टीकाबहादुर बस्नेत
दाङ, पुस २० गते । फोहोर व्यवस्थापन सबैको टाउको दुखाइको विषय बनिरहेको समयमा दाङको घोराही उपमहानगरपालिकाले बजारबाट सङ्कलन हुने फोहोरबाट मोहोर बनाउँदै छ । नगर सभाबाट फोहोर व्यवस्थापन कार्यविधि पारित गरेर उपमहानगरपालिकाले गल्ने फोहोरबाट ग्यास उत्पादन गर्न थालेको हो ।
उपमहानगरपालिका १६ मा रहेको डम्पिङ साइडमा सङ्कलित गल्ने फोहोरबाट ग्यास उत्पादन गर्ने काम धमाधम भइरहेको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । यसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । “हो, हामीले गल्ने फोहोरबाट ग्यास निकाल्दै छौैँ”, प्रमुख चौधरीले भन्नुभयो, “नगरवासीहरूसँग नगल्ने फोहोर किनेर बिक्री गर्ने तयारीमा छौँ ।”
घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुर र नेपाल ऊर्जा विकास कम्पनी प्रालि काठमाडौँका बीचमा त्रिपक्षीय सम्झौता गरेर फोहोर व्यवस्थापनको कार्य अघि बढेको हो । २० करोड रुपियाँको लागतमा स्थापना हुने ग्यास उद्योगमा ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकको लगानी छ ।
घोराही उपमहानगरपालिका क्षेत्रबाट सङ्कलित कुहिने फोहोरबाट दैनिक एक हजार तीन सय किलो ग्यास र छ टन प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य रहेको उपमहानगरपालिकाका प्रमुख चौधरीले जानकारी दिनुभयो । प्रमुख चौधरीले भन्नुभयो, “फोहोरलाई आर्थिक उत्पादनसँग जोड्दै छौँ । अबको केही समयमै ग्यास उत्पादनको काम सुरु हुनेछ ।”
आयोजना सुरु भएको पाँच वर्षसम्म घोराही उपमहानगरपालिकाले फोहोर सङ्कलन, ढुवानी र त्यसपछि कम्पनीले आफैँ फोहोर सङ्कलन गर्ने सम्झौता भएको छ । २० वर्षपछि चालू अवस्थाको उद्योग कम्पनीले उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने छ ।
ग्यास उत्पादन सुरु भएपछि उद्योगले कुल उत्पादनको एक प्रतिशत रोयल्टी उपमहानगरपालिकालाई तिर्नुपर्ने सम्झौता भएको प्रमुख चौधरीले जानकारी दिनुभयो । १४ महिनामा निर्माण सम्पन्न गर्ने गरी गत मङ्सिरमा सम्झौता भए पनि उद्योग स्थलमा रहेका रूख कटान प्रक्रियामा ढिलाइ हँुदा उत्पादनको काम पाँच महिना पछि धकेलिएको उहाँले बताउनुभयो । यसैबीच उपमहानगरपालिकाले गल्ने फोहोर खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिअन्तर्गतको सरसफाइ स्वच्छता शाखाले नगल्ने फोहोरको वर्गीकरण गरेर खरिद गर्ने प्रक्रिया अगाडि बढाएको हो । कपडा र पुनः प्रयोगमा आउने प्लास्टिकजन्य फोहोरलाई प्रतिकिलो पाँच रुपियाँ र पुनः प्रयोगमा नआउने वस्तुलाई प्रतिकिलो तीन रुपियाँमा खरिद गर्ने निर्णय उपमहानगरले गरेको छ ।
प्रत्येक वडाका टोल विकास संस्थाहरूले नगल्ने फोहोर निश्चित ठाउँमा सङ्कलन गर्ने र घोराही उपमहानगरले उक्त फोहोर खरिद गरेर बाहिर बिक्री गर्ने योजना बनाएको छ । फोहोरबाट सङ्कलित रकमलाई टोल विकास संस्थाहरूले पूर्ण सरसफाइको कार्यक्रमअन्तर्गत साबुन, ब्रस, हरपिक खरिदमा लगाउने नीति लिइएको समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो । नगल्ने फोहोर खरिदका लागि नगरले चालू आर्थिक वर्षका लागि सात लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।