logo
२०८१ मंसिर ९ आईतवार



धानको बालामा भुस मात्रै

अर्थ |


धानको बालामा भुस मात्रै



गोरखा समाचारदाता

गोरखा, कात्तिक ३० गते । सिरानचोक गाउँपालिका ६, नाम्रुङका खुनबहादुर गुरुङको वर्षभरि मिहिनेत यसै खेर गयो । १० रोपनी क्षेत्रफलमा लगाइएको धानमा भुस मात्र फलेपछि उहाँको वर्षभरिको मिहिनेत यसै खेर गएको हो ।
‘राम्रो फल्छ भनेर बीउ किनेर ल्याएँ, वर्षभरि दुःख गरेँ तर धान फलेन’ उहाँले भन्नुभयो ‘मेरो दुःख र लगानी यसै खेर गयो ।’ उहाँले जेठ १२ गते गोरखा नगरपालिका १०, छेवेटारको सुबास एग्रोभेटबाट ३५ सय रुपियाँमा पायनियर नामको सात पोका धानको बीउ खरिद गरी लग्नुभएको थियो ।
खुबिस्वाँरामा रहेको १० रोपनी खेतमा आठ हल गोरु र ४८ खेताला लगाएर असार ३२ गते रोपाइँ गरियो । ५० किलो रासायनिक मल हालेर दुई पटक २० जना खेतालाले धान गोडियो । ‘गर्न पर्ने सबै काम गरेँ, रोपो पनि राम्रै सप्रियो’ गुरुङले भन्नुभयो ‘बेलामै पसायो, बाला लाग्यो तर फल लागेन ।’ गतवर्ष २५ मुरी धान फलेको खेतमा अहिले सबै भुस फलेपछि उनी चिन्तित भएका छन् ।
उक्त समस्यकाबारे सिरानचोक गाउँपालिकाको कृषि शाखामा कार्यरत प्राविधिकलाई समेत जानकारी गराएको उहाँले बताउनुभयो । ‘मेरो खेतमा धान फलेन हेर्दिनु प¥यो भनेर उहाँलाई भनेको छु तर आउनुभएको छैन’ गुरुङले भन्नुभयो ‘फोटो भिडियो पनि पठाएको छु ।’ उता स्थानीय कृषि प्राविधिक सुशीला पाण्डेले उक्त विषयमा जानकारी आएको तर अध्ययनकै क्रम रहेकाले अहिले नै केही भन्न नसक्ने बताउनुभयो ।
‘उहाँ वडाको सिफारिससहित आउनुभएको थियो’ पाण्डेले भन्नुभयो ‘बीउको प्याकेटसहितका केही जानकारी मैले पाएको छु थप अध्ययन भने बाँकी छ ।’ यता कृषि ज्ञान केन्द्र गोरखाले पनि उक्त विषयमा मौखिक जानकारी आएको बताएको छ । सोहीअनुरुप स्थानीय कृषि प्राविधिकसँग आपसी समन्वय गरिरहेको केन्द्रकी प्रमुख मनिता थापाले जानकारी दिनुभयो ।
‘उहाँले आधिकारिक रूपमा हामीलाई जानकारी गराउनुभएको छैन’ थापाले भन्नुभयो ‘तर पनि हामीले पाएको सूचनाका आधारमा स्थानीय प्राविधिकसँग समन्वय गरिरहेका छौँ, उहाँले स्थलगत अवलोकन गरेपछि मात्र यकिन भन्न सक्ने अवस्था रहला ।’
त्यसपछि क्षतिको विवरण सङ्कलन गरी चितवन पठाइने उहाँले जानकारी दिनुभयो । उक्त धानको बीउ पायनिर हो वा होइन भन्ने यकिन नभएको भन्दै प्रमुख थापाले त्यसबारेमा पनि अनुसन्धान भइरहेको बताउनुभयो । जिल्लाका अन्य ठाउँमा पनि हाइब्रिड धानखेती गरेका धेरै किसान पाक्ने बेला भइसक्दा धान नफलेपछि चिन्तित भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?