प्रेमराज सिम्खडा
कालीकोट, पुस २६ गते । कालीकोट जिल्ला पलाँता गाउँपालिका वडा नं ९ का किसान तरकारी खेतीतर्फ आकर्षित भएका छन् । गाउँमा बिभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीको प्रवेश भएपछि परम्परागत गहँ, जौ, धान खेतीलाई बिस्तापित गदै किसान तरकारी खेतीमा आकर्षित हुन थालेका हुन् ।
तरकारी उत्पादन गर्दा हातैमा पैसा आउने भएपछि ६ महिनापछि पाक्ने खाद्य बाली छोडेको कृषक सरला बमले वताउनभुयो । उहाँले घरमा खानका लागि सानो शारीमा तरकारी खेती गरे पनि ब्यवसायिकरुपमा यस भन्दा अगाडि तरकारी खेती नगरेको सुनाउनुभयो ।
राज्य पुनर्संरचनाले गर्दा गाउँमा स्थानीय सरकार सञ्चालन भएपछि कर्मचारीको प्रवेश हुनु र सडक पुगेपछि मानिसहरुको चहलपल हुन थालेपछि तरकारीको माग वढ्दा तरकारी खेती सुरु गरेको बमको भनाइ छ ।
थिर्पुको धान उत्पादन हुने खेतमा हिउँदको समयमा गहुँवालीको बीचमा समेत तरकारी खेती गरिहेका छन् । स्थानीय पूर्णसिहं बमले वार्षिक ६० हजारमा भाडामा जग्गा लिएर तरकारी खेती गरिरहनुभएको छ । उहाँले भन्नुभयो, म कतार गएर तीन वर्ष बँसे । खासै जीवनमा प्रगति भएन । नेपालमा गएर खेती भए पनि गरेर बस्छु भन्ने सोच भयो । गाउँमा आउँदा अरु पेसा भन्दा मेरा लागि तरकारी खेती नै उत्तम छ सोचेर वार्षिक ६० हजार भाडामा जग्गा लिएर तरकारी खेती गरिरहेको छु ।
पहिलो पटकको तरकारी खेतीमा खासै धेरै फाइदा भएन । लगानी सबै भाडाको लागि मासिक १२ हजार छुटाएर घर खर्च मात्र चलेको छ । अव यो पटक लगाएको आलु, वन्दा, पालुंगो, भाजीले कति फाइदा हुन्छ त्यसको हिसाव निकाल्न नपाएको उहाँको भनाइ छ ।
उसो त गाउँपालिकाको कृषि बिकास शाखाले पनि तरकारी खेतीका लागि प्राबिधिक सहयोग गर्ने गरेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले वताउनुभयो । गाउँपालिका भित्रका नागरिकहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ बिभिन्न शाखावाट किसान लक्षित कार्यक्रम केन्द्रीत भएको उहाँले सुनाउनुभयो ।
नागरिकहरुको सीप, ज्ञान अनुसारको पेसा गर्नका लागि गाउँपालिकाले नागरिकलाई उत्साहित गरिरहेको छ । अध्यक्ष बमका अनुसार गाडी चलाउन जान्नेलाई रोजगारी दिनका लागि गाउँपालिकाले आफ्नै यातायात सञ्चालन गर्ने योजनादेखि तरकारी खेतीका लागि बीऊ, औजार, तालिम दिने गरेको र घर वनाउने ब्लक निर्माणलगायतका प्रत्यक्ष आम्दानी हुने काममा सहयोग पनि गरेको छ ।