logo
२०८१ मंसिर ९ आईतवार



कौसीमा तरकारी खेती

अर्थ |


कौसीमा तरकारी खेती



तारा चापागाईं दुवे

कास्की, मङ्सिर ५ गते । कास्की पोखरा पर्यटकीय सहर । सानो जग्गामा पनि भवन खडा गरेर व्यावसायिकता दिने यहाँका प्रचलनले खेत, बारी मासिने क्रम बढ्दो छ । बारीमा तरकारी खेती गरेर आफू पनि खाने र बेच्ने भन्ने कल्पना गर्न पोखराभित्र कठिन भइरहेका बेला यहाँ कौसी खेती गर्ने प्रचलन बढ्दै छ ।
तरकारीको माग बढ्दै जानु तथा स्थानीय तहबाट आपूर्ति हुन नसक्दा यहाँ तरकारीको भाउ मुलुकका अन्य सहरभन्दा महँगो हुने गर्छ । त्यसैले पनि यहाँ आफ्नो पारिवारिक आवश्यकताका पूर्तिका लागि पनि कौसी खेती गर्न लागिएको हो । यसलाई प्रविधिशैलीे विकासका रूपमा लिन सकिन्छ ।
पोखरा–८ कृषि सञ्जालका संयोजक सरस्वती अधिकारीले कौसी खेतीबाट ८० प्रतिशत तरकारी जोहो गरेको बताउनुहुन्छ । दुई वर्षदेखि कौसी उत्पादन गर्दै आएकी अधिकारी खेतबारीमा भन्दा कौसीमा राम्रो तरकारी फलेको बताउनुहुन्छ । त्यसैगरी पोखरा–७ नागढुङ्गा विकास समाजमा आवबद्ध कृषकहरू घरमा आवश्यक तरकारीको ७० प्रतिशत उत्पादनले धानेको बताउँछन् ।
महानगरमा कौसी खेती गर्नेको सङ्ख्या एक हजार जना रहेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।
विभिन्न तालिम तथा बीउलगायतका केही सामग्री महानगरले सहयोग गरेको र पछिल्लो समय एक घर एक कागती अभियान सुरु गरेको उहाँले बताउनुभयो । कडहरीका अनुसार महानगरका १, २, ३, ४, ६, ७, ८, ९, १० र १७ गरी १३ वटा वडालाई खेतीका लागि लक्षित गरिएको छ । कास्कीमा ३० प्रतिशत उत्पादनले मात्र धान्ने गरेको र बाँकी भारतलगायत अन्य जिल्लाबाट आउने गरेको र कौसी उत्पादनले पनि केही मात्रामा आयत घटेको उहाँको भनाइ छ ।
के के लगाउने गरिएको छ ?
कौसी खेती गर्दा सकेसम्म कम फैलिने तथा कम गहिराइमा जाने खालको बाली लगाउनु पर्छ । छिटो उत्पादन दिने र धेरै नफैलिने खालको कौसी वा छतको स्थान हेरेर हावापानी तथा बोट बिरुवाका हावापानीअनुसारको बाली छनोट गर्नुपर्ने कडहरी बताउनुहुन्छ । हरियो सागपात, काँक्रो, लौका, घिरौँला, काउली, जुनार स्ट्रबेरी, अङ्गुर, अम्बा, आँप, कागती, सुन्तला, रायो, करेला, काँक्रो, गोलभेँडा, भण्टा, खुर्सानी, कौसीमा लगाउन सकिने उहाँले बताउनुभयो । त्यस्तै ग्याँठगोभी, सिमी, बोडी, धनियाँ, लसुन, प्याज रामतोरिया, प्याज, सलगम, मूलालगायतका तरकारी पनि कौसी खेतीका लागि उपयुक्त हुन्छ । पोखराका कौसीमा यिनै प्रजातिका फलफूल र तकारी लगाउने गरिएको छ ।
कस्तो माटो उपयुक्त हुन्छ ?
कौसी तरकारी खेती वा फलफूलका लागि उपयुक्त माटो छनोट गर्नु आवश्यक छ । माटो उपयुक्त चाहिन्छ । सफा ठाउँका राम्रो मलिलो माटो ल्याउनु पर्छ । सफा गरिएको माटोलाई एकचोटि भिजाएर मात्र बिरुवा सार्नुपर्छ । कौसी खेतीका लागि प्रशस्त घाम लाग्ने र सजिलै पानी दिन सकिने स्थान छनोट गर्नुपर्छ ।

हेरचाह कसरी गर्ने ?
कडहरीका अनुसार कौसीमा खेती गरिएका फलफूल र तरकारीलाई अन्य खेतबारीको भन्दा बढी ध्यान दिनु पर्छ । लगाएको बिरुवामा धेरै सुक्खा वा बढी पानी पनि हुनुहुँदैन ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?