logo
२०८१ मंसिर ९ आईतवार



भेरी–बबई डाइभर्सन: समयमै निर्माण पूरा गर्न निर्देशन

अर्थ |


भेरी–बबई डाइभर्सन:  समयमै निर्माण पूरा गर्न निर्देशन



नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, कात्तिक २१ गते । ऊर्जा जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन देशकै नमुना आयोजना भएको बताउनुभएको छ । आयोजनाले पहिलो चरणको सुरुङ खन्ने कार्य लक्ष्यभन्दा एक वर्ष अगाडि नै पूरा गरेर नमुना बन्न सफल भएको उहाँले बताउनुभयो । बुधबार मन्त्री पुनसहितको टोली बबईबाट सुरुङभित्र छिरेर यसको निरीक्षण गर्दै १२ किलोमिटरको दूरीमा रहेको चिप्लेमा निस्केपछि आयोजनाका कर्मचारी र स्थानीय तहका अगुवाहरूलाई सम्बोधन गर्दै उहाँले अब दोस्रो चरणको कामलाई पनि समयमै पूरा गरेर उदाहरण प्रस्तुत गर्न निर्देशन दिनुभयो ।
उहाँले आयोजनालाई पूरा गर्न केन्द्रबाट गर्नुपर्ने सबै काम हामीले समयमै गरेर पठाउने तथा यसका लागि साधनस्रोतको कमी हुन नदिने जनाउँदै फिल्डस्तरमा हुने काम तीव्र पार्न जोड दिनुभयो । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनको माध्यमबाट सुरुङ खन्ने कार्य सुरु गरेर १७ महिनाको अवधिमा १२ हजार २०० मिटर सुरुङ खनेर इतिहास बनाएको उल्लेख गर्दै उहाँले अब पावर हाउस र ब्यारेज बनाउने काम पनि समयमै पूरा गर्नुपर्ने बताउनुभयो ।
दोस्रो चरणको काम पनि सन्तोषजनक तरिकाले भइरहेको पाइएको जनाउँदै स्थानीय सरकारले पनि आयोजना समयमा पूरा गर्न सहयोग गर्नुपर्ने मन्त्री पुनले बताउनुभयो । यो आयोजना पूरा भएपछि बाँके र बर्दियाका हजारौँले विद्युत् र सिँचाइको उपभोग गर्न पाउने भएकाले यो आयोजना अति नै महŒवपूर्ण रहेको उहाँको भनाइ थियो । सो अवसरमा आयोजनाले हालसम्म पूरा गरेका काम र अहिले जारी रहेको कामलगायत आयोजनाका अन्य विविध पक्षका बारेमा आयोजना प्रमुख सञ्जिव बरालले मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
बाँके र बर्दियाका लागि बहुप्रतीक्षित राष्ट्रिय गौरवको सो आयोजनाको सुरुङ खन्ने कार्य लक्ष्यभन्दा एक वर्ष अगाडि नै पूरा भएपछि गत वैशाखमा प्रधानमन्त्री केपी ओलीले सुरुङको
‘ब्रेक थ्रु’ गर्नुभएको थियो । वि. सं. २०७४ साल कात्तिक २० गतेबाट टीबीएमद्वारा सुरुङ खन्न सुरु गरिएको र सन् २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य रहेकामा एक वर्ष पहिले नै सुरुङ खन्ने कार्य पूरा गरिएको थियो ।
सो सुरुङ निर्माणका लागि हालसम्म सात अर्ब रुपियाँ खर्च भएको जनाउँदै आयोजना प्रमुख बरालले आयोजनाको टनेल निर्माण, बाँध, विद्युत्गृह, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकललगायतका काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड रुपियाँ खर्च हुने बताउनुभयो ।
डाइभर्सन हेडबक्सबाट बबईमा पानी खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । त्यसका लागि जलविद्युत् गृह र अन्य सम्बन्धित संरचना निर्माण भइरहेका छन् । उक्त आयोजना सम्पन्न भए विद्युत् उत्पादनसँगै बाँके र बर्दियामा ५१ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने जनाइएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?