logo
२०८१ मंसिर ११ मंगलवार



उद्योगलाई जग्गा अभाव, भाडामा सटर

अर्थ |


उद्योगलाई जग्गा अभाव, भाडामा सटर


मकवानपुर समाचारदाता

हेटौँडा, माघ २४ गते । सरकारले लगानीको वातावरण बनाउँदै गरेको भन्दै गर्दा लगानीकर्ता उद्योग स्थापनाका लागि उपयुक्त जग्गाको खोजीमा छन् । उद्योग स्थापनाका लागि जग्गा विकाससँगै औद्योगिक पूर्वाधार निर्माणको जिम्मा पाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड भने भाडामा लगाउने प्रयोजनका लागि सटर निर्माणमा लागेको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्रस्थित जग्गामा २१ सटरसहितको व्यापारिक भवन निर्माण गरी भाडामा सटर लगाउने तयारी गरेको हो । हेटौँडा औद्योगिक क्षेत्रका क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले करिब दुई करोड रुपियाँको लागतमा व्यावसायिक प्रयोजनका लागि सटर निर्माण गरिएको बताउँदै निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
औद्योगिक क्षेत्रले व्यापारिक सटर निर्माण गरेको मात्र होइन बढी भाडा लिने मोह र पहुँचका आधारमा औद्योगिक क्षेत्रका जग्गा व्यापारिक प्रयोजनका लागि दिँदै आएको छ । उद्योग स्थापना गर्न लगानीकर्ताले हेटौँडा औद्योगिक क्षेत्रमा जग्गा अभाव भइरहेको गुनासो गरेको अवस्थामा व्यापारिक प्रयोजनका लागि बढी भाडा आउने भन्दै भाडा जग्गा दिइएको छ ।
क्षेत्र व्यवस्थापक कँडेलले उत्पादनमूलक प्रतिष्ठानहरूलाई भन्दा बढी भाडामा व्यापारिक प्रयोजनमा आउने व्यापारिक संस्था, बैङ्क, सरकारी कार्यालय, विद्यालयलाई जग्गा भाडामा दिएको बताउँदै अन्य औद्योगिक क्षेत्रमा समेत उद्योगसँग सम्बन्धित र कम उत्पादनमूलक व्यापारिक प्रतिष्ठान र संस्थालाई भाडमा जग्गा दिएको दाबी गर्नुभयो ।
दुगडको अटो क्लिनिक, पेट्रोल पम्प, बैङ्कलगायतका सरकारी र व्यापारिक गरी झन्डै एक दर्र्जन गैरउत्पादक कम्पनी र संस्था हेटौँडा औद्योगिक क्षेत्रमा भाडामा छन् । उद्योग सञ्चालन गर्न भाडामा लिएको दुगडले सवारी मर्मत र बिक्री केन्द्र सञ्चालन गर्दै आएको छ । उता उद्योग स्थापना गर्न आउने लगानीकर्तालाई अहिले विकास गरिएको जग्गा नभएको भन्दै क्षेत्र व्यवस्थापक कँडेले भन्नुभयो, विकास गर्नसके
केही जग्गा निस्कन्थ्यो ।
औद्योगिक क्षेत्रले उत्पादनमूलक उद्योगलाई प्रतिरोपनी वार्षिक आठ हजार ३३१ रुपियाँ, गैरउत्पादनमूलक व्यापारिक कम्पनी र संस्थालाई वार्षिक प्रतिरोपनी २१ हजार ८२१ रुपियाँदेखि वार्षिक प्रतिरोपनी ७९ हजार ३५० रुपियाँ लिँदै आएको छ ।
औद्योगिक क्षेत्रले हाल बनाएको व्यापारिक भवनसमेत स्थान र इन्जिनियरिङ दृष्टिले उपयुक्त नभएको औद्योगिक क्षेत्रस्थित एक उद्योगका व्यवस्थापकले बताउनुभयो । उहाँका अनुसार इन्जिनियरिङका दृष्टिले उपयुक्त नभएको जोखिमयुक्त र समस्या आउने देखिन्छ ।
क्षेत्र व्यवस्थापक कँडेलले केन्द्रीय कार्यालयले सटर भाडा तय गरी स्वीकृत भएर आएपछि भाडाका लागि सूचना सार्वजनिक गरिने जानकारी दिनुभयो । औद्योगिक क्षेत्रका संरचनाहरू पुराना भएकाले मर्मत गर्नुपर्ने र नयाँ भौतिक संरचना निर्माणसँगै औद्योगिक क्षेत्रको विस्तार गर्न उद्योगी र लगानीकर्ताले माग गरिरहेको अवस्था औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सटर भवन निर्माण गरेर भाडामा लगाउने तयारी गरेको हो ।
औद्योगिक क्षेत्र आफैँले उत्पादनमूलक उद्योग, कृषि तथा वन पैदावरमा आधारित खाद्य तथा प्रशोधन केन्द्र, खानी तथा खनिजजन्य उद्योग, निर्यातमूलक उद्योगलाई प्राथमिकतामा राखेको छ भने सेवामूलक उद्योगलाई कम प्राथमिकतामा राखेको छ । हेटौँडा औद्योगिक क्षेत्रमा हाल गैरउत्पादनमूलक कम्पनी, सरकारी कार्यालय, बैङ्क, पेट्रोलियम पदार्थ विक्रेता, विद्यालय, सवारी मर्मत गर्ने कम्पनीले ठूलो भाग ओगटेका छन् ।
तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको हेटौँडा औद्योगिक क्षेत्रमा उत्पादन र गैरउत्पादनमूलक १४९ उद्योग÷प्रतिष्ठान रहेकोमा चालू १०८, निर्माणाधीन २२, बन्द छ र अन्य सङ्घसंस्था १३ रहेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?