ने बताउनुभयो । उद्योगी चन्द्रमान श्रेष्ठले भैरहवा भन्सार नाकाबाट निर्यात बढ्न नसकेकोले व्यापार घाटा बढ्दै गएको बताउनुभयो । उद्योगी सन्दिप अग्रवालले व्यापार घाटा कम गर्न फास्ट ट्रयाकमा काम हुनुपर्ने बताउनुभयो ।
अर्का उद्योगी हेमन्त अग्रवालले सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेकोले सरकारको पहलमा सिमेन्ट निर्यात भए व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद घिमिरेले आपूर्ति सम्बन्धी समस्या समाधान गर्न आपूर्ति मन्त्रालयको ध्यान जानुपर्ने बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य त्रिलोकी प्रसाद गुप्ताले खासगरी चामल लगायत खाद्यान्न सामाग्रीको बजार मूल्य र भन्सार मूल्यको भिन्नताले पनि समस्या सिर्जना भएको बताउनुभयो ।