logo
२०८१ मंसिर ११ मंगलवार



सातैदिन राजविराजबाट उडान सेवा

अर्थ |


सातैदिन राजविराजबाट उडान सेवा


देवराम प्रसाद यादव
सप्तरी माघ ५ गते । आगामी माघ १८ गते देखि बुद्घ एयरले राजविराजमा पनि उडान सेवा सञ्चालन गर्ने भएको छ । राजविराज विमानस्थलबाट श्री एयरलाईन्सले साताको ३ दिन मात्र उडान सेवा दिंदै आएकोमा बुद्घ एयरले भने साताका सबै दिन एक–एक वटा उडान गर्ने भएको हो ।
शुरुमा साताको पाँचदिन उडान भर्दै आएको श्री एयरलाईन्सले दुईदिन कटौती गरी सोमबार, बुधबार र शुक्रबार गरी तीनदिन मात्र उडान सेवा दिदै आएको छ । त्यसमा पनि विभिन्न कारण देखाई श्रीएयरलाईन्सले पटक–पटक उडान रद्द गर्दा निरास बनेका स्थानियबासी बुद्घ एयरले सातैदिन उडान सेवा दिने भएपछि उत्साहित भएका छन् ।
नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले भने, अब सातै दिन राजविराज विमानस्थलबाट उडान सेवा संचालन हुने खबरले सप्तरीबासी मात्र नभई सगरमाथा अञ्चलबासीलाई नै उत्साहित बनाएको बताउनुभयो ।
सातै दिन उडान सेवा संचालनले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत यो निर्णयले टेवा पुर्याउने उहाँको भनाइ छ ।
राजविराज नागरिक उड्डयन कार्यालयका वरिष्ठ अधिकृत दुुर्गामनी चौधरीका अनुसार माघ १८ गते देखि नियमित उडानका लागि आवश्यक सबै तयारी पूरा भई टिकट विक्री काउण्टर समेत संचालनमा आईसकेको बताउनुभयो ।
शुरुमा ४९ सिट भएको बुद्घ एयरको विमान दैनिक विहान १२ बजेर १० मिनेटमा काठमाडौंका लागि उडान भर्ने र काठमाडौंबाट ११ बजेर २० मिनेटमा राजविराजका लागि उडान भर्ने समय तालिका निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।
यात्रुको चाप बढे ७२ सिट भएको बुद्घ एयरको विमानले सेवा दिने तयारी समेत रहेको उहाँको भनाइ छ । हाल राजविराज–काठमाडौं रुटका लागि न्युनतम भाडा तीनहजार छसय निर्धारण गरिएको तथा भविष्यमा थपघट गर्ने बिमान कम्पनीको योजना रहेको उहाँले जानकारी दिनुभयो ।
‘सप्तरी, सिरहा, उदयपुर र भारतीय यात्रीलाई सहज हुने हिसावले यसअघि श्री एयरलाईन्सले सेवा दिंदै आए पनि साताको तीन दिन मात्र उडान सेवा उपलब्ध हुँदा समस्या हुने गरेकोमा अब बुद्घ एयरले सातै दिन सेवा दिने खबरले हामी निकै उत्साहित र खुशी छौं, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले भन्नुभयो ।
यसले जिल्लाको विकासमा समेत सकारात्मक परिवर्तन ल्याउने उहाँको भनाइ छ । तर सातै दिन उडान सेवा संचालन हुने भनिए पनि कुनै पनि बहानामा उडान कटौती गर्न नहुने तथा नियमित उडान हुनुपर्ने उहाँको सुझाव पनि छ ।
वि.स. २०१६ सालमा तत्कालिन मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन भएको राजविराज विमान स्थल कच्ची धावनमार्गका कारण पटक–पटक संचालनमा आउने र बन्द हुने नियति भोग्दै आएको थियो । तर पच्छिलो पटक कच्ची तथा अन्य भौतिक पूर्वाधार निर्माण सम्पन्न भएपछि गत २०७५ साल अषाढ १० गतेदेखि श्री एयरलाईन्सले उडान सेवा शुरु गरेको थियो ।
राजविराज विमानस्थल सप्तरीको मात्र नभई सुनसरी, उदयपुरका साथै सिमावर्ती भारतीय क्षेत्रका यात्रुहरुको लागि समेत सहज र महत्वपूर्ण भएकोले अब कुनै पनि बहानामा उडान कटौती नगरी नियमित उडान सेवा दिन सकिए मात्र विकास र विश्वसनीयता सुनिश्चित हुने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?