logo
२०८१ मंसिर ९ आईतवार



धानको सुपर जोन जिल्लामा नै घट्यो उत्पादन

अर्थ |


धानको सुपर जोन जिल्लामा नै घट्यो उत्पादन


टीकाराम उप्रेती

झापा पुस २ गते । धान उत्पादनको सुपर जोन घोषणा भएको झापा जिल्लामा यो बर्ष ५ प्रतिशतले उत्पदनमा गिरावट आएको छ ।

नेपालमा राम्रो धान फल्ने जिल्लाको रुपमा परिचित झापामा यस बर्ष धान उत्पादन घटेको छ । खेती योग्य जमिनलार्ई प्लटिङ्ग र निजी वन विस्तारले धान उत्पादनको क्षेत्रफल घट्दै गईरहेको छ । यस्तै समयमा मल खाद्य, पानीको अभाव र किराको आक्रमणबाट धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी शेषराज पौडेलले जानकारी दिनुभयो ।

पछिल्लो समय खेती योग्य जमिनलाई प्लटिङ गरिएकाले धान खेती कम भएको छ । यस्तै धेरै खेती हुने किसानले आफ्नो धान रोप्ने जमिनमा निजी वन बिस्तार गरेका छन् । यसरी खेती योग्य जमिन मासेर वन क्षेत्र बिस्तार गर्न थालेपछि धान उत्पादनमा कमी आएको हो । यस्तै यो बर्ष फौजी किराको आक्रमणमा परेपछि झापाका धेरै धान खेतीमा किसानले आगो लगाएका थिए । धान रोप्ने सयममा आकाशे बर्षाको भर पर्ने धेरै खेतमा धान रोप्न ढिलो भएको थियो । सयमा धान राप्न नपाएपछि उत्पादकत्व बढ्न नसकेको हो ।

सूचना अधिकारी पौडेलका अनुसार गत बर्षको तुलनामा यस बर्ष झण्डै २० हजार ५ सय मेट्रिक टन धान उत्पादन घटेको हो । जिल्लामा गत बर्ष ८७ हजार ५ सय हेक्टरमा धान खेती भएको थियो । यो बर्ष ८४ हजार ८ सय ७५ हेक्टरमा मात्र धान खेती भएको छ । यस्तै गत बर्ष प्रति हेक्टर ४ दशमलव ६ मेट्रिक टन धान उत्पादन भएको थियो भने यो बर्ष ४ दशमलव ५ मेट्रिक टन मात्र धान उत्पादन भएको छ ।

यो बर्ष झापामा ३ लाख ८१ हजार ९ सय ३७ मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत बर्षको तुलनामा २० हजार ५ सय ५३ मेट्रिक टन कमि हो । धान उत्पादन घटेर चिन्तित बनेका किसानले सरकारले तोकेको धानको मुल्य समेत नपाउँदा थप समस्या भएको छ । सरकारले प्रति क्विन्टल २ हजार ६ सय मुल्य तोकेकोमा अहिले बजारमा २ हजार हाराहारीमा मात्र मुल्य रहेको भन्दै किसानले गुनासो पोखेका छन् ।

सरकारले मुल्य निर्धारण गरेको धानको मुल्य समेत नपाउँदा किसानहरु थप समस्यामा छन् । तोकेको मुल्यमा धान विक्री गर्न गराउँन राज्यले कडाइका साथ कार्यन्वयन गर्नु पर्ने किसानहरुले माग गरेका छन् ।

झापामा धान उत्पादनलाइ प्राथमिकता दिन धान सुपर जोन क्षेत्र घोषणा गरि कार्यक्रम समेत अघि सारिएको छ । सुपरजोनका कार्यक्रम सञ्चालन भएपनि धान उत्पादन बढ्न सकेन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?