logo
२०८१ मंसिर १० सोमवार



‘माहुरी म्यान’को दुःखेसो महको गुणस्तर प्रमाणित गर्ने ल्याब छैन

अर्थ |


‘माहुरी म्यान’को दुःखेसो महको गुणस्तर प्रमाणित गर्ने ल्याब छैन


तारा चापागाईं दुवे

कास्की, पुस २१ गते । पोखरामा बेगनास माहुरी घार उद्योग सञ्चालन गरिरहनुभएका सूर्यप्रसाद लामिछानेलाई सबैले ‘माहुरी म्यान’ भनेर चिन्छन् ।
कास्की लामास्वाँरामा किसान परिवारमा जन्मनु भएका लामिछानेले दुई दशकदेखि मौरीपालन गर्दै आउनुभएको छ । कडा मिहिनेतपछि एक सयवटा मौरी घार तयार पार्नुभएका लामिछानेले भन्नुभयो, मैले यो व्यवसाय सुरु गर्दा मलाई कसैले पनि पत्याएका थिएनन् । माहुरीपालनलाई व्यवसायका रूपमा ढाल्न सकिएला भनेर ।
कास्कीमा माहुरीपालन व्यवसायमा रुचि राख्नेको सङ्ख्या धेरै छ । मह शुद्ध हो वा होइन भन्ने प्रमाणित गर्न नपाउँदा विदेश निर्यात गर्न नपाएको नेपाल मौरीपालन महासङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहनुभएका लामिछानेको भनाइ छ । विदेशीले बिनापरीक्षण वा प्रमाणीकरण नभएको कुनै चिज पनि प्रयोग नगर्ने हँुदा यहाँको मह बाहिर निर्यात गर्न नसकिएको उहाँको गुनासो छ ।
उहाँ भन्नुहुन्छ, “ल्याबको अभावमा महको प्रमाणीकरण गर्न नपाउँदा मह विदेश पठाउन सकिएको छैन । स्वेदशमा बिक्री गर्न बाध्य छौँ ।’’
महको नाउँमा केही डुलन्ते व्यक्तिले घरघरमा चिनीको चास्नी मिलाएर बेच्ने गरेकाले पनि महको गुणस्तरमा प्रश्न उठिरहेको उहाँको भनाइ छ ।
उहाँले कास्कीमा मात्रै सानाठूला गरी दुई सय मौरीपालक किसान र सात हजार पाँच सय आधुनिक मौरीका घार रहेको जानकारी दिनुभयो । पोखरा पर्यटकीय क्षेत्र भएकाले पनि महको माग दिन प्रतिदिन बढ्दो छ । माहुरीको अध्ययनका लागि भियतनाम, नेदरल्यान्ड, अमेरिका र जापानसम्म पुग्नुभएका लामिछानेले भन्नुभयो, विदेशमा हेर्दा नेपालमा माहुरीपालन हुनसक्ने प्रशस्तै सम्भावना देखिन्छ तर माहुरीपालन व्यवसायलाई राज्यले हेर्ने दृष्टि सकारात्मक छैन । उहाँले हाल एउटा माहुरीको घार र रानी माहुरीसहित १० हजार रुपियाँमा बेच्ने गरेको बताउनुभयो । हालसम्म पाँच हजार गोला मौरी बेचिसकेका लामिछानेले माहुरीपालनबाट लाखौँ रुपियाँ कमाइसक्नुभएको छ ।
नेपालमा पेसाको पुस्तान्तरण हुँदा कृषि पेसाको विकास हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, नेपालमा बाबुले किसानी पेसा गर्छ, छोरालाई अर्कै पेसामा लगाउन त्यही अनुसारको विषय पढाउने चलन छ । अनि पेसामा व्यावसायिकता र पुस्तौँ विज्ञता हुँदैन तर विदेशमा बाबुले अँगालेको पेसामा नाति पुस्तासम्म लागिरहेका भेटिन्छन् । अनि त्यहाँ हरेक पेसाको विकास भएको छ र हरेक पेसाको मर्यादा छ ।
उहाँले भन्नुभयो, विदेशमा मौरीलाई सेन्सरले काम लगाएर मह उत्पादन गर्छन् तर हामी अझै ढुङ्गे युगमा छौँ । उत्पादित महको प्याकिङ, लेभलिङ र माकेर्टिङको सुरुवातसम्म पनि नभएको नेपालमा उहाँले पहिलो पटक योजनाबद्ध ढङ्गले काम गर्ने योजना बनाउनुभएको छ ।
उहाँले एक घारबाट एकपटकमा चार केजी महसम्म उत्पादन गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिमको डोटी, डडेल्धुरा, रुकुम रोल्पातिरका माहुरीले बढी मह दिने भएकाले ती मौरी ल्याएर नश्ल सुधार गरी उत्पादन वृद्धि गर्ने र समग्र मौरीपालक कृषकको आयआर्जन बढाउने योजना पनि उहाँले निर्माण गर्नुभएको छ ।
महको प्रयोग नेपाली समाजले गर्न नसकेको प्रति पनि उहाँको गुनासो छ । उहाँ भन्नुहुन्छ, विदेशमा हरेक भान्सामा महको प्रयोग हुन्छ, हामी दाल, भात, तरकारी माछा, मासुलाई प्राथमिकता दिन्छौँ, महलाई कसरी खाने भन्ने ज्ञान पनि हामीसंँग छैन । यसको प्रयोग हरेक भान्सामा बढाउन जरुरी छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?