logo
२०८१ मंसिर १० सोमवार



सुनको मूल्यमा नयाँ रेकर्ड

अर्थ |


सुनको मूल्यमा नयाँ रेकर्ड


चितवन समाचारदाता

चितवन, पुस १९ गते । सुनको मूल्य बढेपछि व्यापार खस्किएको भन्दै व्यापारीले गुनासो गरेका छन् ।
सिजनको समयमा पनि व्यापार हुन नसकेको भन्दै उपाय खोजी गर्नुपर्ने व्यापारीको भनाइ छ । नयाँ गहना खरिद गर्न भन्दा पुरानो गहना बिक्रीका लागि आउने ग्राहकको सङ्ख्या बढेपछि चितवनका व्यापारीले सीमित मात्र खरिद गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका उपाध्यक्ष एवं चितवनका पूर्वअध्यक्ष अर्जुन रसाइलीले भन्नुभयो, आजभोलि व्यापारी सुन बिक्री गर्न होइन खरिद गर्न बसेको जस्तो भएको छ । अस्वाभाविक रूपमा सुनको मूल्य उकालो लागेपछि त्यसको असर व्यापारमा भएको छ, खरिद गर्न आउनेको सङ्ख्या ह्वात्तै
घटेको छ ।
उहाँले विगत केही महिनादेखि सुन पसल सञ्चालकलाई व्यवसाय टिकाउन कठिन हुन थालेको बताउनुभयो । नेपाल सुनचाँदी व्यवसायी सङ्घ चितवनका अध्यक्ष टेकबहादुर विश्वकर्माले भन्नुभयो, गत वर्षभन्दा अहिले १० प्रतिशत मात्र व्यापार हुने गरेको छ, मूल्य बढ्नेबितिकै ग्राहकको सङ्ख्या ह्वात्तै घटेको छ ।
अध्यक्ष विश्वकर्माका अनुसार सुनचाँदी महासङ्घमार्फत चितवनमा प्रत्येक हप्ता तीन केजी सुन आउने गरेको तर त्यसले माग धान्न नै मुस्किल हुने गरेको थियो तर मूल्य वृद्धिका कारण अहिले व्यापार ठप्पजस्तै छ ।
चितवनमा पाँच सयको हाराहारीमा सुनचाँदी पसल छन् । नेपाल सुनचाँदी व्यवसायी सङ्घ चितवनमा करिब २५० वटा पसल आबद्ध रहेका छन् । चितवनमा शुक्रबार प्रतितोला छापावाल सुन ७४ हजार पाँच सय सय, तेजावी सुन ७४ हजार दुई सय, चाँदी प्रतितोला ९३० रुपियाँमा कारोबार भएको छ ।
जय सन्तोषी माँ सुनचाँदी शोरुमका सञ्चालक रुवेन रामुदामुले भन्नुभयो, माघ नजिकिँदै गर्दा सुनचाँदी कारोबारमा राम्रो होला, अर्डरहरू आउला भन्ने सोचेको तर त्यस्तो भएन । अहिले नगदमा सुन कारोबार हुनै छाडेको छ । ग्राहकले पुरानो सुन ल्याएर नयाँ गहना खरिद गर्ने गरेका छन् ।
सुनचाँदी व्यवसायी सङ्घ माडी शाखाका अध्यक्ष कृष्ण गोतामेले भन्नुभयो, आधा तोला सुनका गहना बिक्री गर्न समेत गाह्रो भएको छ । दिनैपिच्छे सुनको भाउ महँगिँदा समस्या थपिएको छ, उहाँले भन्नुभयो । मुस्किलले एक जना खरिद गर्न आए, चार–पाँच जना बिक्री गर्न आउँछन् । अहिले त ग्राहकको सुन किन्ने पैसा पनि अभाव हुन थालेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?