धीरेन्द्रप्रसाद साह
राजविराज, मंसिर १९ गते । उद्योगी व्यवसायीहरुको छाता संगठन सप्तरी उद्योग बाणिज्य संघका वर्तमान कार्य समितिले साधारण सभा (अबिधेशन) नै नगराई छ वर्षसम्म निरन्तरता दिएको छ । संघका सदस्यहरुले अबिधेशनका लागि पटक–पटक आग्रह गर्दापनि अटेर गर्दै आएको कारण उनीहरु अबिधेशनको माग गर्दै आन्दोलित भएका छन ।
२०७० सालमा निर्वाचन सम्पन्न भई तीन वर्षे कार्यकालका लागि समिति निर्वाचित भएपनि हाल सोही समितिको छ वर्ष बित्न लाग्दा समेत साधारण सभा तथा निर्वाचन नगरी लोकतान्त्रिक मूल्य मान्यता तथा विधान विपरीत काम गर्दै आइरहेको संघ आबद्ध सदस्यहरुले बताएका छन ।
संघ आबद्ध ५३ जना साधारण सदस्यहरुले संघको अबिधेशन नगराइ कार्यसमितिले काम गर्दै आएको हुँदा सो काम रोक्न स्थानीय प्रशासनलाई गुहारेको छ । तीन वर्षे कार्यकाल सम्पन्न भएपनि पुरानो कार्य समितिले अधिवेशन नगराई कार्य गर्दै आइरहेको भन्दै संघका ती सदस्यहरुले वर्तमान कार्य समितिलाई कार्य नगर्न भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीलाई गुहारेको छ ।
संघका साधारण सदस्यहरु सुरेशकुमार सिंह, अमृत संचेती, अमित सिंह, रमेशकुमार साह, श्यामबाबु साह, हेमनारायण साह, देवनारायण दास, रिजवान, सन्तोष सिंह, बिन्दि साह, दिपककुमार साहलगायत ५३ जनाले संयुक्त रुपमा हस्ताक्षर गरी उक्त माग गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई बुधबार ज्ञापन पत्र समेत बुझाइएको छ । संघका अध्यक्षलाई बारम्बार साधारण सभा गराउन आग्रह गर्दा समेत वेवास्ता गरी आफ्नै ढंगले कार्य गर्दै आइरहेको भन्दै वर्तमान कार्य समितिलाई कुनै पनि कार्य नगर्नु भनी आदेश जारी गर्न प्रजिअलाई ज्ञापनपत्रमा आग्रह गरेको छ ।
ती सदस्यहरुले भन्सारबाट हुने चोरी पैठारीका कारण जिल्लाको व्यापार प्रभावित हुनुका साथै राजश्व समेत चुहावट भइरहेको स्मरण गराउँदै सो कार्य रोक्न आवश्यक कारवाहीका लागि माग गरेको छ । सो क्रममा प्रजिअ खनालले भंसारबाट हुने चोरी पैठारी बारे प्रहरी प्रशासनसँग छलफल गरी आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउनु भएको छ ।
सो सम्बन्धमा सप्तरी उद्योग बाणिज्य संघका महासचिव अनन्त साहले कार्यसमितिको समय भन्दा बढी बस्ने इच्छा नरहेको भन्दै तर, संघीय संरचना अनुसार संघका कार्यसमितिलाई परिमार्जन गर्न विद्यान संशोधन गर्नुपर्ने भएको कारण साधारण सभामा ढिलाई भएको जानकारी दिनुभयो । गत शनिबार संघको बसेको बैठकले विद्यान संशोधन, आगामी साउनमा साधारण सभा र तेश्रो तल्ला भवन निर्माण सम्पन्न गरिने निर्णय भएको उहाँले जानकारी दिनुभयो । सो विषयमा थप कुरा बुझ्न संघका अध्यक्ष अरुण प्रधानसँग पटक÷पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।