तारा चापागाईं दुवे
कास्की, माघ १८ गते । पोखरा महानगरपालिकामा बाली तथा पशुपक्षी बीमा गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।
महानगरपालिकामा हालसम्म १०० भन्दा बढी व्यक्तिगत वा सामूहिक रूपमा आउने व्यवसायीले १० करोड रुपियाँ बराबरको बाली तथा पशुपक्षी बीमा गर्नेलाई प्रिमियममा सहयोग गरेको पोखरा महानगरपालिकाका कृषि शाखा प्रमुख मनहरी कडहरियाले जानकारी दिनुभयो ।
कृषि तथा पशुपालन व्यवसायमा भएका जोखिम कम गरी कृषकहरूलाई कृषि व्यवसायतर्फ आकर्षण गर्न सरकारले दिएको ७५ प्रतिशत अनुदानमा पनि महानगरपालिकाले पुनः ५० प्रतिशत अनुदान दिने पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले जानकारी गराउनुभयो ।
नेपालमा औपचारिक तथा विधिवत् रूपमा बाली तथा पशुपक्षी बीमा २०६९ साल माघ १ गते देखि ५० प्रतिशत तिर्ने गरी बीमा नीति ल्याए पनि किसान आकर्षित नभएकोले पछिल्लो समय किसानले ७५ प्रतिशत र केन्द्र सरकारले तिर्ने गरी नीति ल्याएको र त्यसमा पनि पोखरा महानगरपालिकाले प्रिमियमको ५० प्रतिशत छुट अनुदान दिने प्रावधान ल्याएको नगरप्रमुख जिसीले जानकारी दिनुभयो ।
नेपाल सरकारको कृषि उपजको व्यावसायिक उत्पादनमा जोखिम बीमा गरिदिने र सो बीमाको नेपाल सरकारले तोकिदिएको अनुदानसमेत प्रदान गर्ने व्यवस्था रहेको छ ।
कडहरियाले महानगरले ५० प्रतिशत छुट दिने भएपछि बीमा गर्न आउने क्रम पनि जारी रहेको र हालसम्म सात लाख रकम बराबरको बीमा रकममा महानगरले छुट दिइसकेको उहाँको जानकारी दिनुभयो ।
गत वर्ष धेरै कृषकलाई बाली पशुमा लगभग ५० करोड बराबरको क्षति बेहोर्नु परेकोले अनिवार्य रूपमा बीमा गर्ने र शुल्कमा छुट दिने निर्णय गरिएको कडहरियाको भनाइ छ । बीमा गर्दा लाग्ने प्रिमियममा अनुदान दिने व्यवस्था मिलाएको उहाँको भनाइ छ । यसका लागि महानगरले ४२ लाख रकम छुट्याइएको बताउँदै उहाँले उत्पादनको आधारमा बीमा गर्ने प्रणाली रहेको र बीमा गरेको रकम फिर्ता नहुने जानकारी दिनुभयो ।
उहाँका अनुसार एक लाख मूल्य बराबरको भैँसीे वा गाईको मृत्यु भएका किसानले ९० हजार क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ ।
पोखरा सुन्दर बजार बस्ने केदार विक आफ्नो ‘घटाने कृषि फर्म’ का लागि १० लाख बराबरको बीमा गर्नुभएको छ ।
२०७४ सालबाट कृषि पेसा गर्दै आएका उहाँले बेलाबेलामा असिना पानी, हावाहुरी वा अन्य रोगका कारण क्षति बेहोर्नु परेकोले बीमा कार्यक्रमले विपत् परेमा बीमा रकममार्फत राहत पाउनेमा ढुक्क रहेको बताउनुभयो ।
उहाँले गरेको १० लाखको बीमाबाट ७५ प्रतिशतको दरले १३ हजार ६९७ बुझाउनुपर्नेमा ७५ प्रतिशत छुट हुँदा छ हजार ८०० मा पनि महानगरले ५० प्रतिशत छुट दिएकोले पाँच हजार ७१० रुपियाँ मात्र बीमा शुल्क लागेको विकले जानकारी दिनुभयो ।
बीमा कसरी लागू हुन्छ ?
कृषकले खेती गरेका सम्पूर्ण बालीहरू (खाद्यान्न, बाली, फलपूmल बाली, तरकारी बाली, पशुपक्षी, मौरी र माछाहरूको) बीमा हुन्छ । कृषि महाशाखा प्रमुख कडहरियाका अनुसार व्यक्तिगत फर्म भए फर्मको फोटो सामूहिक भए समूहको फोटो पेस गर्नुपर्नेछ । फलफूल, तरकारी वा पशुमा बीमा यो लागू हुनेछ ।
बीमाङ्क रकम के को आधारमा ?
बालीहरूको बीमा गराउँदा उत्पादन लागतको आधारमा हुने बीमाको हकमा बीमाङ्क रकम कृषि विकास मन्त्रालयले उपलब्ध गराएको उत्पादन लागतका अधीनमा रही सम्बन्धित जिल्लाको जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको उत्पादन लागतको आधारमा हुनेछ भने पशुपक्षीको मूल्यको आधारमा हुनेछ ।
बीमा गरिएको कृषिजन्य वस्तु÷पशुपक्षी आदि पूर्ण क्षति भएमा बीमाङ्क रकमको ९० प्रतिशत र आंशिक क्षति भएमा क्षतिको प्राविधिकको मूल्याङ्कन तथा बीमा लेखमा उल्लेख भए अनुसारको रकम प्राप्त हुन्छ ।