logo
२०८१ मंसिर ८ शनिवार



गाउँमै कोल्डस्टोर बनेसँगै किसानमा छायो खुसी

अर्थ |


गाउँमै कोल्डस्टोर बनेसँगै किसानमा छायो खुसी


प्रकाशचन्द्र भट्टराई
दमौली, मंङ्सिर ३ गते । तनहुको  भिमाद नगरपालिका वडा नम्बर ९ भानुमतीमा कृषि उपज बस्तु भण्डारणकोलागि कोल्ड स्टोर निर्माण गरिएको छ । गाउँमा उत्पादित सुन्तला, आलु, अदुवा, पिडालु आदि भण्डारणको लागि १७ लाख रुयियाँको लागतमा कोल्ड स्टोर निर्माण गरिएको छ ।
कोल्ड स्टोर नहुँदा गाउँमा उत्पादित कृषि उपज बस्तुहरु सिजनमा सस्तो मुल्यमा विक्री गर्नु परेको र यसले कृषकको लागत समेत उठ्न गाह्रो भएपछि कोल्ड स्टोर निर्माण गरिएको वडा अध्यक्ष इमानबहादुर थापाले बताउनु भयो । कोल्डस्टोरमा सुन्तला, अदुवा र पिडालु जस्ता कृषि उपज बस्तु भण्डारण गर्ने र अफ सिजनमा विक्री गर्न सके कृषकले मनग्य आम्दानी पाउने उहाँले बताउनु भयो ।

कोल्ड स्टोर (चिस्यान केन्द्र) नहुँदा उत्पादित वस्तुहरु कुहिने डरले हतार हतार सस्तोमा विक्री गर्नु परेको शेराबेसी कृषक आमा समुहकी अध्यक्ष शुकमाया थापाले बताउनु भयो । उत्पादन गरिएका कृषि उपज कुहिने डरले तत्कालै बिक्री गर्दा नाफा नहुने भएकोले कोल्डस्टोरको माग गरिएको उहाँले बताउनु भयो । कोल्ड स्टोरमा राखेर अफसिजनमा विक्री गर्न पाए राम्रै नाफा लिन सकिने उहाँले बताउनु भयो ।

अहिले उत्पादित सुन्तला कोल्डस्टोरमा भण्डारण गरेर राखी अव चैत बैशाखमा विक्री गर्ने हो भने त्यसले दोब्बर आम्दानी दिने कृषक धनकुमारी आलेले बताउनु भयो । उहाँले गत वर्ष ९० हजार रुपैयाँमा व्यापारीलाई सुन्तला बेच्नु भएको थियो । तर यस वर्ष तत्कालै सुन्तला नबेचेर कोल्ड स्टोरमा राखेर चैत बैशाखमा बेच्ने योजना बनाएको उहाँले बताउनु भयो ।

दश टन क्षमताको कोल्डस्टोर सञ्चालनमा आएपछि यहाँको किसानले राहतको महसुस गरेका छन् । गण्डकी प्रदेश सरकारको १३ लाख ३७ हजार तथा भिमाद नगरपालिकाले ९६ हजार रुयियाँ अनुदान र स्थानीय जनश्रमदान सहित १७ लाखको लागतमा १० टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको छ । कोल्ड स्टोर निर्माणमा भानुमती मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषक समुहले जनश्रमदान गरेका थिए ।

सो वडाबाट मात्र बर्षेनी करोडौँको सुन्तला बिक्री हुन्छ । अव कोल्ड स्टोर बनेपछि किसानले उक्त सुन्तला भण्डारण गरेर अफसिजनमा बिक्री गरी दोब्बर आम्दानी लिन सक्ने वडा अध्यक्ष थापाले बताउनु भयो । गाउँमा उत्पादित अदुवा, पिडाँलु, आलु लगायत कृषी उपजको बिउ संकलनको लागि पनि कोल्ड स्टोरको आवश्यकता रहेको उहाँले बताउनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?