पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भीष्मराज ढुङ्गाना अध्यक्ष नियुक्त हुनुभएको छ । सानो अर्थतन्त्र रहेको नेपालको पुँजी बजार त्यति परिपक्व भइसकेको छैन । पुँजी बजारको सिद्धान्त र नियमभन्दा पनि लहडबाजीका असर यसमा देखिने गरेको छ । यस्तो अवस्थामा अध्यक्ष बन्नुभएका ढुङ्गाना यी सबै कुराका जानकार हुनुहुन्छ । उहाँले यसअघि पनि बोर्डमा विज्ञ सदस्यका रूपमा कार्य गरिसक्नुभएको छ । प्रस्तुत छ, नवनियुक्त अध्यक्ष ढुङ्गानासँग पुँजी बजार, कमोडिटी मार्केटका चुनौती, समस्या र समाधानका उपाय तथा आगामी योजनाबारे गोरखापत्र दैनिकका राधा चालिसेले गर्नुभएको अर्थवार्ता :
तपाईं धितोपत्र बोर्डमा यसअघि पनि विज्ञ सदस्य हुनुहुन्थ्यो । अहिले अध्यक्ष हुनुभएको छ । पुँजी बजारको वर्तमान अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
नेपालको पुँजी बजार बढ्दो छ तर यस अवस्थाबाट यसलाई माथि उकास्न धेरै काम गर्नु आवश्यक छ । अहिलेको पुँजी बजारमा स्थायित्व छैन । अहिले भएको वृद्धि सामान्य वृद्धि मात्र हो । यसलाई स्थायी प्रकृतिको बनाउन जरुरी छ । त्यसका लागि बजारको उपकरण पनि पर्याप्त र भरपर्दो हुनुपर्छ र प्रणाली एवं प्रविधि सुदृढ गर्दै जानुुपर्छ ।
त्यसका लागि तपाईंका योजना के के छन् ?
हो, मैले अध्यक्षको पदभार सम्हालेदेखि नै छवटा विषयलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको छु । पहिलो, पुँजी बजारमा स्थायित्व ल्याउनु जरुरी छ । यसमा व्यक्तिगतभन्दा संस्थागत लगानी बढाउने वातावरण बनाउन सकेमा स्थायित्व आउनसक्छ । दोस्रो, त्यसका लागि पुँजी बजारमा व्यावसायिकता अभिवृद्धि गरिनुपर्छ । अहिले पुँजी बजारमा आकाशे खेतीजस्तो मात्र भएको छ । पुँजी बजारमा प्रवेश गर्न चाहनेका लागि यो क्षेत्र पनि भविष्य राम्रो छ है भन्ने बनाउनुपर्छ । तेस्रो, यस बजारको दायरा बढाउनु अत्यन्तै जरुरी छ । त्यसका लागि अहिलेका डिबेन्चर वा म्युचुअल फन्डबाहेक अन्य उपकरणको पनि खोजी गर्नुपर्ने हुन्छ । डेरिभेटिभहरू थपिँदै जानुपर्छ । चौथो पक्ष भनेको यस क्षेत्रमा सूचना प्रविधि र आईएमएस प्रणालीलाई भरपर्दो र सबैको पहुँचमा पु¥याउन सकेमा गाउँका कुनाकाप्चादेखि विदेशमा बस्नेसमेत यसमा सजिलै सहभागी हुन सक्छन् । अझै पनि हाम्रो अनलाइन प्रणाली पूर्ण रूपमा प्रयोग हुन सकिरहेको छैन । मैले त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको छु । पाँचाँै, कर्पोरेट सुशासनको परिपालनामा कडाइका साथ गराउनुपर्छ । इन्साइडर ट्रेडिङ र डिस्क्लोजरहरूलाई थप व्यवस्थित गर्नु जरुरी छ । अन्तिम कुरा भनेको हाल प्रचलनमा रहेका कानुनलाई आवश्यकता अनुसार समयसापेक्ष सुधार गर्ने र केही बनाउन बाँकी ऐन नियम बनाउँदै जानु हो । यी विषयका साथै धितोपत्र सेक्युरिटी बोर्डको अहिलेसम्म आफ्नो भवन छैन । मेरो कार्यकालमा यसको आफ्नै भवन निर्माणका लागि पनि पहल गर्ने छु ।
विगतमा १८०० बिन्दुसम्म पुगेको सेयर बजार अहिले मुस्किलले १३०० बिन्दुमा पुगेको छ । सरकार वा नियामकप्रति लगानीकर्ताको अविश्वासका कारणले यस्तो भएको हो वा अन्य कुनै कारण देख्नुहुन्छ ?
नेपालको अहिलेको पुँजी बजार अस्थिर भयो । यसले लगानी उठ्ला कि नउठ्ला भनेर लगानीकर्तालाई भयभित र चिन्तित बनाउँछ । सेयर किनेपछि धैर्य गर्नेभन्दा पनि बेच्न हतारिने अवस्था छ । कोही व्यक्ति कुनै पदमा रहनु वा नरहनुले पुँजी बजार प्रभावित हुनुहुँदैन । यसका केही आधारभूत सिद्धान्त हुन्छन् । त्यसका आधारमा चल्नुपर्छ तर त्यस्तो हुन सकिरहेको छैन । हाम्रोमा व्यक्तिगत लगानीकर्ता धेरै भएका कारण पनि यस्तो अवस्था सिर्जना भएको हो । संस्थागत लगानीकर्ता बढी भएमा यस्तो अवस्था आउँदैन । बजार अङ्ग्रेजी अक्षर डब्लुको स्वरूपमा हुनुपर्छ । त्यसका लागि संरचनामा नै परिवर्तन आवश्यक देखिन्छ ।
पछिल्लो समय बजारमा कुनै पनि कम्पनीको साधारण सेयर खुला गर्दा न्यूनतम १० कित्ता दिने व्यवस्थाले भीड मात्र थुप्रियो भन्ने अवस्था पछि छ नि ?
हो पहिल्लो समयमा यस्तो देखिएको छ । जम्मा १० कित्ता सेयर लिएर कसैले लगानी नै त बढाउने अवस्था होइन तर बढीभन्दा बढी मानिसलाई सेयर लगानीमा साक्षर बनाउन यो अभियान पनि ठिक छ । यसले गर्दा गोजीमा एक हजार मात्र हुनेले पनि अनुत्पादक क्षेत्रमा खर्च गर्नुभन्दा केही उत्पादक क्षेत्रमा लगानी गरेको राम्रै मान्नुपर्छ । यसै कारण अहिले बजारमा १६ लाखभन्दा बढी लगानीकर्ता देखिएका छन् । आगामी दिनमा यसलाई फरक एङ्गलबाट पनि अगाडि बढाउन सकिन्छ ।
पुँजी बजारको स्वतन्त्र क्रेडिट रेटिङका लागि पनि कुनै योजना बनाउनुभएको छ कि ?
अहिले अधिकांश लगानीकर्तामा बजारको विश्लेषण गर्ने क्षमता र सीपको विकास भइसकेको छैन । त्यस्तो अवस्थाका कुन कम्पनीको वित्तीय अवस्था के छ ? त्यसमा लगानी गर्दा कति बढी वा कम जोखिम छ ? भन्ने रेटिङका लागि अहिले बजारमा दुईवटा कम्पनी छन् । ५० करोडभन्दा बढीको ऋणका लागि धितोपत्र बोर्ड आफैँले पनि गरिरहेको छ । अहिलेलाई यो पर्याप्त देखिएको छ । आवश्यक परे भोलिका दिनमा थप्न पनि सकिन्छ । लगानीकर्ताको साक्षरता अभिवृद्धिका लागि बोर्डले पनि महिनामा दुईवटा कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
बोर्डले केही दिनअघि सार्वजनिक गरेको प्रगति विवरणमा चालू आवको पहिलो छ महिनामा आईपीओ खासै जारी हुन सकेको देखिएन, किन होला ?
आईपीओका लागि निवेदन कम परे पनि यस अवधिमा डिबेन्चरको मात्रा केही बढेको छ । बोनस र राइट सेयरका लागि पनि आवेदन बढेको छ ।
पछिल्लो समय जलविद्युत् क्षेत्रको सेयरको अवस्था निकै निराशाजनक देखिएको छ । यस क्षेत्रमा ठूलो लगानी रहेकाले यसको सामान्य उथलपुथलले पनि वित्तीय क्षेत्रमा सङ्कट आउने विश्लेषण गरिँदै छ । यसमा सुधार गर्न कुनै योजना बनाउँदै हुनुहुन्छ ?
हो, पछिल्लो समय जलविद्युत् विकास गर्ने कम्पनीका सेयरमा केही समस्या देखिएका छन् । कम्पनीहरूले पनि केही बदमासी गरेका छन् । जलविद्युत् परियोजनाको व्यवस्थापनमा समस्या छ, हरहिसाब पारदर्शी छैन । लगानीकर्ताले समयमा प्रतिफल पाउनसक्ने कुनै ग्यारेन्टी दिन सकेका छैनन् । कुनै पनि परियोजना लागि आवश्यकताभन्दा बढी मूल्य देखाउने गरिएको छ । यन्त्र उपकरण खरिदमा पारदर्शिता नहुने अवस्था देखिएको छ । न परियोजना तोकिएको समयमा सकिन्छ र न त भनेको लागतमा नै आयोजना पूरा हुन्छ । यी विविध समस्याका कारण यस क्षेत्रमा लगानीकर्ताको दृष्टिकोण नै परिवर्तन भएको छ । यसको समाधानका लागि विद्युत् नियमन आयोग बनिसकेको छ । सोही आयोगमार्फत विद्युत् क्षेत्रको लगानीमा लगानीकर्ताको विश्वास कायम राखिराख्न के कस्ता सुधार आवश्यक छ भन्ने विषयमा छलफल भइरहेको छ ।
पहिलो बजारमा जस्तो दोस्रो बजारमा लगानीकर्ताको आकर्षण किन नदेखिएको होला ?
पहिलो बजारमा प्रतिकित्ता एक सय रुपियाँमा फ्रेस मूल्यमा सेयर पाइन्छ । दोस्रो बजार केही महँगो हुन्छ नै । त्यसमा लगानी गरेपछि फाइदा नै हुन्छ भन्ने ग्यारेन्टी त रहँदैन । लगानीकर्ता बढी जोखिम मोल्न तयार नहुँदा यस्तो भएको हो । फेरि हाम्रा लगानीकर्तामा बजार विश्लेषणको सीप र क्षमताको कमी छ । जोखिम कम लिन चाहने लगानीकर्ताका लागि डिबेन्चर वा म्युचुअल फन्डका क्षेत्र छन् । पुँजी बजारबारे जति बढी ज्ञान हुन्छ त्यति नै दोस्रो बजारमा लगानीकर्ता झुम्मिने अवस्था आउँछ ।
वाणिज्य बैङ्कहरूलाई पनि ब्रोकर लाइसेन्स दिने भन्ने विषयमा के भइरहेको छ ?
यो विषय एकपटक उठेको हो तर अहिले यो च्याप्टर नै क्लोज भइसकेको छ । बैङ्कहरूले होइन सब्सिडरी कम्पनी खोलेर गर्नेसक्ने विषयमा अध्ययन भइरहेको छ । मर्चेन्ट बैङ्कजस्तो धितोपत्र व्यवसायी आएमा ब्रोकर वा ब्रोकर डिलर र अन्डरराइटरसम्मका लागि उपयुक्त नीति बनाएर दिन सकिने विषयमा छलफल भइरहेको छ ।
नेपालबाहिर बस्नेले पनि नेपाली सेयर बजारमा सेयर किनबेच गर्नसक्ने अवस्थाको सिर्जना कहिलेसम्म होला ?
हाम्रो अनलाइन सिस्टम भर्खर सुरु हुँदै छ । यसलाई फुलफ्लेजमा लैजान सकेमा जहाँसुकैबाट पनि कारोबार हुनसक्छ । बैङ्क एकाउन्ट, डिम्याट एकाउन्टसँग इन्टिग्रेट र रिअल टाइममा सेटलमेन्ट गराउन सके स्वदेश वा विदेश भनिरहनु नै पर्दैन जहाँसुकैबाट पनि पुँजी बजारमा लगानी गर्न सकिन्छ । लागत र प्रतिफलको मूल्याङ्कनका आधारमा त्यसलाई अगाडि बढाउनुपर्ने हुन्छ । त्यसका लागि नेप्से र ब्रोकरको सीडीएसलगायतका सरोकारवालाको क्षमता अभिवृद्धि गर्दै जानु जरुरी हुन्छ । यसका लागि केही समय लाग्ला ।
अहिले बजारमा आइरहेको म्युचुअल फन्ड अनुत्पादक क्षेत्रमा थन्किएको भन्ने विश्लेषण पनि पाइन्छ ? पछिल्ला समयमा जारी भएका म्युचुअल फन्डमा आकर्षण देखिँदैन, किन होला ?
जोखिम कम वहन गर्न चाहने लगानीकर्ता म्युचुअल फन्डमा लगानी गर्छन् । यो डाइभर्सिफाइड योजना पनि हो । बजारको गहिरो विश्लेषण गरेर लगानी गर्न नसक्नेका लागि ल्याइएको पुँजी बजारका यन्त्र हो यो । जोखिम कम वहन गर्न चाहने लगानीकर्ताका चाहना, अपेक्षाका आधारमा यस्ता फन्ड ल्याइएका हुन् । त्यसले केही लगानीकर्ताका चाहना पूरा गरिरहेका छन् । अझै यस्ता सेक्टरल इन्डेक्समा आधारित भएर पेन्सन स्किमजस्ता थप उपकरण पनि ल्याउँदै यसको दायरालाई फराकिलो बनाउनुपर्छ ।
सेयर लाभांशमा दोहोर करको गुनासो अन्त्यका लागि कस्तो पहल गर्दै हुनुहुन्छ ?
लाभांशमा दोहोर कर छैन । यस्तो कर व्यक्तिगत लगानीकर्तालाई छैन । इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा छ । त्यसलाई पनि स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएको छ ।
धितोपत्र बोर्ड कानुनी रूपमा कतिको स्वनिर्णय गर्नसक्ने अवस्थामा छ ?
यो बोर्ड स्वायत्त संस्था हो । यसले लिने निर्णय यसको सञ्चालक समितिले नै गर्छ । नयाँ ऐन, नियम, नियमावली बनाउँदा मन्त्रालयसँग गर्नुपर्ने काम र लिनुपर्ने राय सुझाव र सहयोग त लिई नै हाल्छ । बोर्ड र मन्त्रालयको सम्बन्ध निकै सौहाद्रपूर्ण छ ।
कमोडिटी मार्केट ज्यादै सीमित छ ? यसको दायरा बढाउने कुनै योजना बनाउनुभएको छ ?
अहिलेसम्म कुनै कमोडिटी मार्केटलाई इजाजतपत्र प्रदान गरिएको छैन । बोर्डमा छवटा कम्पनीले इजाजतका लागि आवेदन दिएका छन् । ती कम्पनीबारे सूक्ष्म अध्ययन र विश्लषण गरिँदै छ । इजाजत दिएपछि ब्रोकर एक्सचेन्ज, वायर हाउस, ग्रेडिङ क्लियरिङ सिस्टम आदि पनि बनाउनुपर्छ । त्यसैले अहिले प्रोसेसिङमा नै छ । अझै केही समय लाग्ला ।
बोर्डमा जनशक्ति र प्रविधिको अवस्था कस्तो छ ?
अहिलेको हिसाबले जनशक्ति कम होइन । अब गर्नुपर्ने काम धेरै छन् । थुप्रै चुनौतीको समाधान गर्नुपर्ने भएकाले प्रविधियुक्त जनशक्ति थप गर्नुपर्ने हुन्छ । आवश्यकता अनुसार गर्दै जान्छौँ ।
बोर्डका सदस्य एवं कमचारीहरूको आचारसंहिता पालन नभएको गुनासो पनि सुनिन्छ । त्यसलाई कसरी सुधार गर्नुहुन्छ ?
कहिलेकाहीँ यस्ता गुनासा आएको सुनिन्छ । त्यसलाई रोक्न भित्री कारोबार निधेष नियमावली बन्दै छ । आचारसंहितामा कडाइ र कर्पोरेट गभर्नेन्स बढाउँदै जानुपर्छ । ती सबै नियन्त्रण हुन्छन् ।
धेरैजसो ब्रोकर आफैँमा लगानीकर्ता पनि भएको पाइन्छ । यस्तो अवस्थामा ब्रोकर र लगानीकर्ता कसरी छुट्याउने ? बोर्डको कुनै योजना छ ?
ब्रोकर आफैँ लगानीकर्ता हुन पाउँछ । अन्य राष्ट्र पनि यस्तो प्राक्टिस पाइन्छ । ब्रोकर डिलर हुन पाउँछ । अन्डरराइटर पनि हुन पाउँछ तर कारोबार आफ्नै पैसाबाट गर्नुप¥यो । त्यसलाई पनि के कति अधिकार हुने भन्ने विषयमा स्पष्ट पार्नु जरुरी छ ।
तपाईंको कार्यकालमा यो क्षेत्रलाई कुन तहसम्म पु¥याउनुहुन्छ ?
पुँजी बजार चार वर्षमा अहिलेको स्तरबाट धेरै माथि पुगेको हुने छ । सूचना प्रविधियुक्त बजार विस्तार भएको र संस्थाको गरिमा बढेको हुने छ । लगानीकर्ताको विश्वास बढेको अवस्थामा पाउनुहुने छ ।