logo
२०८१ मंसिर ११ मंगलवार



पहिले गहुँ अहिले आलु

अर्थ |


पहिले गहुँ अहिले आलु


डडेल्धुरा समाचारदाता

डडेल्धुरा, माघ २ गते । अमरगढी नगरपालिकाभित्रका स्थायी बासिन्दा मानबहादुर बोहराले विगतका वर्षमा बाबुबाजेले अँगालेको कृषि पेसा अँगाल्दै आउनुभयो । कृषि पेसामा पनि धान र गहुँखेतीलाई निरन्तरता दिँदै आउनुभएको थियो ।
सानो परिवारलाई खान पुग्ने गरी आफूसँग उपलब्ध जमिनमा अन्नबाली लगाउने बोहरा थोरै मात्रै आलु लगाउनुहुन्थ्यो । परिवारको सङ्ख्या बढ्दै गएपछि खान पनि नपुग्ने भो । वर्षांैदेखि परम्परागत खेतीमा सीमित उहाँ पछिल्लो समय व्यावसायिक आलुखेतीतर्फ आकर्षित हुँदै आउनुभएको छ । घरको आर्थिक अवस्था कमजोर भएकैले उहाँले वैदेशिक रोजगारीका लागि मलेसियासम्मको पनि अनुभव बटुल्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, विदेशमा गएर ४५ डिग्रीको गर्मीमा पसिना चुहाएर पैसा कमाउनुभन्दा घरमै व्यवसाय गरेर परिवार पाल्न सजिलो लाग्यो र आलुखेतीतर्फ लागेँ, अहिले परिवार पाल्न सहज भएको छ । छ महिना पनि खान नपुग्ने खेती गहुँ, धान लगाउँदै आउनुभएका बोहराको आकर्षण आलुखेती बनेको छ । गाउँका दाजुभाइले आलुखेतीबाट राम्रो आम्दानी गरेका छन्, मैले पनि छोटो समयमा राम्रै आम्दानी लिइरहेको छु ।
बोहरा भन्नुहुन्छ, करिब १० रोपनी जमिनमा यो वर्षदेखि आलुखेती गरेको छु । पहिले हामी खेतमा यो सिजनमा गहुँ र बर्खा सिजनमा धान खेती गर्थौं । अहिले मुनाफा हुने खेती भनेर आलुखेती सुरु गरेका छौँ । बोहरा भन्नुहुन्छ– बोट देखरै पैसा फल्छ कि भन्ने लागेको छ । अमरगढी नगरपालिका–११ को फिन्नेकोट गाउँमा ९० परिवारले आलुखेती गर्दै आइरहेका छन् । जिल्ला सदरमुकामबाट १० किलोमिटरको दूरीमा रहेको यहाँका किसान पछिल्लो समय परम्परागत खेती छोडेर आलुखेतीतर्फ आकर्षित भएका हुन् ।
डडेल्धुरामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन एकाइ लागू भएपछि कृषक व्यावसायिक आलुखेतीमा लागेका कुरा अमरगढी नगरपालिका–११ का वडा अध्यक्ष सूर्यप्रकाश खड्काले बताउनुभयो । खड्का भन्नुहुन्छ, आलुखेतीको उत्पादन राम्रो हुने देखेपछि वडाबाट तीन लाख ९० हजार रकम विनियोजन गरी किसानलाई डेढ सय क्विन्टल आलुको बीउ वितरण गरिएको हो ।
लगानीको ३८ प्रतिशत रकम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन एकाइ डडेल्धुराले बेहोरेकोे वडा अध्यक्ष खड्काले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?