logo
२०८१ मंसिर ११ मंगलवार



बादर आतङ्क : अन्नबाली उत्पादन नभएपछि बसाइँ सराइ

अर्थ |


बादर आतङ्क : अन्नबाली उत्पादन नभएपछि बसाइँ सराइ



तारा चापागाईं दुवे

कास्की, माघ ८ गते । बाँदर आतङ्कले अन्नबाली नोक्सानी हुने गरेको कुरा नौलो होइन तर कास्कीको मादी गाउँपालिकाका बासिन्दा बाँदर आतङ्कका कारण बसाँइ सर्न बाध्य भएको अवस्था सिर्जना भएको छ ।
गाउँको बीचमा भएकोे खेती मात्र जोगिन्छ, अन्य स्थानको खेती जोगाउन नसकेर हैरान परिसक्यौँ, अब त बसाइँ सराइ गर्नुबाहेक विकल्प छैन् । सो गाउँपालिकाको वडा नम्बर १२ मा चार सय घरधुरी रहेकोमा पाँच प्रतिशत बासिन्दाले मात्र खेती जोगाउन सकेको उहाँको भनाइ छ । घरमा भित्र रहेको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमै भित्रै पसेरसमेत खान थालेपछि स्थानीय प्रकाश दाहाल बसाइ सरेर तराई जानुभएको छ । बाँदर आतङ्कले गर्दा उत्पादन गर्न नपाएपछि बाँच्ने विकल्प नभएपछि दाहाल बसाइँ सराइ सर्न बाध्य भएको पीडा उहाँले पोख्नुभयो ।
उत्पादन गर्न खोज्यो, फूल लाग्दै गर्दा बाँदरले बोट उखाल्न थाल्छन् अनि कसरी उत्पादन हुन्छ ? मादी गाउँपालिका–१२ का वडा अध्यक्ष चित्रबहादुर गुरुङले भन्नुभयो, बाँदरका कारण ५०० रोपनी जग्गा बाँझो भइरहेको छ । कानुनले बाँदर मार्न पाइँदैन, बाँदरले हामीलाई बाँच्न दिएन । अब सबै गाउँले मिलेर हेरालु राख्ने अभियान चलाउने सोच बनाएका छौँ ।
उहाँले अगाडि भन्नुभयो, बाँदरले नखाने भनेको जमिनमुनिको अदुवा र हलेदो हो । सबैले त्यही बाली लगाउन पनि सकिँदैन । अन्न नलगाएर के खाने ?
कफीमा बाँदरले अतिक्रमण गर्न नसक्ने थाहा पाएको भए पनि कफी खेतीतर्फ भने यहाँका किसानले त्यति ध्यान दिन सकेका छैनन् न त स्थानीय सरकारले खासै पहल गरेको देखिन्छ । खेतीपातीबाट उत्पादन गर्न नपाउनु वा कम हुँदै जानुलगायतका कारणले यहाँका बासिन्दा बसाइँ सराइसँगै विदेश पलाएन पनि हुने गरेका छन् ।
मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले भने गाउँमा मानिसको जनघनत्व घटेका कारण बाँदरले सताएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, हिजो गाउँभरि मानिस थिए, बाँदर थिएनन् । आज गाउँ खाली हुँदै छ, बाँदरको सङ्ख्या वृद्धि भएको छ र अन्नबाली बचाउनै मुस्किल भएको छ ।
बाँदरका कारण कास्कीको अर्को गाउँपालिका अन्नपूर्णमा पनि समस्या त्यस्तै छ । बादर आतङ्क राज्यकै समस्या बनेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरको भनाइ छ । वनजङ्गलमा खानेकुरा नपाएपछि बाँदर बस्ती पस्न सुरु गरेको र घरभित्र पसेर खानेकुरा खाने गरेको गुनासो गर्दै कुँवरले युवा सहर पस्ने, वैदेशिक रोजगारमा जाने भएकाले यस्तो समस्या आएको बताउनुभयो । रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आफ्नो क्षेत्रमा बाँदर प्रतिस्थापन गर्ने भन्दै १० लाख रुपियाँ बजेट छुट्याएको र यसले बाँदर आतङ्क केही हदसम्म न्यूनीकरण भएको बताउनुभयो ।
बाँदरका कारण कास्कीका चारवटै गाउँपालिकाका बासिन्दा प्रभावित भएकाले पीडित किसानको मागअनुसार बजेट व्यवस्था गरेर बाँदर नियन्त्रणका लागि आफ्नो गाउँपालिकामा धेरै काम गरिएको ओझाको भनाइ छ । गाउँपालिकाभित्रका बाँदर समातेर राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्रमा लैजाने योजनाका लागि बजेट विनियोजन गरिएको हो । स्थानीयको मुख्य पेसा नै कृषि भएकाले यसको व्यवसायीकरण आवश्यक रहेको तर बाँदरबाट बर्सेनि कृषि उपज नष्ट गर्ने कारण समस्या भएको उहाँले बत(ाउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?