logo
२०८१ मंसिर १० सोमवार



अत्याधुुनिक प्रविधितर्फ किसान

अर्थ |


अत्याधुुनिक प्रविधितर्फ किसान



सिराज खान

नेपालगञ्ज, मङ्सिर ९ गते । प्रदेश ५ मा धेरै खेती हुने जिल्लामध्ये अग्रपङ्क्तिमा आउने बाँके र बर्दियाका किसान पछिल्लो समयमा आएर अत्याधुनिक प्रविधितर्फ बढी आकर्षित हुन थालेका छन् । किसान पछिल्ला दिनमा अत्याधुनिक प्रविधितर्फ आकर्षित हँुदै गएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बताउनुभयो ।
केही समय अगाडिसम्म किसानद्वारा गहुँमा थ्रेसरको प्रयोगलाई अत्याधिक रुचाइएको जनाउँदै उहाँले तर अहिले त्योभन्दा पनि अब्बल प्रविधिको धमाधम प्रयोग भइरहेको बताउनुभयो । धान र गहुँमा मात्र होइन, अन्य खेतीपातीमा पनि अत्याधुनिक प्रविधिको प्रयोग भइरहेको प्रमुख ढकालको भनाइ छ । बाँके र बर्दियाका धेरै किसानले यसपटक धान काट्ने, झाँट्ने काम पहिलेभन्दा फरक तरिकाले गरेका छन् । किसानले यसपटक दिनहुँ मान्छे लगाएर धान काटेनन् भने मान्छेले झाँट्नु पनि परेन । कम्बाइन हारवेस्टर मेसिनको प्रयोगले चार दिन लाग्ने सबै काम केहीबेरमै सिध्याइदिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
बाँके र बर्दिया जिल्लाका दर्जनौँ ठाउँमा कम्बाइन हारवेस्टर नामक अत्याधुनिक मेसिनबाट धान काट्ने र त्यसको व्यवस्थापन गर्ने काम धमाधम भइरहेको सो कार्यालयको भनाइ छ । बाँके नौबस्ताका किसान राजेन्द्र चौधरीले अहिले त अत्याधुनिक प्रविधिले सबै कामलाई निकै सहज र सरल बनाइदिएको बताउनुभयो । उहाँले कम्बाइन हारवेस्टरको प्रयोग गरेर आफूहरू दङ्ग परेको बताउनुभयो ।
सोही प्रकारले बाँकेको कम्दीका अधिकांश किसानले पनि कम्बाइन हारवेस्टरलगायत अन्य अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको किसान रामप्रसाद बर्माले बताउनुभयो । उहाँले प्रविधिको प्रयोगले खेतीमा निकै सहज भएको जनाउनुभयो ।
सोही प्रकारले बर्दियाको गुलरिया नगरपालिका खैरापुरका अधिकांश कृषकले पनि यसपटक धान काट्ने, झाँट्ने काम फरक तरिकाले गरेको स्थानीय किसान दिलबहादुर थारूले बताउनुभयो । पहिला जस्तो दुःख छैन अहिले । मेसिनले नै सबै काम एकदम कम समयमा नै गर्दिन्छ, समय र पैसा दुवैको बचत भएको छ, किसान थारूले भन्नुभयो । बाँसगढी नगरपालिका बबई चेपाङका झुपलाल न्यौपानेले पनि बबई नदीको किनारमा आधुनिक प्रविधि अपनाएर १५ बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्नुभएको छ । १५ बिघामा थोपा सिँचाइ प्रविधि जडान गरेर गरिएको केरा खेती निकै फस्टाएको छ ।१० कट्ठ क्षेत्रफलबाट सुरु गरिएको व्यवसाय बढेर १५ बिघासम्म पुगेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?