शालिग्राम नेपाल
चितवन, मङसिर १८ गते । विगत चार महिना यता चितवनमा घरेलु तथा साना उद्योगमा एक अर्ब भन्दा माथि लगानी थपिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर खुलेका उद्योगको विवरणले चार महिनामा उत्साहजनक लगानी भएको हो । कार्यालयका सूचना अधिकारी सुदर्शन पौडेलले भन्नुभयो ‘साउनदेखि कात्तिकसम्मको लगानी हेर्दा उत्साहजनक रहेको छ ।’ जिल्लामा चालु आर्थिक वर्षको चार महिनामा मात्रै ७ सय ५१ वटा घरेलु तथा साना उद्योग खुलेका छन् । यही वर्षमात्रै १ अर्ब ७४ करोड १० लाख ४३ हजार लगानी थपिएको हो । गतवर्षमा ३ अर्ब ९९ करोड ७४ लाख ६ हजार पुँजी लगानी थपिएको थियो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार गतवर्षमा १ हजार ६ सय ८८ नयाँ दर्ता भएका थिए ।
सूचना अधिकारी सुदर्शन पौडेलले भन्नुभयो ‘चार महिनामा दर्ता हुने दर सन्तोषजनक देखिएको छ, दिनहुँ कार्यालयमा भीड हुन्छ ।’ कृषि तथा वनतर्फका लघु उद्यम धेरै दर्ता प्रक्रियामा आएका छन् । कृषि तथा वनतर्फ लघुउद्यम ३ सय ४३, घरेलु उद्योग ३, साना उद्योग ६० वटा सहित कूल ४ सय ७ दर्ता भएका छन् । पर्यटनतर्फ १ सय २४, उत्पादनमूलकमा १ सय १८, सेवामूलक १ सय, सूचना, प्रसारणतर्फ १ दर्ता भएका छन् । ‘स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बन्दै गएको छ’, उहा भन्नु हुन्छ, ‘लगानी पनि बढेको छ ।’ चितवनमा हालसम्म १२ हजार ३६ वा घरेलु तथा साना उद्योग छन् ।
उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले भन्नु भयो ‘मेहनत गरे सानो लगानीबाट सुरु गरेको व्यवसायले पछि राम्रो प्रगती गरेको उदाहारण देख्न थालेपछि युवा उद्यमीको सख्या वढेको छ ।’ युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष निरञ्जन न्यौपाने भन्नु हुन्छ ‘सानो किन नहोस उत्पादन मुलक उद्योग खोलेमा त्यसले आफूपनि रोजगारी र अरुलाई पनि रोजगार दिन सकिन्छ ।’ उहाका अनुसार चितवनमा मोजाइट टायल उद्योगको सख्या वृद्धि भएको छ । पछिल्लो समय यसको माग वढेसंगै यस क्षेत्रको व्यापार र उद्योगको सख्या बढेको हो ।
महिला उद्यमी वढे
घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङक अनुसार ४ महिनाको अवधिमा दर्ता भएका घरेलु तथा साना उद्योगमध्ये महिला पुरुषभन्दा दोब्बर देखिएको छ । लगानी गर्नेमा ६ सय ६९ महिला छन् भने ३ सय ३६ जना पुरुष छन् । महिलाको नाममा दर्ता गर्दा ३५ प्रतिशत बढी छुट पाउने भएकैले महिलाहरु उत्साहित बनेका हुन् । दर्ता गर्दा सञ्चालकले बुझाउने विवरणको आधार केलाउँदा १ हजार ६ सय ८७ जना महिलाले यो वर्ष नयाँ रोजगारी पाएका छन् । पुरुषतर्फ ६ सय ५१ जनाले मात्रै पाएको देखिन्छ ।
कार्यालयका अनुसार ४ महिनामा २ सय ८८ उद्योगको नवीकरण भएको छ । २४ वटा बन्द भएका छन् । गत वर्ष एक हजार ५ सय ५१ वटाले नवीकरण गरेका थिए । २ सय २ वटा बन्द भएका थिए । पहिलो पटक नवीकरण गर्दा दर्ता भएको ५ वर्षपछि, त्यसपछि हरेक दुई–दुई वर्षमा नविकरण गर्नुपर्ने प्रावधान हुन्छ ।
यो वर्ष २४ वटाले लगानी बढाएका छन् । गत वर्ष १ सय ४१ वटाले लगानी बढाएका थिए । गत वर्ष ४१ करोड ४९ लाख ८ हजार पूँजी बढाइएको थियो ।