logo
२०८१ मंसिर ११ मंगलवार



बन्दरगाह निर्माणमा कामदार अभाव

अर्थ |


बन्दरगाह निर्माणमा कामदार अभाव


हेमनाथ खतिवडा

रसुवा, माघ २८ गते । कोरोना भाइरसका कारण रसुवागढी नाकामा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणमा कामदारको अभाव देखिएको छ । यही मङ्सिरदेखि निर्माण सुरु भए पनि कामदारको अभावमा निर्माण कार्य प्रभावित भएको हो ।
गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको एक सय नौ रोपनी गरी साढे आठ हेक्टर जग्गा अधिग्रहण गरी सकिएको छ । चिनियाँ लगानीमा चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौता भएको छ ।
त्यहाँ कार्यरत २४ चिनियाँ कामदार नयाँ वर्ष मनाउन चीन गएका थिए । अहिले नौ जना कामदार छन् । चीनमा फैलिएको कोरोना भाइरसका कारण उनी निर्माणस्थलमा आउन नपाएका हुन् । निर्माण कार्यमा नेपाली कामदार संलग्न भए पनि पर्याप्त छैनन् । बन्दरगाह निर्माणका लागि पर्याप्त कामदार नहुँदा कामले गति लिन नसकेको इन्टरमोडल यातायात विकास समितिका सभिल इन्जिनियर प्रमोद आचार्यले बताउनुभयो । काम पूरै रोकिएको भने होइन तर कामले गति लिन सकेको छैन । सुक्खा बन्दरगाह निर्माणको सात प्रतिशत काम मात्र भएको छ ।
चीन सरकारको सहयोगमा ३० महिनामा सम्पन्न गर्ने लक्ष्यसाथ निर्माणको जिम्मा पाएको तिब्बेत फुली कन्स्ट्रक्सनले सामग्री आयात गर्नुका साथै जग्गा समथर बनाउने काम भएको छ । निर्माण कार्य सुरु भइसकेको र मुआब्जा पाउन बाँकी रहेका प्रभाावितको अध्ययनको काम भइरहेको समितिले जनाएको छ ।
सुक्खा बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँचतले प्रशासनिक भवन, सात सय ५० वर्गमिटरको एउटा गोदाम, दुई हजार ८० वर्गमिटरका दुईवटा जाँचपास स्थल रहने छन् । निर्माण सुरु भएको ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको चिनियाँ पक्षले जनाएको छ । सो बन्दरगाहमा ३५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिने छ । साढे आठ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने समितिले जनाएको छ ।
२०७५ माघ १ गते चीनको छेन्दुमा सुक्खा बन्दरगाहको डिजाइन स्वीकृतिको सम्झौता गरेको थियो । नेपाली पक्षले स्थानीय समस्या समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने, सामग्री आयातमा भन्सार छुटको व्यवस्था गर्नेलगायत कार्य गर्नेछ । चिनियाँ युआन १२ करोड ४० लाखको लागतमा निर्माण हुनेछ । सीमा नाकाबाट करिब साढे दुई किलोमिटरमा यो बन्दरगाह पर्दछ । टिमुरे करिब पाँच हेक्टर क्षेत्रफलमा बन्दरगाह निर्माण गर्न लागिएको हो । त्यहाँ ३५० भन्दा बढी ठूला ट्रक तथा साना गाडी अट्ने पार्किङस्थल निर्माण हुनेछ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?