logo
२०८१ मंसिर ११ मंगलवार



सुन्तला खेतीले ल्यायो खुसी

अर्थ |


सुन्तला खेतीले ल्यायो खुसी


जाजरकोट समाचारदाता

खलङ्गा, माघ २१ गते । जाजरकोट जिल्लामा पछिल्लो समय सुन्तला खेतीमा किसानको आकर्षण बढ्दै गइरहेको छ । सुन्तला खेतीबाट आर्थिक अवस्थामा सुुधार भएपछि यहाँका किसान खुसी भएका छन् ।
अचेल जाजरकोटका गाउँगाउँमा लटरम्म सुन्तला फलेका छन् । यस व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू यस पेसाप्रति आकर्षित भएका छन् । मकै, गहँु, धान लगाउने खेत तथा पाखोबारीमा सुन्तला खेती गरिएको छ । कुशे गाउँपालिका–५, दम्दालाका शक्तिबहादुर वलीले ३० रोपनी जग्गामा सुन्तला खेती गर्नुभएको छ । उहाँले वर्षमा पाँच÷छ लाख आम्दानी गर्दै आउनुभएको छ । २०४६ सालमा सल्यानबाट २०० सुन्तलाका बोट लगाएर खेती गर्नुभएको उहाँले अहिले दुई हजार सुन्तलाका बोट लगाएर आम्दानी लिन थाल्नुभएको छ ।
सुरुमा सुन्तला लगाउँदा गाउँलेले काँडा रोपे भनेर वलीको कुरा काटे तर अहिले तिनैले सुन्तला खेती गरेको वलीले बताउनुभयो । त्यसैगरी सोही ठाउँका पदमकला मल्लले सुन्तला बिक्रीबाट वर्षमा एक लाख ५० हजार आम्दनी गर्दै आउनुभएको छ । पाँच रोपनी जमिनमा सुन्तला खेती गरेपछि अहिले उहाँको जीवनस्तरमा धेरै परिवर्तन आएको छ ।
वली र मल्लजस्तै दम्दाला गाउँमा १५० बढी किसानले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । कुशेको दम्दाला, ढिमे, अर्छानी, भेरीको तिमिले, पोखरा, डिङ्गा र नलगाडको टट्टा, करुवालगायत क्षेत्रका ४५० किसानले ५०० हेक्टर जमिनमा सुन्तला खेती गर्दै आएका छन् । किसानलाई आत्मनिर्भर व्यवसायी बनाउन, युवाको पलायन रोक्न, खाद्य तथा पोषणको सुरक्षा सुनिश्चितता गर्न र कृषि क्षेत्रको आधुनिकीकरण गर्न दुई वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएको छ ।
कार्यक्रमले सुन्तलाको व्यावसायिक तथा गुणस्तरीय उत्पादनमा जोड दिँदै किसानलाई आत्मनिर्भर बनाउन सहयोग गरिरहेको छ । कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण, साना सिँचाइ, पूर्वाधार निर्माण, प्राविधिक तथा प्रयोगशाला सेवा, कृषि बजार केन्द्र स्थापना, किसानलाई तालिमलगायतमा सहयोग गरिएको परियोजनाका प्रमुख टङ्क रिजालले बताउनुभयो ।किसानले बारीमै प्रतिकिलो ५० रुपियाँमा र बजारमा ७० रुपियाँमा सुन्तला बेच्दै आएका छन् । सुन्तला जोन क्षेत्रका किसानले ५० हजारदेखि सात लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन् । यसबाट किसानको जीवनस्तरमा समेत परिवर्तन आएको देखिन्छ । यहाँको सुन्तला गाउँघरका स्थानीय मेलापर्व, सदरमुकाम खलङ्गा, स्थानीय बजारमा खपत हुन्छ
भने जिल्लाबाहिर सुर्खेत, नेपालञ्जमा निर्यात हुँदै आएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?