logo
२०८१ मंसिर ९ आईतवार



खर्च कस्दै निगम

अर्थ |


खर्च कस्दै निगम



गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २१ गते । अधिक खर्च र अव्यवस्थाका कारण प्रायः आलोचित बनिरहने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खर्च कटौतीसहित वचतको रणनीति अगाडि सारेको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै खर्च कटौतीका क्षेत्र पहिचान गरी सुधारको प्रयास बढाइएको जानकारी दिनुभयो । निगमले तत्काल इन्धन, अधिक उडान खर्च, होटल व्यवस्थापन, इन्जिनियरिङ र कर्पोरेट सुरक्षा विभागजस्ता क्षेत्रमा खर्च बचत गर्नेगरी योजना बनाइसकेको उहाँले बताउनुभयो ।
निगमले इन्धन भण्डारण र अनावश्यक प्रयोगमा मात्रै करिब एक अर्ब रुपियाँ अहिलेको खर्चमा कम गर्न सकिने लक्ष्य राखेको छ । त्यस्तै अधिक उडान खर्च शीर्षकमा दुई करोड, त्यस्तै उडान कर्मचारीलाई राखिने होटल व्यवस्थापनको खर्चमा करिब दुई करोड, इन्जिनियरिङतर्फ करिब ११ करोड र कर्पोरेट सुरक्षातर्फ वार्षिक करिब ५६ लाख रुपियाँ खर्च कम गर्ने लक्ष्य निगमले निर्धारण गरेको छ ।
खर्च कटौती मात्र होइन निगमले चालू आर्थिक वर्षमा आफ्नो कुल आम्दानी पनि बढाउने लक्ष्य सार्वजनिक गरेको छ । अध्यक्ष खरेलका अनुसार चालू आवमा निगमको आम्दानी गत आवको तुलनामा करिब दुई अर्बले बढाउने लक्ष्य राखिएको छ । उहाँका अनुसार चालू आवमा १७ अर्ब २५ करोड रुपियाँ आम्दानीको लक्ष्य छ । गत आवमा निगमले १५ अर्ब १४ करोड रुपियाँ आम्दानी गरेको थियो । निगमको सबैभन्दा ठूलो आम्दानीको स्रोतका रूपमा रहेको अन्तर्राष्ट्रिय उडानबाट १२ अर्ब ७५ करोड रुपियाँ आम्दानीको लक्ष्य छ । आन्तरिक उडानतर्फ ३२ करोड ४८ लाख, ग्राउन्ड ह्यान्डलिङतर्फ चार अर्ब १६ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य निगमले राखेको छ ।
पत्रकार सम्मेलनका क्रममा अध्यक्ष खरेलले उडान विस्तारका आफ्ना योजना पनि सार्वजनिक गर्नुभयो । जनवरीमै जापान उडानको लक्ष्य राखिएकामा ग्राउन्ड ह्यान्डलिङ कम्पनीको अनुमति नपाएकाले २०२० को मार्चसम्म त्यहाँ उडान लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै चीनको गोन्झोउ उडानका लागि चीनबाट अडिट टोली नआउँदा ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । यसबाहेक निगमले चीनका बेइजिङ, साङ्घाई, साउदी अरबको रियाद, बङ्गलादेशको ढाका, भियतनामको हनोई, कम्बोडियाको नो फेन, श्रीलङ्काको कोलम्बो उडानको योजना बनाएको उहाँले जानकारी दिनुभयो ।
निगमले मोबाइल एप्समार्फत नै टिकट बुकिङ गर्नसक्ने र यात्रुलाई एसएमएसमार्फत उडानको अवस्थाबारे जानकारी दिने सुविधा पनि तत्काल नै लागू गर्न लागेको उहाँले जानकारी दिनुभयो । त्यस्तै सम्पत्ति तथा दायित्व मूल्याङ्कनको प्रक्रिया पनि अगाडि बढिरहेको उहाँले बताउनुभयो । निगमसँग रहेका सबै जहाजलाई यथासम्भव सञ्चालनमा ल्याउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । चीनबाट ल्याइएका चारवटा वाई १२ जहाजमध्ये हाल एउटा मात्र सञ्चालनमा रहेकामा छिटै दुईवटा जहाज उडानको तयारी गरिरहेको पनि उहाँले बताउनुभयो । निगमसँग आन्तरिकतर्फ रहेका दुईवटा एमए ६० जहाजमध्ये एउटा मात्र उडान भइरहेको छ । त्यस्तै तीनवटा ट्विनअटर जहाजमध्ये एउटा उडानमा नभएको अवस्था छ । निगमका अनुसार निगमको वाइडबडी जहाजले अहिले दैनिक औसत १३ घण्टा र न्यारोबडी जहाजले साढे १२ घण्टा उडान गरिरहेको छ । साउनसम्मको तथ्याङ्कअनुसार अन्तर्राष्ट्रियतर्फ निगमको यात्रु अकुपेन्सी ७६.६ प्रतिशत छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?