logo
२०८० चैत्र १५ बिहीवार



बढ्यो डण्डी र सिमेन्टको मूल्य

अर्थ |


बढ्यो डण्डी र सिमेन्टको मूल्य


सीता शर्मा

काठमाडौँ, माघ ९ गते । पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी सातदेखि आठ रुपियाँसम्म र सिमेन्टमा प्रतिबोरा २० देखि ५० रुपियाँसम्म मूल्य वृद्धि गरेको पाइएको छ । प्रायः सबै ब्रान्डका डण्डी र सिमेन्टले यो मूल्य बढाएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा फलामे कच्चा पदार्थ बिलेटको मूल्य बढेको भन्दै फलामे डन्डीको मूल्य पनि बढाइएको हो । यसले नेपालमा निर्माणका कामको लागत पनि बढाएको छ भने निर्माणको मुख्य सिजनमै धेरै आम उपभोक्ता मारमा परेका छन् । उपभोक्ता अधिकारकर्मीले भने बजार अनुगमन प्रभावकारी नहुँदा यसको असर डण्डी र सिमेन्टमा देखिएको बताएका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले सरकारका नियमन गर्ने जिम्मेवार निकायको बजारमा सक्रियता नभएकै कारण व्यापारीले हरेक सामानमा ‘कार्टेलिङ’ गरेर मनपरी भाउमा बिक्री गर्ने गरेको र यसको प्रत्यक्ष मारमा उपभोक्ता परेको आरोप लगाउनुभयो ।
डण्डी उत्पादनका लागि चाहिने कच्चा पदार्थ नै महँगो भएपछि प्रतिकेजमा एक÷दुई रुपियाँ बढ्नुलाई स्वाभाविक रूपमा लिनुपर्ने नेपाल डण्डी उत्पादन सङ्घले जनाएको छ ।
बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले डण्डीको बजार भाउका बारेमा अनुगमन गर्दा डण्डीको प्रतिकेजीमै सात रुपियाँसम्म महँगो भएको पुष्टि गरेको छ । प्रतिटन बिलेट एक सय डलरभन्दा महँगो भएपछि मूल्य बढाउनु परेको तर्क उद्योगीको छ । अहिले भारतमा सरकारले खानीमा गरेको कडाइका कारण बिलेट उत्पादन प्रभावित भएको भन्दै नेपालमा मूल्य बढाइएको हो । विभागका बजार अनुगमन निरीक्षक अधिकृत दीपक पोखरेलले समाचारमा आएजस्तो डण्डी केजीमै आठ÷दउ रुपियाँ नबढे पनि प्रतिकेजीमा तीन÷चार रुपियाँ महँगो भएको अनुगमनका क्रममा पाइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, हामीले काठमाडौँका अधिकांश डण्डीका डिलरको अनुगमन गर्दा सामान माग गरेर पनि डिलरलाई आपूर्ति नगरिएको, अब आउँदा प्रतिकेजीमा सात रुपियाँसम्म महँगो हुनेबारे यसअघि नै उद्योगीले जानकारी दिई सकेको तर सामान भने आएको छैन,
विभागले बुधबार चारवटा छुट्टाछुट्टै समूह बनाएर जगदम्बा, पञ्चकन्या, काठमाडौँ, हिमाल, लक्ष्मीलगायतका डिलरमा अनुगमन गर्दा यस्तो पाइएको जनाएको छ । पञ्चकन्या डण्डी उद्योगले माघ १ गतेदेखि लागू हुने गरी आफ्नो उत्पादनमा प्रतिकेजी एक रुपियाँ महँगो भएको उद्योगका बजार सेल्स म्यान रामराजा बस्नेतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, यसको अन्य कारण केही नभएर भारतबाट आउने कच्चा पदार्थ महँगो भएकाले प्रत्यक्ष असर मूल्यमा देखिएको हो र पञ्चकन्या प्रतिकेजी ८० मा किनबेच भइरहेको छ सात÷आठ रुपियाँ भन्ने पञ्चकन्याको हकमा गलत हो ।
नेपाल सिमेन्ट उत्पादक सङ्घका अनुसार उत्पादन र ढुवानी लागत बढेकाले मूल्य बढाइएको हो । सो सङ्घका अध्यक्ष ध्रुव थापाले समाचारमा आएजस्तो प्रतिबोरामा ५० रुपियाँ नभएर दस रुपियाँसम्म बढेको जानकारी दिनुभयो । क्लिङ्करको भाउ महँगिएको कारण नेपालमा सिमेन्ट उत्पादनको लागत बढेको र सिमेन्ट माग पनि बढेकाले थोरै भाउमा तलमाथि हुनु स्वाभाविक भएको स्वीकार गर्नुभयो । उहाँका अनुसार भारतमै अहिले डिजेल महँगिएका कारण ढुवानी भाडा पनि बढेको छ । नेपालमा बन्ने क्लिकङ्रका लागि भारतबाट आउने कोइला पनि महँगिएको छ । रक्सौलमा क्लिङ्कर अनलोड गरेर नेपाल भित्रनसमेत अवरोध छ । विभागले बुधबार डण्डीको अनुगमन गर्ने क्रममा मूल्य बढेको पाइएपछि यसको कारण बुझ्नका नेपाल नेपाल डण्डी उत्पादक सङ्घलगायत सिमेन्ट उत्पादक उद्योगीलाई बिहीबार विभागमा बोलाएको थियो । विभागले बढ्नुको स्पष्ट कारण पेस गर्न उद्योगीलाई निर्देशनसमेत दिएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?