logo
२०८१ मंसिर ९ आईतवार



आधुनिक कृषि फार्मद्वारा स्थानीय उत्पादनमा जोड

अर्थ |


आधुनिक कृषि फार्मद्वारा स्थानीय उत्पादनमा जोड



ठाकुरप्रसाद आचार्य

बेनी (म्याग्दी), कात्तिक २७ गते । जिल्लाको बेनी नगरपालिका–४ सिंगामा सामूहिक रूपमा नौ करोड रुपियाँ लगानी गरेर आधुनिक कृषि फार्म सञ्चालनमा ल्याइएको छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी कृषि उत्पादन बढाउन जिल्लाका प्रतिष्ठित व्यक्तिले किसानसँग मिलेर सामूहिक रूपमा लगानी गरी फार्म सञ्चालनमा ल्याएका हुन् ।
३४ जना कृषकसहित ५६ जना मिलेर हरियाली ग्रुपमार्फत फार्म सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अगुवाइमा स्थानीय कृषकसँग मिलेर खोलिएको फार्ममा कृषकको चार करोड छ लाख सेयर र राष्ट्रिय वाणिज्य बैङ्क बेनी शाखाबाट सहुलियत दरमा छ करोड ऋण गरी नौ करोड छ लाख रुपियाँ लगानी गरिएको छ ।
सामूहिक रूपमा लगानी गरी व्यावसायिक कृषि खेती जिल्लाकै सबैभन्दा ठूलो हो । कृषिको आधुनिकीकरण, व्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो अवधारणालाई
‘हरियाली मोडल’ नाम दिइएको छ । बेनी नगरपालिका–४, सिंगा र आगेबगरमा हरियाली समूहले १६० रोपनी जग्गा भाडामा लिएको छ ।
सो व्यावसायिक समूहले तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरेको छ । आगामी दिनमा बाख्रा र कालिज पनि पाल्ने योजना बनाएको छ । फार्मको निर्माणसँगै उत्पादनलाई पनि जोड दिएको ग्रुपका प्रबन्ध निर्देशक शेरबहादुर केसीले बताउनुभयो ।
फार्ममा १४ वटा पोखरीमा ६० हजार माछाका भूरा छाडिएका छन् । १२ हजार कुखुरा पाल्न सक्ने क्षमताको खोर निर्माण गरिएको छ । बेमौसमी तरकारी उत्पादन गर्त हाइटेक प्रविधिको प्लास्टिक घर निर्माण गरिएको छ । दैनिक रूपमा तरकारी, कुखुरा र माछा बजारमा पुग्छ, उहाँले बताउनुभयो । फार्ममा प्राविधिक, व्यवस्थापक र फार्म सहयोगी गरी ४४ जनाले रोजगारी पाएका छन् । नेपालमै नमुना मोडेलका रूपमा विकास गर्न खोजिएको प्रबन्ध निर्देशक केसीले बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा फार्मका सल्लाहकार श्रेष्ठले भन्नुभयो, कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागिएको छ । कृषि क्षेत्रमा पनि सामूहिक लगानी गरेर राम्रो आम्दानी लिन सकिने सम्भावनालाई उजागर गर्न खोजिएको हो ।
म्याग्दी खोलाबाट विद्युतीय उपकरणको प्रयोग गरी लिफ्ट प्रविधिबाट पानी तानेर सिँचाइको व्यवस्था मिलाइएको छ । बाह्रै महिना नियमित खेती गर्न सकिने भएको छ । मासु र अण्डाका लागि छुट्टाछुट्टै ठाउँमा ब्रोइलर र लेयर्स जातका कुखुरा पालिएका छन् । एक सय घारमा माहुरी पालिएको र एक सय रोपनी खुल्ला जमिन र सामान्य टनेलका अतिरिक्त आधुनिक हाइटेक प्रविधिको प्लास्टिक घरभित्र तरकारी लगाइएको छ । कम्पनीमा आबद्धबाहेक अन्य साना कृषकहरूले पनि कम्पनीको मापदण्ड र गुणस्तर अनुसारको उत्पादन गरेमा बजार व्यवस्थापनमा सघाउने ग्रुपले नीति लिएको छ । हरियाली मोडेललाई सबै स्थानीय तहमा पु¥याउने योजना रहेको प्रबन्धक केसीले बताउनुभयो ।
तरकारी खेतीमा रासायनिक मल र विषादी प्रयोग गरिएको छैन । गाईबस्तुको मल, कुखुराको सुली र पात पतिङ्गर कुहाएर प्राङ्गारिक मलको प्रयोग गरिएको फार्मका इन्चार्ज केदार पौडेलले बताउनुभयो । कम्पनीमा कार्यरत सबैलाई सरकारले तोकेको पारिश्रमिकको व्यवस्था गरेको छ । पौडेलले सानो क्षेत्रफलमा थोरै परिणाममा खेती गर्दा लागत बढी पर्ने र मुनाफा कम हुने भएकाले कम्पनीमा आबद्ध भएको बताउनुभयो । हरियाली फार्मको अध्ययन अवलोकनमा विद्यार्थीदेखि अन्य जिल्लाका कृषकहरू पनि आउने गरेको पौडेलले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?