logo
२०८२ भाद्र २ सोमवार



फलाम खानीले पायो कानुनी मान्यता

अर्थ |


फलाम खानीले पायो कानुनी मान्यता



गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ३ गते । मुलुकमा पहिलोपटक आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता प्रक्रिया पूरा भएपछि आधुनिक फलाम खानीले संस्थागत आकार लिएको हो । नवलपुरको होप्से गाउँपालिकामा स्थापना गर्न लागिएकोे फलाम खानी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई कम्पनी सञ्चालनका थप प्रक्रिया अगाडि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘धौवादी फलाम खानी लिमिटेड’ नामको कम्पनी दर्ता भएको जानकारी दिनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनीको नाम ‘धौवादी फलाम खानी कम्पनी’ रहने प्रस्ताव गरेकामा प्रस्तावित सो नाममा कुनै दाबी विरोध नआपछि ‘धौवादी फलाम खानी कम्पनी’ दर्ता भएको हो । मन्त्रिपरिषद्ले स्वीकृत गरेको कम्पनीको प्रबन्धपत्र र नियमावलीअनुसार कम्पनीको सञ्चालक समिति गठन हुने बताउँदै सहसचिव पौडेलले समितिमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि रहने जानकारी दिनुभयो । कम्पनीको नियमावलीअनुसार कम्पनीको सञ्चालक समिति सात सदस्यीय हुने छ तर साधारण सभा नभएसम्म चार सदस्यीय सञ्चालक समिति गठन गरिने छ ।

सरकारी स्वामित्व ५५ प्रतिशत
उहाँले प्रस्तावित सो कम्पनीमा सरकारको स्वामित्व (सेयर) ५५ प्रतिशत र निजी क्षेत्रको स्वामित्व (सेयर) ४५ प्रतिशत रहने जानकारी सहसचिव पौडेलले दिनुभयो । कम्पनीको जारी पुँजी चार अर्ब, अधिकृत पुँजी १० अर्ब रुपियाँ रहने मन्त्रालयले जनाएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?