तारा चापागाई दुवे
कास्की, माघ २२ गते । सामान्यतया सागपात, तरकारी पकाएर खाने गरिन्छ । कुनै कुनै फलफूल तथा साग तरकारीको अचार पनि बनाउने गरिन्छ तर थोरै मात्रामा । फलफूल तथा सागपातलाई अचार बनाएर स्वेदशमै विदेशको भन्दा बढी आम्दानी गर्नसकिन्छ भन्ने उदाहरण पोखराका एक दम्पती बन्नुभएको छ ।
आँप, करेला, अकबरे खुर्सानी, कोइरालो, तामा, सिप्लिकानका अचार मात्र बनाएर विगत २३ वर्षदेखि पोखरामा एक दम्पतीले नाम मात्र होइन, प्रशस्तै दाम पनि कमाउन थाल्नुभएको छ । गुड्डु अचारको नामले पोखरामा अचार व्यवसाय गर्दै आउनु भएकी रञ्जना गुप्ताले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, मैले अमिलो अचार बेचेर मीठो आम्दानी गरिरहेकी छु । मेरो घर, व्यवहार यसै पेसाबाट राम्रोरी चलेको छ ।
२०५३ सालदेखि अचार व्यवसाय सुरु गरेको जानकारी दिँदै उहाँले सुरुका दिनमा ठेलाबाट व्यवसाय अहिले पोखराको पृथ्वीचोकमा दुईवटा पसलमा विस्तार गर्नुभएको छ । आफू र श्रीमान्ले तरकारी र फलफूलका अचार बनाउने र बिक्री गर्नमै व्यस्तता हुने गरेको उहाँले बताउनुभयो ।
पसलमा हरेक दिन अचार खरिद गर्नेको घुइँचो नै लाग्ने गर्छ भने पोखराका धेरै स्थानमा उहाँको पसलबाट उत्पादित अचार पुग्ने गरेको छ । प्रायः जसो हरेक घरमा आफ्नो अचार पुग्ने गरेको दाबी गर्दै रञ्जनाले भन्नुभयो, सुरुवातीमा निकै गाह्रो थियो अब यही अचारको व्यवसायले पोखरामा नाम र दाम दुवै भएको छ ।
पोखराको सबैभन्दा व्यस्त हुने चोकमा पसल भएकोले पनि होला, जिल्ला बाहिरका मानिसको आँखासमेत पसलमै पर्छ । उहाँले भन्नुभयो, “अचार त धेरै कुराको बनाउने गरेका छौँ तर आँप, करेला, अकबरे खुर्सानी, कोइरालो, तामा, सिप्लिकानका अचारचाहिँ होटलहरूले बढी खोज्छन् र लैजान्छन् पनि” । केही वर्षदेखि पोखरामा हुने मेला महोत्सवहरूमा स्टल राख्न थालेपछि प्रचारप्रसारसँगै आम उपभोक्ता माझ लोकप्रिय हुन थालेसँगै स्वदेशमा मात्र हैन, आफ्नो अचार विदेशसम्म पुग्ने गरेको उहाँले दाबी गर्नुभयो ।
दैनिक कम्तीमा २० हजार रुपियाँको व्यापार हुने गरेको र महिना एकदेखि डेढ लाख रुपियाँसम्म चोखो कमाउने गरेको गुप्ताले जानकारी दिनुभयो । नवलपरासीको त्रिवेणीबाट आएर सुरुमा होटल गरे पनि होटलमा भन्दा अचार व्यवसायबाटै राम्रो आम्दानी देखेपछि अचार उत्पादनमा लागेको भन्दै उहाँका श्रीमान् गणेश गुप्ता भन्नुहुन्छ, ठेलाबाट सुरु गरेको अचार व्यवसायले तीनवटा छोराछोरी लेखपढ गराए, छोरीको बिहे गरे अनि अहिले पोखरामा दुईवटा घडेरी जोडेको छु । यो अचारको व्यवसायले मलाई लखपति बनाएको छ ।
पसलमा अचार खरिदका लागि आउनुभएकी पोखरा २ की सरस्वती अधिकारीले २० वर्षदेखि गुप्ताको पसलबाट अचार लाने गरेको बताउनुभयो । अधिकारी मात्र होइन, पोखरा नयाँ बजार बस्ने जमुना पौडेल पनि गुड्डु अचार उद्योगका अचारका परिकार खाने बानी बसेको बताउनुभयो ।