कृष्ण तिवारी
रौतहट, पुस १९ गते । चिनी मिल सञ्चालन नहुँदा रौतहटका उखु किसान आधा मूल्यमै सख्खर उद्योगलाई उखु विक्री गर्न बाध्य भएका छन् ।
रौतहटको गरुडामा अवस्थित श्रीराम सुगर मिल यस वर्ष सञ्चालन नहुँदा यहाँका किसानहरु सरकारले तोकेको मूल्यभन्दा आधा मूल्यमा नै सख्खर उद्योगमा उखु विक्री गर्न बाध्य भएका हुन् ।
सरकारले यस वर्षको लागि उखुको मूल्य प्रति क्वीन्टल ५ सय ३६ रुपैया ५६ पैसा निर्धारण गरेको छ तर श्रीराम सुगर मिल सञ्चालन नहुँदा वाध्य भएर रौतहटका किसानहरु सख्खर उद्योगलाई प्रति क्वीन्टल २५० देखि ३०० रुपैयाँमा नै विक्री गरिरहेका छन् ।
जिल्लाको सुन्दरपुर, कटहरिया, विजयपुर लगाएतका ठाउँमा सञ्चालित सख्खर उद्योगलाई किसानहरु उखु विक्री गरिरहेका छन् ।
सख्खर उद्योगले उखु खरिद गर्ने वित्तिकै भुक्तानी दिने गरेकोले किसानहरु मिलको विकल्पमा सख्खर उद्योगलाई नै उखु बेच्न थालेको देखिएको छ ।
चिनी मिल सञ्चालन नहुँदा सख्खर उद्योगलाई नै सस्तोमा उखु बेच्न वाध्य भएको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरका किसान राम कल्याण यादवले बताउनुभयो ।
श्रीराम सुगर मिलले अघिलो वर्षहरुकोसहित किसानको ४२ करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी राखेको छ ।
उद्योगी हितेश गोल्छा किसानको करोडौं रकम भुक्तानी गर्न बाँकी राखेको र उल्टै मिल पनि यस वर्ष सञ्चालन नगर्दा आधा मूल्यमै उखु बेच्नुपर्दा आफूहरु दोहोरो मारमा परेको किसानको गुनासो छ ।
श्रीराम सुगर मिलको बदमासी र लापरवाहीका कारण जिल्लाका हजारांंै उखु किसान आधा जति भाउँमा उखु बेच्न वाध्य भएको समाजवादी पार्टीका युवा नेता राजकुमार दासले बताउनुभयो ।
मिल मुनाफामा रहे पनि घाटामा गएको नाटक गरेर उद्योगपति गोल्छाले हजारौं किसानसँग खेलवाड गरेको उहाँले आरोप लगाउनुभयो ।
त्यस्तै, कतिपय किसानले उखु खरिद गर्ने काटामा पनि उखु बेच्न थालेका छन् । केही किसान प्रति क्वीन्टल ४ सय १७ रुपैयाँमा काटामा उखु विक्री गरिरहेका छन् ।
सरकारले तोकेको भन्दा १ सय १९ रुपैया घाटा सही किसानहरु प्रति क्वीन्टल ४ सय १७ रुपैयामा काटामा उखु बेच्न बाध्य भएका छन ।