गोरखापत्र समाचारदाता
काठमाडौं, पुस १९ गते । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले सहकारीको शक्ति सहकार्यमा रहेको बताउनुभएको छ ।
सहकारीको सफलता भनेको नै सहकार्यबिना सम्भव छैन भन्दै उहाँले बचत र ऋण प्रवाह मात्रैले सहकारीको उद्देश्य पूरा हुँदैन, प्रत्येक सदस्यमा आत्मविश्वास र काम गरौं भन्ने भावनाको विकास हुनुपर्छ भन्नुभयो ।
गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्नु हुँदै कार्यकारी अध्यक्ष भण्डारीले सहकारीको मर्मलाई यथार्थ जीवनमा ल्याउन आग्रह गर्नुभयो ।
नेपालको तीन खुट्टे अर्थतन्त्रमा एउटा खुट्टा सहकारी भएको चर्चा गर्दै उहाँले सहकारीको शक्ति नै सहकार्यमा छ, गोरखापत्र सहकारी सुख र दुःखको साथी हो भन्नुभयो ।
कार्यक्रममा कार्यकारी अध्यक्ष भण्डारीले गोरखापत्र संस्थानमा पत्रकार तथा कर्मचारी भई गोरखापत्र सहकारीका सदस्यमध्ये २०७५ सालको प्रवेशिका (एसईई) परीक्षामा उत्कृष्ट अङ्क ल्याउने मेघावी छात्रा तथा छात्रलाई पुरस्कृत तथा सम्मानित गर्नुभयो ।
यसरी सम्मानित हुनेहरुमा पत्रकार तथा सहकारी सदस्यहरू तुलसीहरि कोइरालाकी छोरी रक्षा कोइराला, नन्दलाल तिवारीको छोरी चेतना तिवारी तथा रामप्रसाद हुमागाईकी छोरी स्वेच्छा हुमागाई, कर्मचारीहरू बलराम यादवका छोरा सुरज यादव, बोमबहादुर खड्काकी छोरी रुक्सा खड्का, शिवहरि अर्यालकी छोरी प्रतिशा अर्याल, कविता थापाका छोरा प्रतीकराज कार्की हुनुहुन्छ । उहाँहरूलाई नगद तथा सम्मानपत्रबाट पुरस्कृत तथा सम्मानित गरिएको थियो । उहाँहरूमध्ये सुरज यादवले सबैभन्दा बढी अङ्क हासिल गर्नुभएको जानकारी सहकारीले दिएको छ ।
सहकारीको अध्यक्ष दीपक पौडेलले मासिक बचत सङ्कलनबाट हालसम्म दुई करोड १५ लाख रुपियाँ बचत भएको जानकारी दिनुभयो भयो । सहकारी सबैको सहकार्यमा अगाडि बढिरहेको जानकारी दिँदै अध्यक्ष पौडेलले सहकारीमा आवद्ध हुन बाँकी रहेका सबै पत्रकार तथा कार्मचारीलाई सहकारीको सदस्य हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहकारीका पदाधिकारीहरू पविता गौतम, विमला घिमिरे, इन्दिरा पाण्डे, रमेश न्यौपानेलगायतले सहकारीको आर्थिक आयव्यय र प्रगतिबारे जानकारी दिनुभएको थियो । सहकारीले संस्थामा आवद्ध सदस्यहरूलाई दुई लाख रुपियाँसम्म बिना धितो ऋण उपलब्ध गराउँदै आएको छ ।
आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्म संस्थामा कुल शेयर पुँजी ३५ लाख ९२ हजार, बचत रकम एक करोड ६३ लाख ३० हजार २१, भुक्तानी दिनुपर्ने, ७९ हजार ६७८, कोषमा १५ लाख ५१ हजार ९२४ रुपियाँ रहेको जानकारी दिइएको छ ।
दायित्व रकम ३३ हजार ११०, आम्दानीतर्फ ब्याजबाट २० लाख १६ हजार ५०१, ऋण व्यवस्थापन शुल्क, कमिसन एवम् २ लाख १० हजार ४७० गरी जम्मा २२ लाख २६ हजार ७९१ आम्दानी भएको छ । यस आवमा दुई लाख ९१ हजार ९८० सञ्चालन मुनाफा भएको जानकारी कोषाध्यक्ष इन्दिरा पाण्डेले दिनुभयो ।