logo
२०८२ असार १ आईतवार



धान बेच्ने पालो कुर्दै किसान

अर्थ |


धान बेच्ने पालो कुर्दै किसान




नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, मङ्सिर १६ गते । सरकारले धान खरिदमा बजारमा चलेको भन्दा बढी मूल्य निर्धारण गरेपछि धान बेच्ने किसानको लाइन लाग्न थालेको छ ।
बढी मूल्य पाएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित अञ्चल कार्यालयमा धान बेच्ने किसान अहिले धान बेच्न पालो कुरेर बस्न थालेका छन् । बजारभन्दा प्रतिक्विन्टल ३०० रुपियाँ बढी मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्न थालेको हुँदा धान बेच्न आउने किसान बढ्दै गएकाले कार्यालय परिसरमा किसानको भीडभाड हुने गरेको छ । धान बोकेर गोरुगाडा, ट्याक्टरसहित धान बेच्ने किसान धेरै कार्यालयमा पुगेकाले कार्यालय परिसरमा व्यवस्थापनमा समेत समस्या हुन थालेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको यहाँस्थित अञ्चल कार्यालयले जनाएको छ । राम्रो मूल्य पाएकै कारण सोचेभन्दा धेरै बढी किसान धान बिक्री गर्न आएकाले अहिले सयौँ किसानले आफ्नो पालो कुरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अञ्चल प्रमुख भरतराज खनियाले बताउनुभयो । मङ्सिर १० गते आएका ट्याक्टरको धान खरिद गर्ने पालो आइतबार आएको जनाउँदै त्यसपछि आएका सयौँ किसानले अझै पालो कुरिरहेको उहाँले बताउनुभयो ।
३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर कात्तिक २७ गतेबाट धान खरिद सुरु गरिएकोमा आइतबारसम्म १३ हजार क्विन्टल धान खरिद गरिसकिएको र यसैगरी खरिद भइरहने हो भने मङ्सिर महिनाको अन्तसम्ममा लक्ष्य पूरा हुने प्रमुख खनियाले बताउनुभयो । कार्यालयमा अहिले चारवटा काँटामार्फत अहिले दैनिक आठदेखि नौ सय क्विन्टल धान खरिद भइरहेको जनाउँदै बिहान ९ बजेदेखि राति ९ बजेसम्म नापतौल गरेर खरिद गर्ने काम भइरहेको छ ।
धान बिक्री गर्न सो कार्यालयमा पुगेका किसानले पाँच दिन भइसक्दा पनि आफ्नो पालो नआएको गुनासो गर्दै छिटो खरिद गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
चिसो मौसममा धेरै दिन कुरेर बस्न समस्या भइरहेको जनाउँदै बाँकेको होलियाबाट धान बेच्न आउनुभएका किसान राजन मौर्यले छिटोछिटो खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने माग गर्नुभयो ।
यस वर्ष बाँके र बर्दियाका लागि मोटा धान प्रतिक्विन्टल दुई हजार ५३२ रुपियाँ र मध्यम धान प्रतिक्विन्टल दुई हजार ६७३ रुपियाँमा खरिद गर्न मूल्य निर्धारण गरिएको छ । तर बजारमा भने व्यवसायीले मोटा धान प्रतिक्विन्टल दुई हजार दुई सय रुपियाँ र मध्यम धान प्रतिक्विन्टल दुई हजार तीन सय रुपियाँमा खरिद गरिरहेका छन् ।
गतवर्षको भन्दा यस वर्षको मूल्य प्रतिक्विन्टल तीन सय रुपियाँ बढी निर्धारण गरिएको खाद्य व्यवस्थापन कार्यालयले जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?