logo
२०८१ मंसिर १० सोमवार



खाली हुँदै जुनार बगैँचा

अर्थ |


खाली हुँदै जुनार बगैँचा


सिन्धुली समाचारदाता

तीनकन्या (सिन्धुली), पुस २५ गते । गोलञ्जोर  गाउँपालिका–४, तीनकन्याका जुनार किसान लोकबहादुर आलेमगरको बगैँचामा यतिखेर जुनार सकिँदै गएको छ । उहाँले गत वर्ष फागुनसम्म जुनार बिक्री गरी आम्दानी लिनुभएको थियो । यतिखेर उहाँको बगैँचामा अब १० प्रतिशत मात्रै जुनार बिक्री गर्न बाँकी छ ।यो वर्ष असिना, रोग र कीराका कारण जुनार कम उत्पादन हुनुका साथै माग बढी भएकाले सिजन सकिनुअगावै जुनार बगैँचा रित्तिँदै गएको किसान आलेमगर बताउनुहुन्छ । उहाँले भन्नुभयो, बगैँचाबाटै ९० प्रतिशत जुनार बिक्री गरी सात लाख रुपियाँजति आम्दानी लिइसकेँ । बाँकी जुनार बिक्री गर्दा एक लाख रुपियाँजति आम्दानी होला ।
उहाँको बगैँचामा फल दिँदै गरेका ५५० बोट जुनार छन् । गत वर्ष फागुनको दोस्रो हप्तासम्म जुनार बिक्री गरेर नौ लाख रुपियाँ आम्दानी लिएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार गाउँमा निर्माण भएको कृषि सडकले किसानलाई जुनार बिक्री गर्न सजिलो भएको छ । व्यापारी बगैँचामा नै पुगेर प्रतिकेजी ६५ देखि ७० रुपियाँका दरले जुनार किन्छन् ।
जुनार किसानका अनुसार पहेँलपुर रहेको सिन्धुलीको महाभारत क्षेत्रको जुनार सकिँदै गएको छ । मङ्सिरदेखि जुनार पाकेर खानयोग्य हुने भए पनि चाडपर्वका कारण हरियोमा नै असोज महिनादेखि नै जुनार बजारमा ल्याएर बिक्री गर्नाले सिजनमा नै अभाव देखिएको हो ।
माग बढ्दै गए पनि जुनारको उत्पादन भने घट्दै गएको जुनार कृषक बताउँछन् । यो वर्ष असिना पानीसँगै फलमा औँसा कीरा, कालो ध्वाँसे रोग र फल चुस्ने पुतलीको प्रकोपले जुनार उत्पादन आधा घटेको गोलञ्जोर गाउँपालिका–६, नाकाझोलीका कृषक अर्जुन कोइराला बताउनुहुन्छ ।
उहाँले गत वर्ष जुनार बिक्री गरेर आठ लाख रुपियाँभन्दा बढी आम्दानी लिएकामा यो वर्ष आम्दानी आधा घट्ने बताउनुभयो । जुनार किसानले औँसा कीरा र कालो ध्वाँसे रोग झेलिरहेका बेला पछिल्लो समयमा आएर पुतलीको समस्या देखिएको उहाँले सुनाउनुभयो ।
मूल्य राम्रो आएकाले उत्पादन घटे पनि किसानलाई मन बुझाउने बाटो भएको उहाँले बताउनुभयो । जुनार कृषक आलेमगरका अनुसार विभिन्न रोगसँगै पहिले रोपेका बिरुवा बूढा भएर उत्पादन घटेको हो ।
बीपी राजमार्ग निर्माण भएपछि पूर्वी तराईसहित काठमाडौँलगायतका स्थानमा जुनार कोसेलीका रूपमा लाने क्रम बढेपछि सिजन सकिनुअघि नै बगैँचा रित्तिँदै गएको गोलञ्जोर गाउ“पालिका–५, रतनचुराका किसान निर्मल रम्तेलको अनुभव छ । उहाँले भन्नुभयो, सडकको पहु“च जुनार बगैँचासम्मै पुगेकाले बजारको अभाव छैन । कृषकले सोझै बोटबाटै महँगो मूल्यमा बिक्री गर्न थालेका छन् । बजारमा जुनार प्रतिकेजी एक सयदेखि १५० रुपिया“सम्म बिक्री ह“ुदै आएको छ ।
रोपेको जुनारको बिरुवाले तीन वर्षदेखि नै उत्पादन दिने र त्यो बिरुवा १० वर्षको पुग्दा वार्षिक आठदेखि दस हजार रुपियाँ बराबरको आम्दानी आउने उहाँले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जुनार सुपरजोनका अनुसार तीनकन्या, रतनचुरा, वाशेश्वर, जलकन्या, मझुवा, दुम्जा, भुवनेश्वरीलगायतका स्थानमा झण्डै आठ हजार किसान व्यावसायिक जुनार खेतीमा संलग्न छन् ।
जुनारमा फल कुहाउने औँसा पार्ने झिँगा, चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स प्रकोप देखिए पनि यस वर्षबाट ७० प्रतिशत जुनारमा उक्त कीराको प्रकोप न्यूनीकरण भएको सुपरजोनका प्रमुख देवराज अधिकारीले जानकारी दिनुभयो । जुनारमा भेटिएको कीरा नियन्त्रणोन्मुख छ, उहाँले भन्नुभयो, तर जुनारको दाना लाग्ने सिजनमा असिना परेकाले उत्पादनमा ह्रास आएको हो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?