logo
२०८१ मंसिर १० सोमवार



सात दिनपछि हुम्लाको हवाई सेवा सुचारु

अर्थ |


सात दिनपछि हुम्लाको हवाई सेवा सुचारु
सिमकोट विमानस्थलमा अवतरण गरेको समिट एयरको जहाज तस्बिर – राजन रावत


हुम्ला समाचारदाता
सिमकोट, पुस २ गते । सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा सात दिनपछि हवाई सेवा सुचारु भएको छ । विमानस्थलमा जमेको एक फिट भन्दा बढी हिउँ रन–वेबाट पन्छाउने काम सम्पन्न भएपछि बुधबार हिउँसोबाट हवाई सेवा सुचारु भएको हो ।

दुई दिन लगातार विमानस्थलको रन–वेको हिउँ फाल्दा पनि नसकिँदा बुधबार बाँकी हिउँ फाल्ने कार्य सम्पन्न भएपछि गत बिहिबारबाट हिमपातको कारण बन्द हुम्लाको एक मात्र हवाई सेवा सुचारु भएको नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रबन्धक गौरीशंकर शाहले बताउनुभयो ।

विमानस्थलको हिउँ फाल्ने कार्य सकिएलगत्तै समिट एयरका दुई वडा र सीताको दुई फ्लाईट गरी चारवटा उडान भर्न सफल भएको जानकारी उहाँले दिनुभयो । अब हवाई सेवा सुचारु हुने उहाँको भनाइ छ । सुरक्षाकर्मी, गाउँपालिका, जनप्रतिनिधि र कर्मचारी लागेर तीन दिनमा विमानस्थलको हिउँ फाल्ने कार्य सम्पन्न भएको थियो ।
नेपालगञ्जबाट नेपाल खाद्य संस्थानको ढुवानी अनुदानको खाद्यान्न ३६ क्विन्टल समिट एयरले ढुवानी गरेको थियो भने सिमकोटबाट ३६ जना यात्रु ओसारेको समिट एयर हुम्लाका इन्चार्ज गोबिन्द लामाले बताउनुभयो ।

त्यसैगरि, सीता एयरले पनि नेपालगञ्जबाट पहिलो फ्लाइट कार्गोको सामान र दोस्रो फ्लाइट यात्रु ओसारेको थियो भने सिमकोटबाट यात्रु ओसारेको थियो । धेरै दिनपछि सिमकोट विमानस्थलमा फ्लाईट हुँदा यात्रुहरुलाई राहत भएको छ । हवाई सेवा सुचारु भए पनि व्यापारी तथा यात्रुहरुलाई राहत भएको छ ।

यसअघि हवाई सेवा बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्य सामानको पनि अभाव हुन थालेको थियो भने कुखुराको मासु पाउनै छोडेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?