गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २५ गते । पाम तेल आयातमा प्रतिबन्ध लगाएको एक महिना पूरा हुँदा पनि नेपालले औपचारिक रूपमै आधिकारिक धारणा माग गरेकोमा भारतले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । गत पुस २३ गते भारतको वाणिज्य विभागले पाम तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयले नेपालबाट सबैभन्दा धेरै निर्यात भइरहेको प्रशोधित पाम तेलको व्यापार प्रभावित बनेको छ । प्रशोधित पाम तेल अहिले गोदाममै राख्नुपर्ने बाध्यतामा उद्योगी छन् ।
भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि नेपालले त्यसबारे सुरुमा अनौपचारिक रूपमै भारतको धारणा माग गरेको थियो । त्यसपछि पनि औपचारिक पत्र लेखेर आधिकारिक धारणा माग गरेकोमा अहिलेसम्म भारतबाट कुनै प्रतिक्रिया नआएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो । नेपालमै उत्पादन नभए पनि मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयात गरी प्रशोधन गरेर नेपालबाट भारत निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनासम्म नेपालबाट ११ अर्ब ५२ करोड रुपियाँको पाम तेल भारत निर्यात भएको थियो ।
पाम तेलमा प्रतिबन्ध लगाएपछि सरकार र उद्योगीबीच बारम्बार छलफल हुँदै आएको छ । यद्यपि भारतबाट कुनै औपचारिक धारणा प्राप्त नहुँदा यसको निर्यात ठप्प भएको हो । दक्षिण एसिया स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत नेपालबाट हुने निर्यातमा सहुलियतपूर्ण सुविधा रहेकोले अन्य देशबाट कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधन गरी भारत निर्यात हुँदै
आएको छ ।
यसो हुँदा पाम तेलको भन्सार शुल्क कम तिरे पुग्ने सुविधा नेपाली उद्योगीलाई थियो । अन्य देशबाट आयात गर्दा भन्सार शुल्क ४० प्रतिशत तोकिएकोले पनि नेपालमा अहिले पाम तेल प्रशोधन उद्योग फस्टाएका थिए । विराटनगर र वीरगञ्जमा गरी अहिले एक दर्जन पाम तेल प्रशोधन उद्योग सञ्चालनमा छन् ।
नेपालले सबैभन्दा धेरै इन्डोनेसियाबाट कच्चा पाम आयात गर्दै आएको छ । त्यसपछि मलेसिया दोस्रो स्थानमा छ । भारत र मलेसियाबीच पछिल्लो समय देखापरेको राजनीतिक समस्याका कारण भारतले यस्तो प्रतिबन्ध लगाएको दाबी भारतीय सञ्चारमाध्यमले नै गर्दै आएका छन् । भारत विश्वमै सबैभन्दा ठूलो पाम तेल आयातकर्ता देश हो ।