logo
२०८१ मंसिर ९ आईतवार



मनकामनामा चार करोडको सुन्तला उत्पादन

अर्थ |


मनकामनामा चार करोडको सुन्तला उत्पादन


नरेन्द्र ढकाल

गोरखा, पुस १३ गते । मनकामनाका इन्सान थापा मगरले सुन्तला खेतीबाट यस वर्ष ११ लाख ५० हजार आम्दानी गर्नुभएको छ । झण्डै ४५ रोपनी क्षेत्रफलमा व्यवसायीक उहाँले सुन्तला खेति गर्दै आउनु भएको छ । ‘यसपाली बाक्लो फलेन तर दाना भने राम्रो लाग्यो । गत वर्ष ८ लाख आएको थियो, अहिले अलि बढ्यो ।’ उहाँले भन्नुभयो ।

सुरुमा १२ सय विरुवा सुन्तला लगाएका मगरको बगैंचामा अहिले झण्डै १ हजार बोट छन् । रोग किराको आक्रमणले वर्षेनी रुख मर्ने क्रम जारी छ । ‘धेरैका बगैंचा सुकिसकेका छन् । मैले भने सक्दो उपचार गरेर जोगाएको छु ।’ - मगरले भन्नुभयो । सिंचाईको प्रयाप्त सुविधा नहुँदा समस्या भएको उहाँले जानकारी दिनुभयो ।

सोही ठाउँकी भगवती थापाको बगैंचामा ७ सय बोट सुन्तला छन् । ती मध्ये ४५० भन्दा बढि बोटमा अहिले लटरम्मै सुन्तला फलेको छ । ‘गत वर्ष ७ लाखमा बेचेको हो, यस वर्ष पनि साढे ७ लाखमा ठेक्का भइसकेको छ’ उहाँले भन्नुभयो ‘यसपाली हामीले मनकामना ढललाई व्यवस्थित गरेर सिंचाई गरेका थियो । त्यसले बगैंचा धेरै राम्रो भएको छ ।’

बगैंचा व्यवस्थापनमा ध्यान दिएका केही कृषकले सुन्तला खेतिबाट राम्रो फाइदा लिएपनि समग्रमा भने उत्पादन ओरालो लागेको छ । २०७४ सालमा ८ करोडका सुन्तला बेचेका सो क्षेत्रका कृषकले गत वर्ष ६ करोड आम्दानी गरेका थिए । यस वर्ष घटेर ४ करोड पुग्ने कृषकले अनुमान गरेका छन् ।

‘रोग किराको आक्रमण र सिंचाइको अभावका कारण वर्षेनी उत्पादन घट्दै गइरहेको छ’ साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णबाबु श्रेष्ठले भन्नुभयो ‘जोन कार्यक्रमले केही सहयोग गरेको छ । तर प्रयाप्त भएको छैन् ।’ यता सुन्तला जात फलफूल जोन कार्यालय गोरखाका प्रमुख अजय अधिकारीले आफूहरु तथ्याङ्क संकलनकै क्रममा रहेको जानकारी दिनुभयो ।

सुन्तला खेतिमा देखिएका समस्या समाधानका लागि विभिन्न प्रयास भइरहेकाले आगामी दिनमा उत्पादन बढेर जाने उहाँको विश्वास छ । ‘हामीले सबै ठाउँबाट डाटा मागि रहेका छौं, समूह सहकारीले डाटा बुझाएपछि बैठक बसेर उत्पादनको एकिन रिर्पोट सार्वजानिक गर्न सकिएला’ उहाँले भन्नुभयो ‘केही दिन भित्र उक्त बैठक बस्ने तयारी भइरहेको छ ।’उत्पादन घटे पनि गत वर्षहरुको तुलनामा भाउ राम्रो पाएको किसानहरुले बताएका छन् । मनकामना अहिले ठुलो खालको सुन्तला एक सय, मध्यम ९० र साना खालाको ७०/७५ मा बिक्रि भइरहेको छ । किसानले भने थोक मुल्यमा ठेक्का दिदाँ उचित भाउ नपाएको गुनासो गरेका छन् ।

‘मनकामनामा बाहिरका ठेकेदारलाई सुन्तला दिने काम बन्द भएको छ, यहीँका साथीहरुले बजारसम्म पुर्याउने काम गरिरहनुभएको छ’ - साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले भन्नुभयो - ‘यसपटक हरेक किसानले किलोमा ५/७ रुपैयाँ बढि पाउनु भएको छ ।’ थोक मुल्यमा पनि सरदर ८०/८५ रुपैयाँमा सुन्तला बिक्रि भइरहेको उहाँको दाबी छ । मनकामनाको सुन्तलाको माग बढेपछि उपभोक्तालाई चिन्न सजिलो होस भनेर केही वर्ष अघि स्टिकर टाँस गरि सुन्तला बिक्रि गरिएको थियो । तर सुन्तला जोन कार्यक्रम लागु भएपछि स्टिकर टाँस्ने काम रोकिएको किसानले गुनासो गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?