logo
२०८१ मंसिर ११ मंगलवार



मुद्दती निक्षेपमा साढे १० करोड लगानी गर्दै राष्ट्र बैङ्क

अर्थ |


मुद्दती निक्षेपमा साढे १० करोड लगानी गर्दै राष्ट्र बैङ्क


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १६ गते । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा साढे १० करोड रुपियाँ लगानी गर्ने भएको छ ।
यसअघि पनि पटकपटक गरी १० अर्बभन्दा बढी रुपियाँ बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरिसकेको राष्ट्र बैङ्कले थप यो रकम लगानी गर्न लागेको हो ।
आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपियाँ वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेपमा एक वर्षे अवधिका लागि लगानी गर्ने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
केन्द्रीय बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कमा आठ करोड ३८ लाख रुपियाँ, ‘ख’ वर्गका विकास बैङ्कहरूमा एक करोड ५८ लाख रुपियाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा ५२ लाख रुपियाँ गरी कुल १० करोड ४८ लाख रुपियाँ लगानी गर्न लागेको हो ।
आगामी फागुन १ देखि २०७७ फागुन १ सम्मका लागि मुद्दती निक्षेप यो रकम राख्न लागेको राष्ट्र बैङ्कले जनाएको छ ।
निक्षेप लिन चाहने बैङ्क तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी माघ १७ सम्म राष्ट्र बैङ्कमा बोल कबोल पेस गनुपर्ने छ ।
बैङ्कले यही माघ १७ गतेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन बुधबार एक सूचनामार्फत आग्रह गरेको छ ।
यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैङ्क तथा वित्तीय संस्थाले मासिक
रूपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैङ्कले
जनाएको छ ।
राष्ट्र बैङ्कको निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैङ्कले तोकेको न्यूनतम पुँजीकोष कायम हुनुपर्ने जनाएको छ ।
मुद्दती निक्षेप लिनका लागि निष्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने प्रावधान राखिएको छ ।
यसैगरी शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेजस्ता सर्त तोकिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?