logo
२०८१ मंसिर १० सोमवार



अण्डाको माग दुई लाख उत्पादन ६० हजार

अर्थ |


अण्डाको माग दुई लाख उत्पादन ६० हजार


सिराज खान

नेपालगञ्ज, पुस १० गते । बाँके जिल्लामा हाल आएर दैनिक दुई लाखभन्दा बढी अण्डाको माग भए पनि आन्तरिक उत्पादन भने ६० हजार मात्रै छ ।
नेपाल अण्डा उत्पादक सङ्घ बाँकेका अनुसार जिल्लामा मागभन्दा उत्पादन धेरै कम हुँदा भारतबाट अवैध रूपमा भित्रिने तथा चितवन र दाङलगायतका जिल्लाबाट आयात गरेर बजारको मागलाई पूरा गर्ने गरिएको छ ।
अण्डा उत्पादक सङ्घ बाँकेका अध्यक्ष ललितबहादुर जिसीका अनुसार भारतबाट अवैध रूपमा भित्रिने सेतो अण्डाको आयात रोक्न नसक्नु र सरकारले अण्डाको मूल्य निर्धारण गर्न नसक्नुका कारण स्थानीय अण्डा उत्पादक किसानले प्रतिस्पर्धा गर्न नसकेपछि उत्पादक किसानको सङ्ख्या पनि घट्दै गएको छ ।
भारतबाट चोरीको बाटो भएर भिœयाउने अण्डा सस्तो पर्ने तथा त्यसमा बढी नाफा पाइने हुँदा अधिकांश व्यवसायीले समेत सोही अण्डा बिक्री गर्ने गरेकाले बाँके र बर्दियाका अण्डा उत्पादक किसान पेसाबाटै पलायन हुँदै गएको उहाँको गुनासो छ ।
आपूर्तिकर्ताले सिन्डिकेट गरेर किसानको घरमै गएर २५० रुपियाँमा प्रतिक्यारेट अण्डा उठाइरहेका छन् । जसले गर्दा किसानलाई मर्का परिरहेकाले राम्रो मूल्य नपाउँदा धेरै किसानले उत्पादन बन्द गरेका छन् ।
सङ्घका अनुसार बाँके र बर्दियामा व्यावसायिक रूपमा बढी अण्डा उत्पादन गर्ने किसान हाल ३० जना मात्र रहेका छन् । यसअघि ७२ जना किसानले व्यवसायिक रूपमा अण्डा उत्पादन गर्दै आएकामा भारतीय अण्डा र बाहिरी जिल्लाबाट आउने अण्डाको मूल्यसँंग प्रतिस्पर्धा गर्न नसक्दा अहिले ३० जना मात्र किसानले उत्पादन गरिरहेको सङ्घका अध्यक्ष जिसीले बताउनुभयो ।
केही समयअघिसम्म दैनिक एक लाखदेखि डेढ लाखसम्म अण्डा उत्पादन हुँदै आएकामा उत्पादक किसान घट्दै गएपछि उत्पादन पनि घट्दै गएकाले अहिले दैनिक ६० हजार मात्र अण्डा उत्पादन भइरहेको उहाँको भनाइ छ ।
यो उत्पादनले नेपालगञ्जको बजार मात्रै पनि धान्न सकिरहेको छैन । नेपालगञ्जमा मात्रै दैनिक डेढ लाखजति अण्डाको माग रहेको व्यवसायीले बताएका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?