बेलिना थापा
लमजुङ, मङ्सिर ३० गते । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि पशुचौपायालाई चिसोले सताउँदा पशुपालक किसान चिन्तित भएका छन् ।
भारी हिमपात हुँदा पाल्दै आएका पशुचौपाया हराउने र याकचौँरीलाई नोक्सान पु¥याएको सम्झँदै यसपटक पनि नोक्सान हुने डरले किसानले चिन्ता व्यक्त गरेका छन् । जिल्लाको नासों गाउँपालिका–४, ओडारगाउँका सुुरेश थकालीका अनुसार हिमपात हुँदा याकचौँरी हराउने डर हुन्छ । हिमपात रोकिएको समयमा याकचौँरी खोज्न हिँडेको उहाँले बताउनुभयो । हिमपात भइरहेको छ । गत सालजस्तै याकचौँरीको नोक्सान नहोस् भनेर खोज्न हिँडेको छु । हिमपात पर्ने बित्तिकै किसानलाई पशुको चिन्ता हुन्छ, उहाँले भन्नुभयो, १०० याकचौँरी थिए, पोहोर दसवटा पुरिएर मरे । अहिले त्यस्तो पनि यस्तै होला कि भन्ने चिन्ताले सताउन थालेको छ । हिमपातले गोठबाहिर भएका याकचौँरी असुरक्षित बनाउने गरेको उहाँले बताउनुभयो । मनाङ ङिस्याङ गाउँपालिका–१, उपल्लो पिसाङका याङडुङ गुरुङले हिमपात हुने शङ्का लाग्ने बित्तिकै याकचौँरीलाई लेकबाट गाउँ झारेको बताउनुभयो ।
५० वटा याकचौँरी र ६० बढी भेडा च्याङ्ग्रा पाल्नुभएका गुरुङले हिमपात हुँदा आफू मात्र नभई किसानका पशुचौपायाले पनि सास्ती पाउने गरेको बताउनुभयो । हिउँ परेमा स्याउ, आलुलगायतको बाली त सप्रन्छ । हामी मानिसजस्तै पीडा पशुचौपायालाई पनि पर्ने गरेको छ । पशुचौपायालाई खाने घाँस पाउन गाह्रो हुन्छ । हिमपात निरन्तर भए हाम्रा याकचौँरी मर्ने अवस्थामा पुग्छन, उहाँले भन्नुभयो, हिमपातमा परेर नोक्सान नहुन् भनेर पशु गाउँ झारेको छु । किसानका अनुसार हिमपात हुँदा ज्यादा चिसोले समेत याकचौँरी मर्ने गर्छन् । मनाङको मनाङ ङिस्याङ, चामे, नार्पाभूमि र नासों गाउँपालिकाको हरेक गाउँका बासिन्दाले याकचौँरी पालेका छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार हिमपातले पशुचौपायालाई समस्या पारेको छ । उहाँले भन्नुभयो, हिमपातको बेला पशु असुरक्षित हुन्छन् । कति हराउँछन्, कति पुरिन्छन् । हिमपात भइरहेको छ । अझै भइरहे खतरा बढ्न सक्छ । हिमपात भएपछि पशुचौपायाले ओत खोज्ने गरेको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले मनाङका सबै ठाउँमा हिमपात भएको बताउनुभयो । उहाँका अनुसार चिसो बढ्दै गर्दा स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । कर्मचारीलाई कार्यालयसम्म जान समस्या भएको छ । सवारीसाधन सञ्चालन हुन सकेको छैन । स–साना खोलाको पानी जमेर बरफ बन्न थालेको छ ।