logo
२०८१ मंसिर ११ मंगलवार



गहुँ फल्ने खेतमा मकै

अर्थ |


गहुँ फल्ने खेतमा मकै


इनरुवा समाचारदाता

इनरुवा, माघ १९ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ का किसान सदरुन आलमले गहुँ खेती गर्दा खासै फाइदा लिन सक्नुभएको थिएन । जब उहाँले गहुँ लगाउने खेतमा मकै लगाउन थाल्नुभयो अनि उहाँको आर्थिक अवस्थामा सुधार आउन थाल्यो ।
उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, सुरुका दिनमा गहुँबाहेक अरू बाली लगाउने आँट आएन । गाउँघरमा केहीले गहुँ छाडेर मकै लगाएको देखेर मैले पनि सुरु गरे । अहिले मन प्रशन्न बनाएको छ मकै बालीले ।
उहाँका अनुसार आफ्नो सानो खेतबारीमा डराइडराई मकै लगाएको सालमै राम्रो आम्दानी लिन सकियो अनि त उहाँले सबै बारीमा मकै मात्र लगाउन थाल्नुभयो । उहाँ मात्र होइन, अचेल भोक्राहा नरसिंह गाउँपालिकाका किसान सिँचाइको अभावका बीचमा समेत मकै खेती गरिरहेका छन् । सिँचाइ अभाव र धान खेतीको उत्पादनमा कमी भएकाले किसान गहुँ खेती नगरीकन मकै खेती गर्नतर्फ आकर्षित भएका हुन् ।
सदरुल भन्नुहुन्छ, गहुँमा एक कट्ठाका लागि एक हजार रुपियाँ लगानी गर्दा एक हजार दुई सय रुपियाँको समेत गहुँ उत्पादन लिन सकिएन । अहिले मकैमा प्रतिकट्ठा दुई हजार रुपियाँको मल, सिँचाइ र बीउमा लगानी गर्दा १० हजार रुपियाँसम्म आम्दानी हुन्छ । उहाँले मकै खेतीबाट प्रतिबिघा एक लाख २० हजार रुपियाँ एक मौसममा आम्दानी गरिरहेको बताउनुभयो ।
आमलजस्तै अर्का किसान नरसिंहका अमना खातुनले समेत दुई वर्षदेखि गहुँ खेती छाडेर मकै बाली लगाउन थाल्नुभएको छ । उहाँले पनि गहुँभन्दा मकैमा राम्रो आम्दानी हुने भएकाले मकै थाल्नुभएको हो ।
त्यसैगरी सुनसरी सदरमुकाम इनरुवा आसपास क्षेत्रका किसान गहुँको खेतीबाट आम्दानी र उत्पादनमा कमी आउन थालेपछि मकै खेती गर्नतर्फ आकर्षित भएका हुन् ।
उन्नत जातको मकैको बीउबिजनको अभाव र मलको समस्या रहेको भए पनि मकै खेतीबाट नै राम्रो आम्दानी हुने गरेको किसान बताउँछन् । प्रतिकट्ठा १० देखि १२ मनसम्म मकै उत्पादन हुने किसानले अनुमान गरेका छन् ।
पहिला सुनसरीमा २० हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हँुदै गरेको अवस्थामा जिल्लाभरि दुई हजार हेक्टर क्षेत्रफलमा मात्रै मकै खेती हुने गरेको थियो तर अहिले गहुँ बाली १० हजार हेक्टर क्षेत्रफलमा सीमित भएको छ भने मकै १२ हजार हेक्टर क्षेत्रफलमा विस्तार भएको कृषि ज्ञान केन्द्रको अनुमान छ ।
सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–९, बबियाका किसान जसलाल यादवले समेत यस वर्षदेखि आफ्नो तीन बिघा खेतमध्ये एक बिघामा मकै बाली लगाउनुभएको छ ।
यादवले गहुँमा लगानी र हैरानी भए पनि सन्तोषजनक आम्दानी नभएकाले मकै बाली लगाएको बताउनुहुन्छ । यादवले उन्नत जातको मकैको बीउको अभाव र मलको समस्या रहेको भए पनि मकै खेती नै गरेको बताउनुभयो । यादवले प्रतिकट्ठा १० देखि १२ मनसम्म मकै उत्पादन हुने अनुमान गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?