कैलाश लामा
चरिकोट, दोलखा पुस १७ गते । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर –८ सुनखानीका ५२ वर्षीय खड्गराज शिवाकोटीले अमिलो जातको फलफूल सुन्तला खेतीबाटै घर व्यबहार धानीरहनुभएको छ । बुबा नारायणप्रसाद शिवाकोटीले २०३० सालमा जिरीबाट तालिम सहित पाँच बोटबाट सुरु गर्नुभएको सुन्तला खेतीनै अहिले उहाँको बलियो आय आर्जनको पाटो बनेको हो ।
बुबाको मृत्यु पश्चात् सुन्तला खेतीलाई थप व्यवस्थित गर्नुभएका खड्गराजले सुन्तलाको आम्दानीबाट आफू दुई छोरा, एक छोरी, श्रीमती र आमाको पालनपोषण मात्रै नभएर छोराछोरीलाई उच्च शिक्षा समेत दिलाउन सफल भएको दावी गर्नुभयो । उहाँले सुन्तला खेतीबाट वार्षिक पाँच लाख रुपियाँ आम्दानी गर्ने गरेको बताउनुभयो ।
‘करिब ६ रोपनी बारीमा एक सय ५० को हाराहारी सुन्तलाको बोट छ । पाँचदेखि ४५ वर्षसम्मका बोटबाट सय रुपियाँदेखि पाँच हजार रुपियाँ सम्मको सुन्तला फल्ने गरेको छ ।’ उहाँले भन्नुभयो, ‘हावापानीको हिसाबले उपयुक्त ठाउँमा लोकल जातका सुन्तला फल्ने भएकाले पनि स्वादिलो हुने र बजारमा राम्रो माग रहेको छ ।’
सुन्तला गुणस्तर अनुसार प्रति किलो ८० देखि सय रुपियाँसम्म स्थानीय र चरिकोट बजारमा बिक्री हुने गरेको छ । सुन्तला ब्यापारमा गाउँपालिकै उत्कृष्ट किसानको रुपमा परिचित खड्गराज दर्जन भन्दा बढि कृषि पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । घरपरिवार छोडेर रोजगारीका लागि दैनिक सयौं युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरहँदा स्वदेशकै माटोमा उत्पादन गर्छु भन्नेहरुका लागि सरकाले वास्ता नगरेको गुनासो उहाँको छ । उहाँले सरकारी तवरबाट हालसम्म कोहि कसैले पनि सहयोग नगरेको बताउनुभयो ।
सुन्तलमा किरा लाग्ने समस्याले उत्पादन घटेको उल्लेख गर्दै उहाँले सो विषयमा कुन औषधीले ठिक हुन्छ भन्ने कुरा थाहा नभएको र कृषि कार्यलबाट समेत उचित सल्लाह नपाएको प्रष्ट पार्नुभयो । ‘फुल फुल्ने बेलामा भने किरा मार्ने औषधी प्रयोग गर्ने गरेको छु ।’ उहाँले भन्नुभयो, - ‘दोलखाका स्थानीय सरकारले सच्चै समृद्धि चाहेको हो भने सुन्तला उत्पादन हुने हावापानी र क्षेत्र पत्ता लगाएर जिल्लामा सुन्तला किसान जन्माउनुपर्छ।’ उहाँले दोलखाको केही क्षेत्र सुन्तला उत्पादनको पकड क्षेत्र रहेकाले त्यस्ता क्षेत्रको पहिचान गरि राज्यले आर्थिक, प्राविधिक सहयोग गरे आगामी १० वर्षमा दोलखा सुन्तला जोनको रुपमा परिचित हुने बताउनुभयो ।