logo
२०८१ मंसिर ९ आईतवार



स्नातकोत्तर दम्पतीको कथा: दूध र गोबर बेचेर २० लाख

अर्थ |


स्नातकोत्तर दम्पतीको कथा:  दूध र गोबर बेचेर २० लाख


 

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, कात्तिक २५ गते । एक दशकअघि एउटा गाई किनेर सुरु गरिएको व्यावसायिक गाईपालन फस्टाउँदै गएपछि कोहलपुरका विष्णु पोखरेल दम्पतीले अहिले गाईको दूध र गोबर बेचेर वार्षिक २० लाख रुपियाँ आम्दानी गरिरहनुभएको छ । विष्णु पोखरेल र उहाँकी पत्नी शारदा पोखरेल दुवै जना समाजशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ ।
सुरुमा २२ हजार रुपियाँको लगानीबाट सुरु गरिएको उहाँको गाईपालनमा दस वर्षको अवधिमा दुई करोड रुपियाँ लगानी पुगेको छ ।
अहिले आफ्नो गोठमा ३५ वटा गाई रहेको जनाउँदै पोखरेलले एउटा गाईले १५ लिटरसम्म दूध दिने गरेको बताउनुभयो । दैनिक १७ वटा गाईले दूधबाट राम्रै फाइदा भइरहेको उहाँले बताउनुभयो ।
अहिले दैनिक १५० देखि १८० लिटरसम्म दूध बेचेर वार्षिक १८ लाख रुपियाँ आम्दानी गरिरहेको र दुई लाखको मल बेचेर वार्षिक २० लाख रुपियाँ आम्दानी गरिरहेको उहाँले बताउनुभयो ।
कोहलपुर नगरपालिका–८, पिपरीमा प्रकृति गाई फार्म सञ्चालन गरेर उहाँले व्यावसायिक पशुपालन गर्दै आउनुभएको छ । शिक्षित भएर गाई पाल्ने किसान, पोखरेल दम्पतीको पहिचान हो । उहाँले सफल कृषकका रूपमा केही वर्षअघि राष्ट्रपतिबाट पुरस्कार पनि पाइसक्नुभएको छ ।
कोहलपुरमा आफ्नै लगानीमा सञ्चालित सङ्कल्प शिक्षालयमा विष्णु प्रिन्सिपल हुनुहुन्छ भने शारदा कोहलपुरमै रहेको उपकार लघुवित्त वित्तीय संस्थामा कार्यकारी निर्देशक हुनुहुन्छ ।
पाल्पाको रैनादेवीमा पुख्र्यौली घर भएका पोखरेलले नवलपरासी हुँदै बाँकेमा आएर गाईपालन सुरु गर्नुभएको होे । १३ वर्ष शिक्षण पेसा र आठ वर्ष भूमि अधिकारका क्षेत्रमा लाग्नुभएका पोखरेलले अहिले शिक्षालय र गाईपालनको काम सँगसँगै अघि बढाउनुभएको छ ।
गोठमा एक जना मात्र कामदार छन् । गाई दुहुने, सरसफाइ गर्ने र घाँस दाना दिने सबै काम पोखरेल दम्पतीले नै गर्नु हुन्छ ।
दूध बिक्रीका लागि कुनै पनि समस्या नभएको जनाउँदै विबष्णु पोखरेलले बिहानै दूध किन्न धेरै मानिसहरू फार्ममै आउने गरेको बताउनुभयो । उहाँले कहिलेकाहीँ त धेरै जना रित्तै फर्किने गरेको पनि बताउनुभयो । पोखरेल दम्पतीको फार्मको दूध कोहलपुर र नेपालगञ्जमा खपत हुने गरेको छ ।
उहाँले अहिलेसम्म पाँच लाख रुपियाँ सरकारी अनुदान पाउनुभएको छ । प्रदेश सरकारबाट चार लाख र कोहलपुर नगरपालिकाबाट एक लाख रुपियाँ अनुदान पाएको शारदा पोखरेलले बताउनुभयो ।
पोखरेल दम्पतीले गाई पालेर कोहलपुरमा १० कोठे दुई तले घर बनाउनुभएको छ । गोठ बनाउन १० कट्ठा जग्गा किन्नुभएको छ । दुई छोरीमध्ये उनीहरूकै रुचिअनुसार जेठी प्रज्ञालाई नयाँ दिल्लीमा चाटर्ड एकाउन्टेन्ट र कान्छी प्रकृतिलाई काठमाडौँमा बीबीए पढाउँदै हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?