logo
२०८१ मंसिर १० सोमवार



सेजमा सधैँको समस्या

अर्थ |


सेजमा सधैँको समस्या


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २५ गते । निर्यातमूलक उद्योग स्थापना गर्ने लक्ष्यसहित २० वर्षअघि सुरु गरिएको विशेष आर्थिक क्षेत्र पूर्ण सञ्चालनको काम अझै पनि अलमलमै छ । बढ्दो व्यापार घाटा कम गर्न उद्योगलाई विभिन्न सहुलियतसहित आकर्षित गर्ने लक्ष्य सेजले राखेको भए पनि उद्योगी स्वतःस्फूर्त जान अहिलेसम्म तयार देखिँदैनन् । खासगरी दुईपटक उद्घाटन भइसकेर सञ्चालनमा रहेको एक मात्र भैरहवा सेजमा अहिलेसम्म जम्मा तीनवटा उद्योग मात्र सञ्चालन हुनुले यसलाई पुष्टि पनि गर्छ । पूर्वाधार र विद्युत् आपूर्तिको सधैँको समस्या अनि कतिपय कानुनी अड्चनले सेज लक्ष्य अनुसार अगाडि बढ्न नसकेको निष्कर्ष एक अध्ययनले देखाएको छ ।
समुन्नति र नेपाल आर्थिक पत्रकार समाज (सेजोन)को सहकार्यमा गरिएको अध्ययनले सेजमा आकर्षण नबढ्नुमा सधैँ एउटै किसिमको समस्या दोहोरिनुलाई कारण मानेको छ । खासगरी पर्याप्त विद्युत् आपूर्तिको अभावमा उद्योग सञ्चालनमा समस्या रहेको अध्ययनले जनाएको छ । यसबाहेक उद्योगलाई सुहाउँदो पूर्वाधार नभएको, कुल उत्पादनमध्ये ६० प्रतिशत निर्यात गर्नेपर्ने कानुनी व्यवस्था, सेज प्राधिकरणमा पर्याप्त जनशक्तिको अभाव, तत्काल समस्या समाधानमा जटिलता, एकद्वार प्रणालीको व्यवस्था नहुनुलाई मुख्य समस्याका रूपमा अध्ययनले समेटेको छ ।
उद्योगीका लागि यो नयाँ समस्या भने होइन । दुई वर्षअघि नै ६ महिनाभित्र विद्युत् वितरण लाइन भैरहवा सेजभित्र पु¥याउने, सबस्टेसन निर्माण गर्ने भनिए पनि अहिलेसम्म त्यो काम हुनसकेको छैन । पर्याप्त विद्युत्को अभावमा धेरै ठूलो प्लान्ट र मेसिनरी स्थापना गर्न समस्या भइरहेको सेजभित्र सञ्चालनमा रहेको पञ्चकन्या म्यानुफ्याक्चरिङका खडानन्द चौधरीले बताउनुभयो ।
दोस्रोपटक सन् २०१४ मा सेजको उद्घाटन गरिए पनि उल्लेखित समस्या देखाउँदै कतिपय उद्योगीले लगानी फिर्ताको घोषणा गरिसकेका छन् । अध्ययनका अनुसार अहिलेसम्म पाँच उद्योगले लगानी फिर्ताको घोषणा गरिसकेका छन् भने विभिन्न १३ वटाले लगानी प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा जाने कुरा टुङ्गो लगाइसकेका छैनन् ।

समस्या अध्ययन गर्छौं
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सेजमा रहेका समस्या समाधान गर्न मन्त्रायले एउटा समूह नै बनाएर अध्ययनका लागि पठाउने जानकारी दिनुभयो । भैरहवा सेजको पूर्वाधारको अवस्थाका विषयमा बिहीबार आयोजित सोही कार्यक्रममा उहाँले सेज भएकै ठाउँमा गएर समस्या अध्ययन गरिने र त्यसअनुसार समाधानको काम अगाडि बढाइने बताउनुभयो । सरकारले सातै प्रदेशमा सेज सञ्चालन गर्ने लक्ष्य राखेकाले भैरहवा सेजमा देखिएका समस्या समाधान गरेर मात्र अगाडि बढिने उहाँले बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले सेज जुन उद्देश्यले स्थापना गरिएको त्यहीँ अनुसार सञ्चालनमा ल्याउन समस्या समाधानमा सरकार तयार रहेको भनाइ राख्नुभयो । मन्त्रालयअन्तर्गतका संस्थानलाई नाफामा लैजाने गरी सम्बन्धित संस्थानसँग रणनीतिक योजना माग गरिएको उहाँले बताउनुभयो ।
समुन्नतिका अध्यक्ष डा. शङ्कर शर्माले भैरहवा सेजका लागि गत वर्ष छुट्याइएको बजेट एक पैसा पनि खर्च नहुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । उद्योगमा कम्तीमा पनि पाँच मेगावाट वितरण लाइन आवश्यक रहेको उहाँको भनाइ थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?