logo
२०८१ मंसिर ९ आईतवार



मुद्दति निक्षेपमा डेढ अर्ब लगानी गर्दै राष्ट्र बैङ्क

अर्थ |


मुद्दति निक्षेपमा डेढ अर्ब लगानी गर्दै राष्ट्र बैङ्क



गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २१ गते । बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभावलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा साढे एक अर्बभन्दा बढी लगानी गर्नेभएको छ ।
राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा एक अर्ब ६३ करोड ९४ लाख रुपियाँ लगानी गर्न लागेको छ । एक वर्षे मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागेको राष्ट्र बैङ्कले आफ्नो विभिन्न कोषमा रहेको रकम आगामी मङ्सिर १ देखि २०७७ कात्तिक ३० गतेसम्म त्रैमासिक रूपमा ब्याज भुक्तान हुने गरी लगानी गर्न लागेको हो । राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लागानी गरिने बुधबार जारी सर्कुलरमार्फत उल्लेख गरेको छ । केन्द्रीय बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कमा एक अर्ब ३१ करोड १६ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैङ्कमा २४ करोड ५९ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा आठ करोड १९ लगानी गर्न लागेको हो ।
बैङ्क तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाइ आवेदन दिनुपर्ने केन्द्रीय बैङ्कले जनाएको छ । बैङ्कले यही कात्तिक २२ गते शुक्रबार अपराह्न १ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन आग्रह गरेको छ ।
मुद्दति निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, बैङ्कबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सोभन्दा बढी रहेको सर्त केन्द्रीय बैङ्कले अगाडि सारेको छ । कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन मुनाफा
(व्यवस्थापछिको)मा रहेको, रियल स्टेट कर्जा बैङ्कबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने केन्द्रीय बैङ्कको सर्कुलरमा बताइएको छ ।
लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैङ्कले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने सर्त केन्द्रीय बैङ्कको छ ।
बैङ्क तथा वित्तीय संस्था नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा समस्याग्रस्तबाट फुकुवा भएको छ महिना अवधि पूरा भएको हुनुपर्ने राष्ट्र बैङ्कले सर्कुलरमार्फत जानकारी दिएको छ । यसैगरी मुद्दति निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने पनि राष्ट्र बैङ्कको सर्त रहेको छ ।
राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लागानी गरिने बुधबार जारी सर्कुलरमार्फत उल्लेख गरेको छ । केन्द्रीय बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कमा एक अर्ब ३१ करोड १६ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैङ्कमा २४ करोड ५९ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा आठ करोड १९ लगानी गर्न लागेको हो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?