logo
२०८१ मंसिर १० सोमवार



प्रदेश २ मा बीसभन्दा बढी राष्ट्रिय योजना

अर्थ |


प्रदेश २ मा बीसभन्दा बढी राष्ट्रिय योजना


महोत्तरी समाचारदाता

जलेश्वर, पुस २७ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेश २ को विकास र समृद्धि सङ्घीय सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।
महोत्तरी जिल्लाको बर्दिबासमा शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश २ ले आयोजना गरेको प्रदेश समन्वय बैठकमा प्रमुख अतिथिका रूपमा बोल्नुहुँदै अर्थमन्त्री खतिवडाले त्यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय योजनामध्ये २० भन्दा बढी यस प्रदेशको योजना रहेको जानकारी दिनुहुँदै यी योजना सम्पन्न भएपछि प्रदेश २ को कायापलट हुने दाबी पनि गर्नुभयो । पूर्व–पश्चिम रेल, पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति, राजमार्गदेखि सदरमुकाम जोड्ने सडक निर्माण, हुलाकी सडक, सिँचाइ र विद्युत् योजना मुख्य रूपमा यो प्रदेशको योजनामा रहेको जानकारी दिनुभयो ।
यो प्रदेशमा सिँचाइ र विद्युत्को आवश्यकतालाई पूर्ति गर्न सुनकोसी मरिन डाइभर्सन तथा कमला सुनकोसी डाइभर्सनको काम सुरु भइसकेको बताउनुहुँदै अर्थमन्त्री खतिवडाले यी डाइभर्सनबाट प्रदेश २ को सिँचाइ र विद्युत्को समस्या समाधान
हुने बताउनुभयो ।
सुनकोसी मरिन डाइभर्सनको लागि अढाइ अर्ब रुपियाँ विनियोजन गरिएको र यसले सर्लाही, रौतहट, बारा, पर्सामा यसबाट सिँचाइ र विद्युत् पुग्ने उहाँको भनाइ थियो । त्यसैगरी ढल्केवर मुजफरपुर प्रसारण लाइनमा अपर तामाकोसी सम्पन्न भएपछि जोडिने हँुदा प्रदेश २ मा बिजुलीको समेत कुनै सङ्कट नहुने उहाँले जानकारी दिनुभयो ।
नीति निर्माणअनुसार काम नगरेका कारणले देशमा भ्रष्टाचार बढेको बताउनुहुँदै उहाँले भ्रष्टाचार निवारणको लागि सबै नगरपालिका र गाउँपालिकाले एक भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनप्रसाद घिमिरेले आर्थिक कार्यविधि राम्रोसँग प्रयोगमा नआएको कारणले भ्रष्टाचार बढाएको बताउनुभयो । उहाँले प्रदेश २ मा भ्रष्टाचारका बढी गुनासा आउने गरेको बताउनुहुँदै पालिकालाई सुशासनका लागि आर्थिक कार्यविधिअनुसार काम गर्न निर्देशन दिनुभयो ।
त्यसैगरी सोही कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँंडेलले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा प्रदेश २ कमजोर रहेको बताउनुहुँदै राष्ट्रिय योजना आयोगले सहयोग गर्न आवश्यक कदम चालेको जानकारी दिनुभयो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको मुख्य योजनामा बेटी पढाउँ बेटी बचाउँ अभियान रहेको बताउनुहुँदै यो अभियानलाई सफल बनाउन सबै पालिकालाई आग्रह गर्नुभएको थियो । उहाँले भ्रष्टाचारमुक्त प्रदेश बनाउन प्रदेश सरकार लागिपरेको बताउनुहँुदै उहाँले यसमा सबैको सहयोग र समन्वय रहे भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
आइतबारसम्म चल्ने सो कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव, पदाधिकारी, सबै पालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत तथा प्रदेशको नीति आयोगका पदाधिकारीको सहभागिता रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?