स्याङ्जा समाचारदाता
स्याङ्जा, माघ १० गते । सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको यस जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ ।
सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत आर्थिक वर्षभन्दा ११ करोड १७ लाख १० हजार ९७६ रुपियाँको मात्र सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख शालिकराम अधिकारीले बताउनुभयो । यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ ।
यहाँ एक हजार ९९० हेक्टरमा सुन्तला बगँैचा छन् । यद्यपि सुन्तला उत्पादन भने एक हजार १९४ हेक्टर क्षेत्रफलमा १२ हजार ८० मेट सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ । गत आर्थिक वर्षभन्दा कम सुन्तला उत्पादन भए पनि गत वर्ष यो वर्षको भन्दा बढी मूल्य किसानले पाउन सफल भएका थिए ।
सुन्तला सुपरजोन
स्याङ्जामा सुपरजोनको कार्य क्षेत्रमा ३८ करोड २१ लाख ४१ हजार ४४० रुपियाँको सुन्तला फलेको हो भने अन्य कृषि ज्ञान केन्द्रले हेर्ने क्षेत्रमा फलेको हो ।
यहाँ सुपरजोनको क्षेत्रमा पुतलीबजारमा २० करोड ४३ लाख ४५ हजार छ सय, भीरकोटमा नौ करोड ५८ लाख २८ हजार ६४०, अर्जुन चौपारीमा चार करोड १२ लाख ९१ हजार ४०, वानपामा चार करोड २२ लाख ४६ हजार ७२० रुपियाँको सन्तला उत्पादन भएको हो ।
यहाँ सुपरजोनले एक हजार ३४६.२७ हेक्टर र ज्ञान केन्द्रले ६४३.७३ हेक्टरमा हेर्ने सुन्तला सुपरजोनका प्रमुख मदन कुँवरले बताउनुभयो । एघार हजार ४५६ घरधुरी कृषक सुन्तला उत्पादनमा सक्रिय रहेकामा यहाँ दुई हजार नौ सय सानाठूला सुन्तलाका बगँैचा र पाँच लाख ९७ हजार बिरुवा रोपण गरिएको छ ।
यहाँ उत्पादित सुन्तलामा २० प्रतिशत जिल्लाभित्रै खपत भएको हो भने अन्य सुन्तला पोखरा, बुटवल, नारायणगढ र काठमाडौँमा बिक्री भएको किसानले जनाएका छन् । यहाँका कृषकले सुन्तलाबाट एक वर्षमा पचास हजारदेखि २२ लाख रुपियाँसम्मको सुन्तला बिक्री गरेका छन् ।