logo
२०८१ मंसिर १० सोमवार



नेपालगञ्ज विमानस्थल द्रुत गतिमा काम हुँदै

अर्थ |


नेपालगञ्ज विमानस्थल द्रुत गतिमा काम हुँदै


सिराज खान

नेपालगञ्ज, पुस २८ गते । नेपालगञ्ज विमानस्थललाई सुविधासम्पन्न हुने गरी स्तरोन्नति गर्न तयार पारिएको गुरुयोजनाअनुसार पहिलो चरणको काममा तीव्रता भइरहेको छ ।
विमानस्थलको गुरुयोजनाअनुसार हाल आएर विमानस्थलको एप्रोन (पार्किङ) र धावनमार्ग विस्तारको कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बताउनुभयो ।
यात्रुको चाप दिनदिनै बढ्दै गएकाले विमानस्थलको विस्तारमा विशेष ध्यान दिइएको जनाउँदै उहाँले एप्रोन र धावनमार्ग सानो भएकाले विमान पार्किङ र उडानमा सचेतना अपनाउनुपर्ने बाध्यता रहेकाले दुवै कामलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
पछिल्लो समयमा आएर उडानमा वृद्धि हुँदा आउने जाने विमानको पनि सङ्ख्या बढ्दै गएकाले एप्रोन विस्तार अनिवार्य भएकोले ३२० मिटर लामो र ६० मिटर चौडा एप्रोनको निर्माण अन्तिम चरणमा पुगेको ठाकुरले बताउनुभयो । २८ करोड रुपियाँको लागतमा निर्माण भइरहेको सो एप्रोनको निर्माण कार्य आगामी चैत मसान्तमा पूरा हुनेसमेत उहाँले बताउनुभयो । यसैगरी अर्को अति आवश्यक कार्य धावनमार्ग विस्तारको काम भर्खरै सुरु गरिएको जनाउँदै नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रमुख ठाकुरले पश्चिमतर्फ २०० मिटर धावनमार्ग विस्तारको काम अगाडि बढेको बताउनुभयो । उहाँले अहिले एक हजार ५०५ मिटर धावनमार्ग रहेकाले हाल उडान भर्दै आएका ठूला विमानलाई उडान भर्न अझै सहज बनाउने उदेश्यले दुई सय मिटर थप गरेर धावनमार्गलाई एक हजार ७०५ मिटरको बनाइने बताउनुभयो ।
आठ करोड रुपियाँको लागतमा भइरहेको धावनमार्ग विस्तारको काम एक वर्षभित्र सम्पन्न गरिने नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जले जनाएको छ ।
सो कार्यालयले धावनमार्ग विस्तार सबैभन्दा आवश्यक रहेको जनाउँदै त्यसका लागि घाँस र साना रुख बिरुवाहरू उखेल्ने काम सुरु गरिसकिएको जनाएको छ ।
सोही प्रकारले गुरुयोजनाबमोजिम विमानस्थलमा निर्माण गरिने अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको डिजाइन पनि तयार भइरहेको छ । एक अर्ब रुपियाँको लागतमा निर्माण गरिने सो टर्मिनल भवनको डिजाइनको काम पनि अन्तिम चरणमा पुगेको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रमुख ठाकुरले बताउनुभयो ।
गुरुयोजनाअनुसार विमानस्थललाई समग्र रूपमा विस्तार गर्नका लागि करिब सय बिघा जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले सोको पनि लागत इस्टिमेट र मुआब्जाको विवरण केन्द्रमा तयार भइरहेको उहाँले बताउनुभयो ।
नेपालगञ्ज विमानस्थलबाट हाल आएर दैनिक एक हजार २०० देखि एक हजार ३०० यात्रुको आवागमन भइरहेको र त्यसका लागि दैनिक २५ देखि ३० वटासम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जले जनाएको छ ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?