नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, मङ्सिर ३ गते । १४ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेर निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्धारित समय पूरा हुन लागे पनि ६० प्रतिशत मात्र काम भएको छ ।
२०६३ माघदेखि निर्माण सुरु गरिएको आयोजनाको निर्माण कार्य यही आर्थिक वर्ष २०७६÷७७ भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ तर हालसम्म आयोजनामा ६० प्रतिशत काम मात्रै सम्पन्न भएको आयोजना प्रमुख कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार २५ अर्ब रुपियाँको लागतमा निर्माणाधीन सो आयोजनाको ४५.२५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वी नहरबाट बाँकेका ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ । बाँकेमा ३५ हजार ९७० हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये करिब १३ हजार सात सय अर्थात् करिब २५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नहुँदा किसान बर्सेनि आकाशे पानीको भरमा धान खेती गर्न बाध्य छन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पटकपटक स्थलगत अनुगमन गरेर समयमै काम सक्न निर्देशन दिएको भए पनि सरकारले दिएको प्राथमिकताअनुसार प्रतिफल देखिएको छैन । आयोजना कार्यालय अहिलेसम्म मूल नहर निर्माणको काममै अल्झिरहेको छ ।
आयोजनाका शाखा र उपशाखा नहर निर्माणको काम पनि सुस्त छ । तीन वर्षअघि अगैयास्थित मुख्य बाँधमा जडान गरिएको १८ वटा गेट सिँचाइका लागि उपयोगमा आउन सकेका छैनन् । सिक्टाको पश्चिम मूल नहर निर्माणको काम सम्पन्न भए पनि हस्तान्तरण नहुँदै परीक्षण गर्ने क्रममा पटकपटक भत्किने गरेको छ । २०७३ असार १४ गते पनि परीक्षणकै क्रममा ढकेरीस्थित झिझरीखोला छेउमा मूल नहर भत्किएको थियो । पटकपटक नहर भत्किँदा सिक्टाको गुणस्तरमाथि नै प्रश्न उठेको थियो । सिक्टा सिँचाइको काम समयमै नहुँदा किसान मर्कामा परेका मूल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताउनुभयो । हामीलाई सिँचाइ सुविधा चाहियो भनेर मन्त्रालयदेखि सबै ठाउँमा पुग्यौँ, अध्यक्ष डाँगीले भन्नुभयोे, सबैको आश्वासन आउँछ तर हाम्रो माग अझै पूरा भएन ।
गत साता मात्रै स्थलगत अनुगमनका क्रममा मन्त्री पुनले एक वर्षभित्र सिक्टा सिँचाइ आयोजनाको नहरको काम सक्न निर्देशन दिएको आयोजना प्रमुख नेपालले बताउनुभयो । अब आयोजनाको काममा तीव्रता ल्याइने पनि उहाँले बताउनुभएको छ ।
गत साता अगैयास्थित आयोजनाको हेडबक्स स्थल पुगेर मन्त्री पुनले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई महिनाको एकपटक अनिवार्य सिक्टाको स्थलगत निरीक्षण गर्न र जलस्रोत तथा सिँचाइ सचिव रवीन्द्रनाथ श्रेष्ठलाई हरेक महिनामा एक दिन सिक्टा सिँचाइ आयोजनाको प्रगतिबारे मन्त्रालयमा समीक्षा गर्न निर्देशन दिनुभएको थियो ।