logo
२०८१ मंसिर १० सोमवार



आलु उत्पादनले एउटै गाउँमा दश कराेड आम्दानी हुँदै

अर्थ |


आलु उत्पादनले एउटै गाउँमा दश कराेड आम्दानी हुँदै
दोलखाको शैलुङ गाउँपालिकाको वडा नम्बर–३ ढुङ्गेस्थित आलु खेती । तस्बिर - कैलाश लामा



कैलाश लामा
चरिकोट दोलखा, पुस १५ गते । दोलखाको शैलुङ गाउँपालिकामा यस वर्ष जिल्लामै सबैभन्दा बढि साँढे १० करोडको आलु उत्पादन भएको छ । हावापानीको हिसाबले स्वादिलो आलु उत्पादनमा उर्वरभूमि मानिएको शैलुङमा चालू वर्ष ३० हजार मेट्रिक टन अर्थात् साढे १० करोडको आलु उत्पादन भएको हो । कुल उत्पादित आलु मध्ये २१ सय मेट्रिक टन अर्थात् सात करोड ३५ लाखको आलु काठमाडौं लगायतको बजारमा निर्यात गरिएको छ भने नौसय मेट्रिक टन अर्थात् तीन करोड १५ लाखको आलु स्थानीय स्तरमै विक्री र प्रयोग गरिएको छ ।
यस वर्ष आलुको उत्पादन बढेको उल्लेख गर्दै शैलुङ गाउँपालिकाको अध्यक्ष भरत दुलालले स्थानीय स्तरमा आलु प्रति किलो ३५ रुपियाँको दरले किनबेच भएको जानकारी दिनुभयो । उहाँले आलु निर्यातवापत गाउँपालिकाले प्रति गाडी एक हजार रुपैयाँको दरले छ सय गाडीबाट छलाख रुपियाँ राजस्व समेत उठाएको बताउनुभयो ।
शैलुङमा आलुलाई मुख्य कृषि उत्पादनको रुपमा लिइन्छ । मुँडेको आलु भनेर चिनिने शैलुङको प्रख्यात आलु किन्नका लागि सिजन सुरु भएसंगै व्यापारीहरु किसनको खेतबारीमै पुग्ने गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर–१ को गैरी, ताम्चेत, सासिम, मेहेले, ग्योइ, बुट्टे, वडा नम्बर–३ को ढुङ्गे, देउराली, वडा नम्बर–६ को चैचाप, चित्रे, भित्रे र वडा नम्बर–८ को झोर, मनागाउँ, सरनथली र कालापानीलाई आलुको पकेट क्षेत्र मानिन्छ । गाउँपालिकाको तथ्याङ्कअनुसार छ हजार घरधुरी भएको शैलुङ गाउँपालिकमा पाँच हजार घरधुरीले आलु खेती गर्ने गरेका छन् । जसमा दुई हजार घरधुरीले व्यवसायीक आलु खेती गर्दै आएका छन् । एउटा घरपरिवारले वार्षिक पाँच लाख सम्मको आलु बेच्ने गरेको गाउँपालिकाले जनाएको छ ।
आलु प्रवद्र्धनका लागि गाउँपालिकाले मेहेले, ढुङ्गे, चैचाप, लाम्चेआहाल र थगममा गरि पाँच ठाउँमा रष्टीक आलु भण्डार भवन बनाएको छ। प्रत्येक रष्टीक आलु भण्डार भवनको क्षमता १० मेट्रिक टन रहेको र हाललाई विशेषगरी आलुको बिउ भण्डार गर्ने गरिएको छ ।
त्यसैगरि गाउँपालिकामा यसै वर्ष पाँच करोडको लागतमा तीन सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र बन्ने भएको छ । डिपीआर तयार भएर टेन्डरको तयारीमा रहेको चिस्यान केन्द्रमा दुई सय मेट्रिक टन आलु, २५ मेट्रिक टन किवी, १५ मेट्रीक टन बन्दा–काउली र ६० मेट्रिक टन अन्य फलफुल तथा तरकारी भण्डार गर्न मिल्नेछ । चिस्यान केन्द्र निर्माणका लागि संघीय सरकारको कृषि मन्त्रालयबाट दुई करोड ५० लाख र बाकी गाउँपालिका र स्थानीय कृषक समुहले शेयर लगानी गर्ने बताईएको छ ।
आलु किसानलाई प्रत्साहन र आलुको प्रवद्र्धनका लागि गाउँपालिकाले आलुको मुल बीउ बितरण, आलु पकेट क्षेत्रमा सडक र कृषि प्राविधिक तथा बजारीकरणमा सहयोग गर्दै आएको छ । आलुबाट मस्यौरा, पिठो, चिप्स, विभिन्न तरकारी लगाएत ४० भन्दा बढि प्रकारका परिकार बन्ने भएकोले पनि यसको बजार माग उच्च रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?